ताजा खबर
  

कर्णालीका सबै पालिकाको औषधी व्यवस्थापन अनलाइन प्रणालीमा

सुर्खेत, २८ मंसिर ।

कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका स्वास्थ्य संस्थामा मौज्दात औषधिलगायत औषधिजन्य उपकरण अनलाइन प्रणालीमा समावेस हुने भएका छन् ।

अनलाइन प्रणाली सुरु गर्नको लागि सबै पूर्वाधार पूरा भएर हाल डाटा इन्ट्रीका लागि तालिम सुरु भएको इलेक्ट्रोनिक लजिष्टीक म्यानेजमेण्ट सिस्टम (इएलएमआईएस) का कर्णाली फोकल पर्सन सुशील नेपालले जानकारी दिए । उनका अनुसार सो प्रदेशका १० जिल्लाका ७९ वटै स्थानीय तहमा एकै पटक यो प्रणाली सुरु हुँदैछ । ‘मंसिर २६ बाट कर्णाली प्रदेशमा सो सिस्टमका लागि तालिम सुरु भएको छ,’ नेपालले भने, ‘पुस ४ सम्ममा १० वटै जिल्लामा सकिन्छ र एकैपटक सबै पालिकामा इएलएमआईएस लागु हुन्छ ।’

कर्णाली प्रदेशमा इएलएमआईएस कार्यक्रम संचालनको समन्वय गर्नका लागि कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले गत १४ मंसिरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएर अनुरोध गरेका थिए । कर्णालीले पत्र पठाएको एक हप्तामा नै समन्वय गरी कार्यक्रम सुरु भएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा रहेको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाका निर्देश बद्रीनाथ ज्ञवालीले जानकारी दिए ।

कर्णालीका ७९ बटा पालिका इएलएमआईएसमा जोडिएसँगै प्रायः देशैभरीका सबै स्थानीय तह यो सिस्टममा जोडिसक्ने उनले बताए । ‘कर्णालीका १० जिल्लाको काम सम्पन्न हुनसाथ प्रायः सबै पालिका यो सिस्टममा जोडिइसक्छन्,’ उनले भने, ‘प्राविधिक कारणले केही प्रदेशका केही पालिका छुटेका छन् । ती पनि पौष १५ सम्ममा पूरा गर्ने तयारीमा छौं ।’ असोज पहिलो साता सुदूरपश्चिमबाट सुरु भएको इएलएमआईएस प्रणाली पौष १५ भित्र देशका ७ सय ५३ वटै स्थानीय तहबाट संचालन हुने निर्देशक ज्ञवालीले जानकारी दिए ।


सबै पालिकामा यो प्रणाली लाइभ भएपछि सम्बन्धित पालिकाले पालिकाभरीको, जिल्लाले जिल्लाभरीका पालिकाहरुको, प्रदेशले प्रदेशभरीका पालिकाहरुको र केन्द्रले देशभरीका सबै स्वास्थ्य संस्थाहरुमा रहेको औषधि र औषधिजन्य सामाग्रीको कहाँ के अवस्थामा छ भनेर हेर्न सकिने उनको भनाइ छ । ‘यो सिस्टम विकासले केन्द्र, प्रदेश र स्थानीय तहमा औषधिको दोहोरो खरिद हुनसम्ने अवस्थालाई कम गर्छ,’ ज्ञवाली भने, ‘यसले राज्यको अनावश्यक फजुल खर्च पनि रोक्छ ।’ वि।संं। २०५२ सालबाट सुरु भएको इएलएमआईएसले गति नि नसक्दा २५ वर्षमा २२ जिल्लाका ५७ वटा स्थानीय तहमा मात्र लागु भएको थियो ।

एलएमआईएसको काम कुन शाखाले गर्ने भन्ने स्थायीत्व नहुँदा यो प्रणालीले गति लिन नसकेको हो । देश संघीयतामा गएपछि दुई वर्षअघि मन्त्रिपरिषद्ले एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखालाई स्वास्थ्य क्षेत्रका स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली, लजेस्टीक म्यानेजमेण्ट सिस्टम र हेल्थ इन्फाइस्ट्रक्चर सिस्टमलाई एकीकृत प्रणालीको रुपमा विकास, विस्तार र समन्वय गर्ने जिम्मा दिएको थियो । तर, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक परिर्वतन भएपिच्छे एलएमआईएस प्रणालीलाई आफू खुसी शाखालाई जिम्मेवारी दिदा काम हुन सकेको थिएन । यसअघिको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाबाट खोसेर यो प्रणालीको सरोकार नै नभएको बातावरण शाखालाई जिम्मेवारी दिएका थिए । सरोकार नै नभएको शाखालाई जिम्मेवारी दिएपछि कुनै काम अगाडि बढेको थिएन । काम अगाडि नबढेपछि दुई महिनाअघि स्वास्थ्य सचिवस्तरीय निर्णय गरी पुनः तीन वर्षअघिको मन्त्रिपरिषद्को निर्णयलाई कार्यन्वयन गर्न भन्दै एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखालाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

सचिवस्तरीय निर्णयलाई टेक्दै व्यवस्थापन महाशाखाका निर्देशक डा. रमेश खरेलले १४ भदौमा पुनः सूचना व्यवस्थापन शाखालाई काम अगाडि बढाउन जिम्मेवारी दिएका थिए । जिम्मेवारी पाएको एक महिनापछिबाट काम सुरु गरेको शाखाले तीन महिना भित्रमा अधिकांश स्थानीय तहबाट लजेस्ट्रीक सिस्टम लाइभ भइसकेको शाखाका वरिष्ठ तथ्यांक अधिकृत शिवलाल शर्माले जानकारी दिए ।

हेल्थ आवाजबाट साभार ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार