सम्पादकीयः काँग्रेसको सन्देश

२०७४ को निर्वाचनपछि काँग्रेस प्रमुख प्रतिपक्ष बनेको छ । अर्थात निर्वाचनको मत परिणामले काँग्रेसलाई सरकार संचालन गर्ने अधिकार दिएन । देशमा नेकपाको सरकार छ । प्रदेश र स्थानीय तहमा पनि काँग्रेसको उपस्थिति कमजोर नै छ । यही कारणले पनि सत्ताको बागडोर नेकपाले संचालन गरिरहेको छ । प्रतिपक्षमा भए पनि काँग्रेसको भूमिका प्रभावकारी नभएको गुनासो धेरै छ । सरकारले गरेका कतिपय काम, निर्णय र कोरोना महामारीमा सरकार चुक्दा पनि प्रतिपक्षी काँग्रेसले खवरदारी गर्न नसकेकै हो । काँग्रेसले सरकारलाई खबरदारी नगरेकै कारण काँग्रेसको भूमिकाप्रति नागरिकले आलोचना गरे । काँग्रेसको नेतृत्व विशेषगरी सरकारलाई सही बाटोमा हिँडाउन र रचनात्मक प्रतिपक्षको भूमिका खेल्न नसकेको देखियो । प्रतिपक्षको कमजोर भूमिकाकै कारण कोरोना महामारीमा सरकारले प्रवाकारी भूमिका खेल्न नसक्दा नागरिक आफै सडकमा आए । तर स्वतन्त्र नागरिकको प्रदर्शनले मात्र सरकारलाई दबाव पुगेन । यस्तै अवस्थामा काँग्रेसले मौन बसेर प्रतिपक्षको भूमिका खेल्न नसकेको भन्दै आलोचना भयो ।

तर आम नागरिकका समस्या र सवालमा चुप बसेको काँग्रेसले सोमवार भने सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको छ । यो प्रदर्शन गर्नुको मुख्य कारण पार्टीको नेता रामचन्द्र पौडेलमाथि केहीदिन पहिला तनहुँमा भएको घरपकड नै हो । सरकारले आफ्ना नेतामाथि अभद्र व्यवहार गरेको विरोधमा काँग्रेसले देशैभरी सडकमा आउन कार्यकर्तालाई आग्रह मात्र गरेन । नेताहरु नै जिल्लामा खटिएर सरकारको विरोध गरे । काँग्रेसले देशभर प्रदर्शन गर्नुको पछाडि जेसुकै कारण हुन सक्छन् । तर यसपाली काँग्रेसले सडकबाट केही सन्देशहरु भने दिएको छ । सत्तामा रहेको नेकपाभित्र चरम विवाद, सडकमा राजावादीको प्रदर्शन र सरकारको फितलो उपस्थितिकै बिचमा काँग्रेसले आफ्नो शक्ति प्रदर्शन गरेको छ । यो प्रदर्शनले सरकारलाई प्रभावकारी रुपमा काम गर्न र जनाताका सवालमा गम्भिर बन्न काँग्रेसले सडकबाटै सन्देश दिएको छ । यस्तै पछिल्लो समय राजवादीले गरिरहेको प्रदर्शन र गणतन्त्रको खारेजीको माग बढ्दै जाँदा काँग्रेसले राजतन्त्रको पुनसर््थापना सम्भव नभएको र गणतन्त्रको विकल्प पनि नरहेको सन्देश दिएको छ ।

आम नागरिकको चाहना भनेकै देशमा राजनीतिक स्थिरता हो । सुशासन हो । देशमा तीव्र विकास हो । तर पनि दलहरुले जनाताका मुद्दालाई सम्वोधन गर्न सकेका छैनन् । यही अवस्थाका कारण नागरिकमा असन्तुष्टि बढ्दै गएको छ । यही मौका छोपेर देशमा व्यवस्था नै परिवर्तन गर्ने खेल पनि सुरु भएको छ । शसस्त्र युद्ध र जनआन्दोलनको बलमा लामो समयपछि प्राप्त भएका उपब्धिहरु गुम्ने खतरा पनि देखिएको छ । यस्तो अवस्थामा काँग्रेसले सडकबाट दिएको सन्देशले गणतन्त्रको विकल्प खोज्न नसकिने पक्षमा शक्ति प्रदर्शन गरेको छ । त्यतिमात्र होइन, सत्तारुढ नेकपा नागरिकका सवालमा केन्द्रीत हुनुको साटो पार्टीभित्रको किचलोमा फसेको अवस्थामा काँग्रेसले जनजिविकाका मुद्दामा पनि केन्द्रीत हुन सरकारलाई खवरदारीसहित गतिलो सन्देश दिएको छ । सडक आन्दोलन र प्रदर्शन नागरिकको चाहना होइन । यसकारण मुख्यगरी सरकार र सत्ताको नेतृत्व गरिरहेको नेकपाले बेलैमा यसतर्फ ध्यान दिनु पर्दछ ।

तपाईको प्रतिक्रिया