काँग्रेसको देशव्यापी प्रदर्शन, कर्णाली प्रदेशमा एकलाख नागरिक सडकमा उत्रार्ने दाबी

सुर्खेत, २९ साउन ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज (मंगलबार) देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । सरकारविरुद्ध काँग्रेसले एकैसाथ विरोध प्रदर्शन गर्न लागेको हो । कार्यक्रमअनुसार कर्णाली प्रदेशमा करिव एकलाख नागरिक सडकमा उतार्ने काँग्रेसको दाबी छ ।

यही मंसिर १७ गते तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्र्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार र संवैधानिक अंगलाई कमजोर बनाउने काम भएको भन्दै कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो । विरोध कार्यक्रमलाई सम्वोधन गर्न काँग्रेसले देशका मुख्य सहर तथा जिल्लाहरुमा काँग्रेस पदाधिकारी तथा केन्द्रीय नेताहरुलाई खटाएको छ । प्रदेश र स्थानीय तहको चुनावपछि पहिलो पटक कांग्रेस सडकमा उत्रिन लागेको हो ।

जसका कारण काँग्रेसले ठूलो संख्यामा नागरिकहरु सडकमा उतार्ने योजना बनाएको छ । कोरोना महामारीकाबीच काँग्रेसले गर्ने विरोध प्रदर्शनमा कति सहभागी हुन्छन् भन्ने निक्र्याैल गर्न मुश्किल छ । यद्यपी काँग्रेसका जिल्ला सभापतिहरुले कर्णाली प्रदेशमा करिव एकलाख नागरिक विरोध प्रदर्शनमा सहभागी हुने आँकलन गरेका छन् । हिमाली जिल्लाहरुमा चिसो बढेका कारण काँग्रेसले भने कर्णालीमा एक लाखभन्दा बढी नागरिक सडकमा उतार्ने जनाएको छ । कार्यक्रमलाई सशक्त बनाउन दुई दिनअघि नै केन्द्रीय नेताहरु जिल्लामा खटिएका छन् ।

कर्णालीका १० वटै जिल्लामा विरोधको कार्यक्रमको तयारी पुरा भएको जिल्ला सभापतिहरुले जनाएका छन् । विरोध प्रदर्शनको कार्यक्रमलाई कांग्रेसले शक्ति परीक्षणका रुपमासमेत लिएको छ । कार्यक्रममा सहभागीको संख्याले सरकारविरुद्ध नागरिकको आक्रोश र काँग्रेसप्रतिको जनलहर मापन गर्ने काँग्रेसको योजना छ । नेकपाभित्रको अन्तरविरोधमा रुमलिएको सरकारलाई लाखौं नागरिक सडकमा उतारेर सरकारलाई सही बाटोमा ल्याउने, संवैधानिक निकायमामा काँग्रेसको शसक्त भूमिका खोज्ने र काँग्रेस जनताकै साथमा छ भनेर देखाउनु आन्दोलनको मुख्य उद्देश्य रहेको काँग्रेसको भनाइ छ ।

सहभागी कम भएको खण्डमा काँग्रेस सरकारविरुद्धका गतिविधिहरुको प्रचार–प्रसार हुन नसकेको भनेर बुझन्े छ भने आगामी दिनमा पनि काँग्रेस झन् शसक्त हुनुपर्ने निचोडमा पुग्नेछ । तर जनलहर बलियो देखिएको खण्डमा त्यही अनुसार आसन्न स्थानीय, प्रदेश र संघको निर्वाचनको लागि अघि बढ्ने काँग्रेसको रणनीति छ । उसो त १४ औंँ महाधिवेशन नजिकिदै गर्दा काँग्रेसमा अन्तरविरोध चर्किएको छ ।

यस्ता छन् सरकारविरोधी नारा

काँग्रेसले देशव्यापी रुपमा गर्ने विरोध कार्यक्रममा सरकारलाई झट्का दिनेगरी नारा तय गरिएको छ । संघीयतापछि पहिलो पटक सरकारविरुद्ध उत्रिएको काँग्रेसले आज सडकमा चोटिला नाराहरु तय गरेको छ । जनताको मन जित्ने प्रयास गरिएको छ । प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको आरोप खेप्दै आएको काँग्रेसले नेकपाको आन्तरिक किचालो कारण विकास निर्माणले गति लिन नसकेको, देशमा भ्रष्टाचार बढेको, संवैधानिक निकायहरु राजनीतिक हस्तक्षेप बढेको, कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको, महिलाहिंसा तथा बलात्कारका घटनालाई समेटेर नारा तय गरेको छ । पार्टी केन्द्रीय कमिटीले नै नाराहरु तयार गरेर जिल्लाहरुमा पठाएको छ । प्राप्त जानकारी अनुसार ‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा, नेकपा सत्ताको जितहारमा, औषधि छैन, मल छैन, सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ लगायत नारा केन्द्रबाटै तय गरिएका छन् । केन्द्रले तोकेका बाहेक अरू नारा प्रदर्शनमा लगाउन पाइने छैन ।

प्रदर्शनमा सहभागी हुन देउवाको अपील

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले आज गर्न लागेको प्रदर्शनमा सहभागी हुन अपील गरेका छन् । सभापति देउवाले ७७ वटै जिल्लामा हुने प्रदर्शनमा भौतिक दुरी कायम राख्दै शान्तिपूर्ण तरिकाले सहभागी हुन विज्ञप्तीमार्फत अपील गरेका हुन् ।

‘नेपाली कांग्रेसले ७७ वटै जिल्लामा एकसाथ गर्न लागेको प्रदर्शन विशेष रुपले महत्वपूर्ण छ । यसमा सक्रिय सहभागीताका लागि म नेपाली कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरु संगै सबै लोकतन्त्रवादीमा हार्दिक अपील गर्दछु’ सभापति देउवाले विज्ञप्तिमाम उल्लेख गरेका छन् ।

प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आएको तर वर्तमान सरकाले त्यसलाई नै कमजोरीको रुपमा बुझेको बताउँदै उनले भने, ’वर्तमान सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो। यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ । सरकारप्रतिको वितृष्णा मुलत अहिलेको अवस्थाप्रतिको वितृष्णा हो ।’ नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राखेका हुनाले नेपाली कांग्रेसले सडकदेखि संसदसम्म सरकारलाई दबाब दिनसांकेतिक प्रदर्शन गर्न लागेको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया