मन पराएको कुरा साथीहरुले भनिदिए

भनिन्छ, माया देखेर पाइँदैन । लेखेर पाइन्छ । मान्छेको जन्म, विवाह र मृत्यु भगवानले माथिबाटै तोकेर पठाएका हुन्छन् । जोसँग जीन्दगीको यात्रा गर्न लेखेको छ, उसैसँग भेट हुन्छ एकदिन । नलेखेको माया जति नजिक भए पनि आफ्नो हँुदैन । र लेखेको माया जति टाढा भए पनि आफ्नो हुन्छ । लगन आएपछि आफ्नो मान्छे, आफ्नो माया सबैले पाउँछन् । यस्तै घनश्याम खड्काले पनि संगिता भट्टराइलाई पहिलो नजरमा मन पराए । संगितालाई मन पराउन थालेपछि घनश्याम संगिताको पछि लाग्न थाले । धेरै नबोल्ने अनि लजालु स्वभावका घनश्यामलाई प्रेमले धेरै कुरा सिकायो । उनलाई प्रेमले बोल्न सिकायो । अन्ततः उनले आफ्नो मायालाई पाए ।

संगिताले घरमै माग्न बोलाइन्

वीरेन्द्रनगरमा बसेर पढाइ सँगसँगै घनश्यामले ट्युसन पढाउन थालेका थिए । साथीहरूसँग विस्तारै घुलमिल हुन थालेका उनी बाल्यकालमा धेरै नबोल्ने भए पनि साथीहरुको संगतले अलिअलि बोल्न थालेका थिए । साथीहरूसँग बोल्ने र घुम्न जाने पनि गरेका थिए । साथीहरूसँग घुम्न जानेक्रममा उनको नजर संगितामा प¥यो । घनश्याम साथीहरूसँग चिसापानी घुम्न जाँदा संगितालाई पहिलो पटक देखेका थिए । संगितालाई देखेको पहिलो नजरमा नै घनश्यामले मन पराइसकेका थिए । संगितालाई मन पराएको कुरा उनले आफ्नो साथीलाई भने ।

साथीमार्फत् नै घनश्यामले संगितालाई मन पराएको कुरा भन्न लगाएका थिए । कोहीकोही हुन्छन् जो जसका लागि बनेका हुन्छन्, उनीहरू एक भएर छोड्छन् । घनश्याम र संगिता पनि एकअर्काेका लागि बनेका थिए । त्यसैले संगिता भट्टराईकी छोरी क्षेत्रीसँग विवाह गर्नमा त्यतिबेला बाबुआमाले मान्दैनथे । घनश्यामलाई पनि एक्कासी विवाहको कुरा गर्न अप्ठ्यारो नै थियो । संगीतालाई मन पराएको कुरा त साथीमार्फत् भन्न लगाएका घनश्यामले विवाहको कुरा कसरी गर्थे र ? उनले भने, ‘मैले उनलाई मन पराएको कुरा पनि साथीमार्फत् नै भन्न लगाएको थिएँ ।’ संगिताले पनि घनश्यामले मन पराएको कुरा आफ्नो साथीमार्फत् थाहा पाएकी थिइन् ।

उनीहरूको चिनजान भएको एक वर्षपछि बल्ल विवाहको कुरा चलेको थियो । दुवैले एकले अर्काेको बानी व्यवहार सबै बुझेर मात्र विवाहको कुरा चलाएका थिए । बाहुनको छोरी क्षेत्रीको छोरासँग विवाह गरिदिन त्यतिबेला मात्र होइन, अहिले पनि जातको कुरा निस्कने गर्छ । तर, संगिताका बाबुआमाले उनीहरूको प्रेमलाई जातका कारण बाधा बनाएनन् । उनीहरूको २०६६ असार १२ गते मागी विवाह नै भयो । संगितालाई घरमा नै माग्न बोलाएपछि उनीहरूको मागी विवाह भयो ।

सखद् बाल्यकाल

पिता मोतीराम खड्का र माता देवीसरा खड्काको कोखबाट २०४४ सालमा सुर्खेतको हरिहरपुरमा जन्मिएका घनश्याम खड्काको बाल्यकाल सुखसँग नै बित्यो । उनले कक्षा १० सम्मको पढाइ विजयश्वरी माविमा नै पूरा गरेका थिए । एसएलसी परीक्षा दिनको लागि त्यतिबेला वीरेन्द्रनगर आउनुपथ्र्याे । उनले एसएलसी परीक्षा जनउच्च माविबाट दिए । उनले भने, ‘कक्षा १० सम्म हरिहरपुरमा नै पढेँ, एसएलसी परीक्षा दिनको लागि भने केन्द्र जनउच्च माविमा परेको हुँदा त्यहीबाट दिएको हो ।’ उनी बाल्यकालमा साह्रै लजालु स्वभावका थिए ।

