ताजा खबर
  

कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत लाइन, थालियो डिटेल सर्भेको काम, एक महिनाभित्र सक्ने लक्ष्य

सुर्खेत, २७ मंसिर ।

कर्णालीवासीको बहुप्रतिक्षित आयोजना कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रशारण लाइनको काम सुरु भएको छ । आयोजना सञ्चालनका लागि पहिलो चरणमा डिटेल सर्भेको काम सुरु भएको हो । अबको एक महिनाभित्रै डिटेल सर्भेको काम सक्नेगरी काम सुरु भएको आयोजना प्रमुख रवीकुमार चौधरीले जानकारी दिए ।

‘कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रशारणको पहिलो चरणको काम सुरु भएको छ’ चौधरीले भने, ‘अबको एक महिनाभित्रै डिटेल सर्भेको काम सकिन्छ ।’ डिटेल सर्भे सकिएपछि लगत्तै अन्य काम सुरु हुने आयोजनाले जनाएको छ । डिटेल सर्भेमा लाइन तान्ने क्षेत्रको भौगोलिक अवस्थाको अध्ययन हुनेछ । ठेकेदार कम्पनीले एक महिनाभित्रै काम सम्पन्न गर्नेगरी डिटेल सर्भेको काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गएको असार २२ गते आयोजनाले भारतीय निर्माण कम्पनी ‘आरएस इन्फाप्रोजेक्ट प्राइभेट लिमिटेड’ लाई यसको ठेक्का दिएको हो ।

झण्डै ७० करोड रकममा आयोजनाले निर्माण कम्पनीसँग सम्झौता गरेको हो । निर्माण कम्पनीले विद्युत लाइन प्रशारणको लागि डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरीद लगातका सम्पूर्ण काम दुई वर्षभित्र गरिसक्नु पर्नेछ । कर्णालीवासीको ड्रिमप्रोजेक्टका रुपमा रहेको यो आयोजना झण्डै ३२ वर्षपछि सुरु हुन लागेको हो । यो आयोजनाका लागि यहाँका बासिन्दाले वर्षौदेखि प्रतिक्षा गरिरहेका थिए । लामो प्रयासपछि यो आयोजनाले १३२ केभिए विद्युत प्रशारण लाइन विस्तारको काम अघि बढेको हो । आजभन्दा झण्डै ३२ वर्ष पहिले अर्थात २०४५ सालमै १३२ केभिए प्रशारण लाइन सुर्खेतसम्म ल्याउने कसरत थालिएको थियो ।

तर लामो समयसम्म विद्युत लाइन विस्तार हुन सकेको थिएन । यसले गर्दा यस क्षेत्रमा विद्युत सेवा भरपर्दो छैन । उपभोक्तालो सास्ती भोगिरहेका छन् । १३२ केभिए लाइन विस्तार भएमा यस क्षेत्रको विद्युत आपूर्ति सहज हुने अपेक्षा गरिएको छ । अहिलेको कम भोल्टेजको समस्या पनि समाधान हुनेछ । लाइन विस्तार नभएकै कारण सुर्खेत, सल्यान, रुकुमपश्चिम, जाजरकोट र दैलेखका नागरिकले लोभोल्टेजका कारण हैरानी भोग्दै आएका छन् । आयोजना सम्पन्न भएपछि कर्णाली प्रदेशलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । प्रारम्भिक अध्ययन अनुसार कोहलपुरदेखि सुर्खेतसम्म कुल एकसय ४५ वटा पोल रहने छन् ।

जसमा २६ वटा एंगल टावरहरुको प्रस्ताव गरिएको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार आयोजना क्षेत्रको उचाईगत फरक एकसय ६० मिटरदेखि एकहजार एकसय १५ मिटरसम्म रहेको छ । प्रसारण लाइन मार्गमा बाँके राष्ट्रिय निकुञ्ज तथा यसको बफरजोन, बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसको बफर जोन तथा सामुदायिक र सरकारी वन पर्नेछ । जसमा प्रसारण लाइनको ७०.५४५ भाग वनको क्षेत्र, १६.१३५ खेतीयोग्य जमिन, २.२६५ बाँझो जमिन तथा ११.०६५ अन्य भागले ओगटेको छ । विद्युत प्रसारण लाइन विस्तार कार्यान्वयनका लागि विभिन्न जग्गा, जमिन, सामुदायिक वन, तथा सरकारी वन क्षेत्रका गरेर जग्गाको क्षेत्रफल कुल दुई सय २५ वर्गमिटर हुनेछ ।


