हुम्ला, २७ मंसिर ।
कर्णाली नदीतिरको मुख्य बाटोबाट वारपार गर्दा हुम्लावासीका लागि जोखिम पुर्ण यात्रा रोकिएको छैन। कर्णाली करिडोरको सडक निर्माण गर्ने क्रममा खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ को बोक्चे गौडामा सडक निर्माण कार्य भइ रहेकोले पुरानो बाटो भत्केको कारण पैदल यात्रुले जोखिम उठाएर हिड्न परेको हो।
भिर र भत्केको बाटोमा पैदल यात्रु सीता शाहीले शरिर काम्दै यात्रा गर्नु परेको बताइन्। पहिले पनि असजिलो र चट्टानी भिरका बाटोमा अहिले झन सडक निर्माण कार्य जारी रहेको कारण भत्केको छ । शाहीले त्यही भत्केको असजिलो बाटोमा हुम्लाको दक्षिणी क्षेत्र आउजाउ गर्ने यात्रुलाई सकस भएको बताइन्।
उक्त खण्डमा एक वर्षदेखि सडक निर्माण कार्यले पुर्णता नपाउदा पैदल यात्रुले सास्ती खेप्नु परेको छ। पशुबस्तु लिन नसकिए पनि मानिस भने छोटो बाटो भएको कारण जोखिम उठाएर आउजाउ गर्ने गर्छन्। अर्का पैदल यात्री बल बहादुर फडेराले माथि भिरको बाटो तल कर्णाली नदी आङै सिरिङ्ग गरि यात्रा गर्नु परि रहेको बताए।
कर्णाली पारीको रायातर्फबाट जादा बाटो लामो पर्ने र भत्केको भिरको बाटो छोटो पर्ने भएको कारण अधिकाँस पैदल यात्रुले सोही बाटो प्रयोग गर्दै आउनु भएको छ । बुढाबुढी र केटाकेटीले झन सास्ती खेप्नु परेको छ।
फडेराले उक्त बाटो पार गर्ने समय नकटुन्जेल शरिरमा मुटुको धड्कन बढ्ने बताएबाट पनि बाटोको अबस्थाका वारेमा बुझन कठिन छैन । केही गरि भिरबाट मानिस चिप्लीए सिधै तल नदीमा खस्ने अवस्था छ। यसरी मुख्य बाटो भएको कारण दैनिक डेढ दुई सय मानिसले आहोर दोहोर गर्दै आएका छन्।
विस्फोटको कार्य भएको कारण सडक निर्माणका ढिलाई भई रहेको हिल्सा सिमकोट सडक आयोजनाले जनाएको छ। सडक निर्माण कार्य सम्पन्न नहुदासम्म अन्य बिकल्पको रुपमा पारीपट्टी रायातर्फको बाटो प्रयोग गर्न आयोजनाले सुचना गरे पनि पैदल यात्रुले नमानेको आयोजनाले जनाएको छ। अब फेरी एक पटक कडै सुचना जारी गर्ने तयारीमा आयोजना रहेको छ।
देशसञ्चारबाट साभार ।
युग संवाददाता । । २७ मंसिर २०७७, शनिबार ११:५३