विद्यालय पढ्न जाने तर, कसैसँग पनि नबोलेर घर आउने गर्थे । आफूले नजानेको कुरा सरसँग सोध्न पनि सक्थेनन् । तर, पनि सधैं आफ्नो कक्षामा प्रथम नै आउने गर्थे । यस्तै पिता निलकण्ठ भट्टराई र माता हरिमाया भट्टराईको कोखबाट २०४५ सालमा सुर्खेतमा जन्मिएकी संगिता बाल्यकालमा अति चञ्चले स्वभावकी थिइन् ।

आफु पढ्दै ट्यूशन पढाउँथे घनश्याम

घनश्याम पढाइमा बाल्यकालदेखि अब्बल थिए । कक्षा १ देखि नै उनी प्रथम हुँदै आए । एसएलसी पास भएपछि भने उनी उच्च शिक्षा पढ्नको लागि वीरेन्द्रनगर आए । उनले सुर्खेत शिक्षा क्याम्पसमा अङ्ग्रेजी विषय लिएर पढ्न सुरु गरे । सानैदेखि पढाइमा राम्रो भएकाले उनले कक्षा १२ मा पढ्दादेखि नै आफ्नै गाउँको विद्यालयमा पढाउन सुरु गरेका थिए । हुन त उनको बाल्यकालदेखिको रुचिको विषय भनेको प्राविधिक विषय थियो । त्यतिबेला प्राविधिक विषय लिएर पढ्नलाई शुल्क महङ्गो लाग्थ्यो ।

घनश्यामको घरको आर्थिक अवस्था कमजोर भएकाले उनले प्राविधिक विषय पढ्न पाएनन् । उनले अंङ्ग्रेजी विषय लिएर पढे । उनले भने, ‘मेरो रुचिको विषय प्राविधिक पढ्ने थियो, घरको आर्थिक अवस्थाले गर्दा मैले अङ्ग्रेजी विषय लिएर पढेँ ।’ रुचिको विषय प्राविधिक भए पनि उनले मन लगाएर नै अङ्ग्रेजी विषय लिएर पढे । उनले सानो उमेरमा नै आफ्नो खट्टामा उभिएका थिए । मेहेनती भएपछि हरेक काममा सफल हुने उनको भनाइ छ । उनी बाल्यकालदेखि नै परिश्रमी थिए । उनको त्यो मेहेनत र परिश्रमीले गर्दा नै उनी पढाइमा सफल बन्दै गए । विवाह गर्दा घनश्यामले आफ्नो पढाइ सँगसँगै राम्रो ट्युसन पढाउने शिक्षकको रुपमा पनि स्थापित भइसकेका थिए ।

संगितमा रुची

घनश्याम एउटा राम्रो शिक्षक मात्र होइनन्, एउटा राम्रो गीतकार पनि हुन् । उनी बाल्यकालदेखि नै गीतहरू लेख्ने, साहित्यमा रुचि राख्ने गर्थे । तर, उनको लजालु स्वभावले उनको त्यो प्रतिभालाई बाहिर आउन दिएको थिएन । उनले भने, ‘म लजालु स्वभावको भएकाले म भित्रको त्यो कला बाहिर आउन पाएको थिएन ।’ उनले अङ्ग्रेजी किताव पनि प्रकाशन गरिसकेका छन् । उनले विभिन्न किताब पनि लेखेका छन् । किताव मात्र होइन, अब छिट्टै उनको उपन्यास पनि बजारमा आउँदैछ ।

हालसम्म उनले चार वटा गीतको शब्द लेखिसकेका छन् तीन वटा गीतले चर्चा पाइसकेका छन् भने एउटा गीत बजारमा आउने तयारीमा छ । उनले लेखेका शब्दका ‘हातमा बाला सोल्टीना‘, ‘बझेरीको दियो‘’ र ‘ऐ ब्यूटीफूल‘’ बोलको गीत बजारमा चर्चा पाइसकेका छन् । उनले आफैले लेखेको शब्दको गीत ‘ऐ ब्यूटीफूल‘’ मा मोडलिङ समेत गरेका छन् । उनको अर्काे नयाँ गीत पनि बजारमा आउने तयारीमा छ । ‘लुकी लुकी’ बोलको गीत रेकर्डिङ सकिएको छ । त्यसको भिडियोको तयारी भइरहेको खड्काले बताए ।