आयोजना कार्यान्वयन गर्दा कूल ९८.०५७९ हेक्टर जग्गामा टावर निर्माण, सव–स्टेशन तथा क्षत्राधिकारको लागि आवश्यक पर्नेछ । जसमध्ये ३.७२४९ हेक्टर स्थायी रूपमा सव–स्टेशन निर्माणको लागि र ३.३०७५ हेक्टर टावरको जग निर्माणको लागि अधिग्रहण गरिनेछ भने बाँकी ९१.०२५५ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गरिनेछ । आयोजनाको कुल लम्बाई करिब ५१.४६२ किलोमिटर लम्बाई डबल सर्किटको रहने प्रस्ताव गरिएको छ । त्यस्तै आयोजना कार्यान्वयन गर्दा बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका, सुर्खेतको भेरीगंगा, लेकवेशी र वीरेन्द्रनगर नगरपालिकाहरू प्रभावित हुनेछन् ।

सर्भे सकिएपछि रुख गणना गरिने

कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रशारण लाइन विस्तारको डिटेल सर्भे सकिए लगत्तै रुख गणना गरिने भएको छ । अबको एक महिनाभित्रै डिटेल सर्भे सकेर रुख कटानको काम सुरु हुने आयोजनाले जनाएको छ । रुख कटानको अनुमतिका लागि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको समन्वयमा वन तथा वातावरण मन्त्रालयमा अनुमति मागिएकोे छ । कटान गरिने रुखको संख्या एकिन हुने वित्तिकै वन तथा वातावरण मन्त्रालयले रुख कटान अनुमतिका लागि मन्त्रीपरिषद बैठकमा सिफारिस लैजाने छ ।

मन्त्रीपरिषद् बैठकले रुख कटानको स्वीकृति दिएपछि रुख काट्ने काम सुरु गरिने आयोजनाले जनाएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै राष्ट्रिय निकुञ्जले रुख कटानको अनुमति दिनेछ । कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रशारण लाइन विस्तार गर्दा बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग समन्व गरेर रुख कटान गरिनेछ । प्रारम्भिक अध्ययन अनुसार लाइन विस्तार गर्दा झण्डै सात हजारभन्दा बढी रुखहरु कटान हुने अनुमान गरिएको छ ।

सुर्खेत–दैलेख १३२ केभीए लाइन विस्तार गर्न अध्ययन

यस्तै सुर्खेतदेखि दैलेखसम्म १३२ केभीए लाइन विस्तारका लागि प्रारम्भिक अध्ययन थालिएको छ । कोहलपुर–सुर्खेत १३२ केभीए लाइन विस्तारको प्रक्रिया टुङ्गीए लगत्तै दैलेखमा पनि लाइन विस्तार गर्नका लागि प्रारम्भिक अध्ययन थालिएको हो । आयोजना प्रमुख चौधरीका अनुसार सुर्खेत–दैलेख लाइन विस्तारका लागि प्रारम्भिक सर्भे सकिएको छ । प्रारम्भिक सर्भे सकिएका कारण हाल आयोजनाले प्रारम्भिक वातावरणीय परीक्षण (आईई) गरिरहेको छ । प्रारम्भिक वातावरणीय परीक्षणको कामको अनुगमनका लागि आयोजना प्रमुख हप्ता दिनदेखि दैलेखमा खटिएका छन् । प्रारम्भिक वातावरणीय परीक्षण सकिएपछि बाँकी ठेक्का पट्टाको काम अगाडि बढ्नेछ । कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत लाइन सुर्खेत आउन वित्तिकै दैलेखमा पनि पु¥याउने उद्देश्यले सुर्खेत–दैलेखमा पनि अध्ययन थालिएको आयोजनाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार