‘कर्णालीमा घर भएका कर्मचारी नै दुर्गममा खटौं’

सुविधा खोज्नु र सम्पन्नतामा रमाउनु मानविय चरित्र हो । यस्तै खुशी र सम्पन्नताका लागि मृत्युसँग पौंठेजोरी खेल्नु व्यक्तिको स्वभाव हो । आज यही खुशी र सम्पन्नताका लागि सायौँ नागरिक गाउँ छोडर शहरमा पसिरहेका छन् । किनकी शहरले मानिसका हरेक आवश्यकताहरु पुरा गर्न सक्ने हैसियत राख्छ । यही सुविधाका कारण गाउँघर धेरैका लागि प्यारो छैन । जाने बुझेका मात्रै होइन, बाध्यतासँग जुध्नेहरु पनि शहरमा रहरमा परिर्णत गर्छन् । व्यक्तित्व विकास र आवश्यकताको परिपूर्ति हुने भएकै कारण कर्मचारीका लागि शहरी क्षेत्र पहिलो रोजाइमा पर्छ । यही कारण त आज दुर्गममा दरबन्दी अनुसारका कर्मचारी छैनन् । तर सुख र सुविधाभन्दा जन्मभूमिप्रतिको सच्चा माया गर्ने कर्मचारी पनि थुप्रै छन् । त्यही मध्येका एक हुन्, मालपोत कार्यालय सुर्खेतका नावय सुब्बा विश्वरुप सावत । डोल्पाबाट निजामति क्षेत्रमा प्रवेश गरेका सावतलाई सधै दुर्गमा बसेर सेवा गर्न पाउँदा सबैभन्दा धेरै खुशी लाग्छ । प्रस्तुत छ, उनै सावतको निजामति क्षेत्रको अनुभव र जीवन भोगाईमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश ः

सानैमा आमा गुमाए

विश्वरुप सावतको जन्म बुवा हरिबहादुर र आमा स्व. हरिशोभाबाट विस २०४६ साल मंसिर १५ गते छायाँनाथ रारा नगरपालिका–१२ शोभा गाउँ मुगुमा भएको हो । घरको एक्लो छोरा भएका कारण विश्वरुपले सानो हुँदासम्म दुःख भोग्नै परेन् । मुख्य पेशा कृषि भए पनि मेलापात गर्ने परेन । तर जब उनी बुझ्ने भए, त्यसपछि ठूलो पीडाको सामना गर्नुप¥यो । उनी कक्षा ९ मा पढ्दै गर्दा आमालाई गुमाउनु प¥यो । आमाको मृत्युपछि संघर्षमय जीवन सुरु भयो । हरेक बाध्यता र विवशतासँग जुध्नु प¥यो । तर हिग्मत हारेनन् । र त संघर्षलाई सफलतामा परिणत गरे ।

दिदीहरुको प्यारो भाई

२०६१ सालको कुरा हो । विश्वरुप मुगु सदरमुकाम गमगडीमा बसेर अध्ययन गर्दै थिए । त्यही समयमा आमाको निधन भयो । पहिलेदेखि नै दमको विरामी आमालाई सानै उमेरमा गुमाउनु पर्दा विश्वरुपलाई धेरै पीडा भयो । तर उनको पीडामा दिदीहरुले मलम लगाउने काम गरे । आमाको अभाव हुन दिएनन् । दिदीहरुले आमाको भूमिका निभाए । दिदीले आफ्नै घरमा राखेर पढाइनन् । घर व्यवहारमा सघाइन् । दिदीहरुको यही सहयोग र अभिभावकत्वका कारण अहिले यो स्थानमा आइपुगेको विश्वरुपको तर्क छ । उसो त दुई दिदीका एक्ला भाई विश्वरुप सानैदेखि प्यारा थिए । उनी अहिले पनि दिदीहरुमा माझ निकै प्यारा छन् ।