उक्त गीतको शब्द उनी आफैले लेखेका हुन् भने मोडलिङ पनि आफै गर्ने तयारीमा छन् । उनी हालसम्म चार वटा गीतमा मोडलिङ गरीसकेका छन् । उनको आगामी योजना भनेको उनको मुख्य पेसा शिक्षक नै हो र अर्काे आफ्नो क्षेत्रको टिपिकल गीत र संस्कृतिलाई उजागर गर्ने र गीतकारलाई निरन्तरता दिने नै रहेको छ । उनले अल्फा मल्टीपल एकेडेमी सञ्चालन गरिरहेका छन् । यतिमात्र होइन, उनी लायन्स क्लव अफ रोयलको अध्यक्ष, लोक वार्ता विज्ञान अध्ययन प्रतिष्ठानको प्रतावक महासचिव, रोयल्टी सङ्कलन समाजको सदस्य, लोक दोहोरी गीत प्रतिष्ठानका मानार्थ सदस्य, समाजसेवी पनि हुन् । उनी हाल सुर्खेत होराइजन एकेडेमीमा प्रिन्सिपल हुन् ।

छोरी र बुहारी हुँदाकोे अनुभव

विवाहपछि संगितालाई छोरी र बुहारी हुनुको अन्तरको अनुभव पनि धेरै भयो । उनले भनिन्, ‘छोरी हुँदा जसरी घुम्न, आफ्नो खुशीले काम गर्न पाइथ्यो, त्यो सबै बुहारी भइसकेपछि सोच विचार गरेर मात्र काम गर्नुपर्छ ।’ उनलाई सुरु–सुरुमा त गाह्रो नै भयो । तर, पनि उनले आफूलाई परिवर्तन गर्दै घरव्यवहारलाई राम्रोसँग सम्हालिन् । उनी भन्छिन्, ‘छोरी हुनु र बुहारी हुनुमा धेरै फरक छ, छोरी हुँदा स्वतन्त्र भइन्छ तर, बुहारी हुँदा जिम्मेवारी थपिन्छ ।’ उनले पनि आफूमा आइपरेको जिम्मेवारी सहजै पूरा गर्दै अगाडि बढिन् ।

विवाह पछिका दिनमा घनश्याम शिक्षण पेसामा नै बढी व्यस्त हुन थाले । घरको व्यवहार संगिताले सम्हाल्थिन् । बाहिरको घनश्यामले सम्हाल्थे । कहिलेकाँही संगितालाई लाग्ने पनि गथ्र्यो, कि श्रीमान्ले घरमा पनि समय दिएको भए हुन्थ्यो । तर, घनश्याम विहान ४ बजेदेखि साँझसम्म नै पढाउनमा नै व्यस्त हुने गर्थे । जब उनीहरूको एक छोरी र एकछोरा भए । अनि संगिताको मन भुलाउने साथी पनि छोराछोरी नै भए । उनी छोराछोरीसँगै दिन बिताउने र घर व्यवहार सम्हाल्दै दिन कटाउँछिन् ।

झगडा हुँदैन

संगिता घनश्यामको व्यस्ततालाई राम्रोसँग बुझ्छिन् । उनीहरू एकअर्काेमा विश्वास गर्ने भएकाले नै होला, झगडा पनि हुँदैन । दुवैले एकअर्काेले काम गर्दा सल्लाह गरेर नै काम गर्ने गर्छन् । उनीहरू भन्छन्, ‘कहिलेकाँही सामान्य झगडा भए पनि झगडाले ठूलो रूप भने लिएको छैन ।’ घनश्याम आफ्नो काममा जति व्यस्त भए पनि संगितालाई सुखी पार्नको लागि बेला–बेलामा गिफ्ट पनि दिने गर्छन् ।

विश्वास चाहिन्छ

उनीहरूका अनुसार दाम्पत्य जीवन सुखमय बनाउनको लागि श्रीमान्–श्रीमतीको बीचमा विश्वासको डोरी कसिलो बनाउनुपर्छ । नजिक हुँदा दाम्पत्य जीवनले दिगोपना पाउने उनीहरूको भनाइ छ । एकले अर्काेमा विश्वास गर्न सक्नुपर्छ र विश्वास गर्ने वातावरण एकले अर्काेमा बनाउन पनि जरुरी रहेको उनीहरू बताउँछन् । उनीहरू भन्छन्, ‘जीवन भनेको सङ्घर्ष हो, सङ्घर्षविना जीवन सफल हुन सक्दैन ।’ जीवनमा उतारचढाव धेरै आउँछन् तीनलाई सहजै रूपमा सामना गर्न सक्नु नै जीवन हो ।

तपाईको प्रतिक्रिया