अनि शहर झर्न सकेनन्…

विश्वरुप मध्यम स्तरका विद्यार्थी हुन् । दुर्गमा हुर्किएका पनि शहरमा बसेर उच्च शिक्षा हाँसिल गर्न चाहन्थे । अपसोच कक्षा ९ मा पढ्दै गर्दा आमा गुमाउनु प¥यो । त्यसपछि उच्च शिक्षाका लागि शहर पस्ने चाहना अधुरै रह्यो । २०६२ सालमा एसएलसी पास गरेका उनले आमा गुमाएकै कारण शहरमा बसेर उच्च शिक्षा पढ्न पाएनन् । ‘आमा भएको भए एसएलसीपछि सायद म नेपालगञ्ज वा सुर्खेत झर्थे होला’ उनी भन्छन्, ‘आमाको निधनपछि घर व्यवहार धान्नुपर्ने भयो, यही कारण शहरमा बसेर उच्च शिक्षा पढ्ने सपना पुरा भएन ।’ शहर आउने नपाए पनि अध्ययनलाई भने निरन्तरता दिए । तत्कालीन नेपाल राष्ट्रिय शोभाबाट कखरा सुरु गरेका उनले कक्षा ६ देखि ८ सम्मको पढाई प्रभाव माध्यमिक विद्यालय रोभा पुरा गरे । कक्षा ९ गते कक्षा १२ सम्म महाकाली विद्यालयबाट पुरा गरे । रारा क्याम्पस मुगुबाट स्नातक तह पुरा गरेका उनी हाल स्नातकोत्तरमा अध्ययनरत छन् । घर व्यवहार र जागिर खानु परेका कारण पढाइ निरन्तर रुपमा अगाडि सकेनन् ।

भिनाजुको प्रेरणाले निजामतिमा

२०५७÷५८ सालतिरको कुरा हो । तत्कालिन माओवादीले सुरु गरेको दशवर्षे सशस्त्र विद्रोह चरम उत्कर्षमा पुगेको थियो । दुर्गमका अधिकांश युवाहरु जनयुद्वमै होमिएका थिए । त्यो विद्रोहमा जोडिनु कसैलाई रहर थियो त कसैलाई बाध्यता । कक्षा ८ को बार्षिक परीक्षा सकिए लगत्तै विश्वरुप विद्रोहमा सहभागी भए । फागुन महिनादेखि असोजसम्म युद्वमै रमाए । असोजमा उनी दशैं मान्न घर फर्किएका थिए । त्यहीबेला भिनाजुले भविष्य बर्वाद् नबनाउन सम्झाए । अनि विद्रोह त्यागे । र तिहार लगत्तै अध्ययन गर्न सदरमुकाम अगमडीमा बसेर अध्ययलाई निरन्तरता दिए । दिदी भिनाजुकै घरमा बसेर अध्ययन गर्न थाले । त्यही समय भिनाजु (दिदीका देवर) ले भर्खर खरिदारको जागिर खाएका थिए । सरकारी जागिर खाएको खुशीयाली गाउँभरी नै छाएको थियो । त्यही दिनदेखि विश्वरुपले पनि सरकारी जागिर खाने सपना देखे ।

‘कक्षा ९ मा पढ्दादेखि नै सामान्य ज्ञान र खरिदारका पुस्तकहरु पढ्न थालेको हुँ’ उनी भन्छन्, ‘भिजानुकै प्रेरणाले निजामतिमा आएँ ।’ कक्षा ९ देखि उनले विद्यालयको पढाइभन्दा लोकसेवा आयोगमा ध्यान दिन थाले । तर समय परिस्थिति अनुकुल भएन । घर व्यवहार र क्याम्पसको पढाइ यही बाध्यताका कारण लोकसेवा आयोगको राम्रोसँग तयारी गर्न पाएनन् । तर लोकसेवाप्रतिको लगाव भने छोडेनन् । अनेक संघर्ष गर्दागर्दै निजामति कर्मचारी बन्ने सपना पुरा गरेरै छोडे ।

दुर्गम भए पनि गाउँ प्यारो

खरिदार पदबाट निजामित सेवामा प्रवेश गरेका उनको पहिलो कार्यथलो बन्यो डोल्पा । करिव दुईवर्ष जिल्ला हुलाक कार्यालयमा बसेर । त्यसपछि उनी डोल्पाबाट सरुवा भए । तर शहर रोजेनन् । किनकी उनलाई शहरभन्दा गाउँ नै माया प्यारो थियो । सरुवा भएर छिमेकी जिल्ला जुम्लामा पुगे । इलाका हुलाक कार्यालय चौथामा करिव नौ महिना विताए । त्यसपछि आफ्नै जिल्लामा सेवा गर्ने अवसर मिल्यो । तत्कालिन रोभा गाउँ विकास समितिमा दुईबर्ष गाविस सचिव भएर काम गरे । २०७२ सालमा नायव सुब्बा उत्तिर्ण भएपछि केही समय गृह मन्त्रालय काठमाडौमा विताए । प्रदेश सरकार बनेपछि केही महिना कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा रहेका उनी २०७५ जेठदेखि मालपोत कार्यालय सुर्खेतमा कार्यरत छन् ।

उनी अबको ७÷८ महिनापछि पुनः गाउँमै फर्कने योजनामा छन् । ‘सरकारले जहाँ खटायो, त्यही जान तयार छु, तर मलाइ त गाउँ नै प्यारो छ’ उनी भन्छन्, ‘समयले साथ दिएको खण्डमा आफ्नै जिल्लामा बसेर सेवा गर्ने रहर छ ।’ कर्णालीलाई समृद्ध बनाउन कर्णालीका कर्मचारीहरु आफ्नै गाउँ ठाउँको सेवामा खटिनुपर्ने उनको तर्क छ । ‘दुई चारदिन आउने पाहुँनाको भर पर्नु हुँदैन, कर्णालीका कर्मचारी कर्णालीको मुहार बदल्न लाग्नुपर्छ’ उनी भन्छन्, ‘हाम्रो गाउँघरको विकासको लागि हामीले योगदान नगरे कसले गर्छ ?’ कर्मचारीले कर्णालीलाई दुर्गम भनेर हेप्नुको सट्टा जन्मभूमिको सच्चा माया देखाएर कर्णालीमै सेवा गर्नुपर्ने उनको भनाइ छ । आफ्नो गाउँ आफै बनाउनुपर्छ भन्ने मान्यता राख्ने उनी अवकाशपछि पनि गाउँमै रमाउन चाहन्छन् । ‘शहरमा बस्ने रहर छैन’ उनी भन्छन्, ‘अवकाशपछि गाउँमा स्याउ खेति गरेर बस्छु ।’

गाउँमा गाडी पुगेपछि…

२०६७ सालमा मुगुमा भर्खर मोटर बाटो पुगेको थियो । तर लामो समयसम्म गाउँसम्म पुगेको थियो । जब उनी तत्कालिन रोभा गाउँ विकास समितिको गाविस सचिव भए । त्यसपछि गाउँमा मोटर बाटो पु¥याउने सपना देखे । ऊबेला मुगुमा कर्णाली रोजगार कार्यक्रम सञ्चालन भएको थियो । गाविसका अधिकांशलाई सडक खन्ने रोजगारी दिए । दुईवर्ष नपुग्दै करिव गाउँमा गाडी पुग्यो । गाउँमा गाडी पुगेको खुशीयालीमा अविर यात्रा गरे । आफ्नो गाउँ बनाउन आफ्नै क्षेत्रका कर्मचारी चाहिदो रहेछ भनेर उनको प्रशंसा भयो । उनका लागि त्यो क्षण नै जागिरको सबैभन्दा खुशीको क्षण थियो ।

तपाईको प्रतिक्रिया