माथिल्लो डोल्पामा दुई वर्षपछि खाद्यान्न ढुवानी

रुकुम पश्चिम, २७ मंसिर ।

माथिल्लो डोल्पामा झण्डै दुई वर्षपछि चामल ढुवानी सुरु भएको छ । सुर्खेतबाट माथिल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका लागि ३ हजार ७४ क्विन्टल चामल ढुवानी थालिएको हो ।

सुर्खेतबाट सदरमुकाम दुनै हुँदै ती पालिकामा चामल ढुवानी भइरहेको छ । ३ हजार ७४ क्विन्टलमध्ये ४ सय ४० क्विन्टल चामल दुनै पुगेको छ । छार्काताङसोङ गाउँपालिकाको ढारगाउँमा १ सय क्विन्टल चामल पुगिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए । उनका अनुसार झण्डै एक हजार क्विन्टल चामल बाटोमा छ । ‘दुनैसम्म गाडीमा र दुनैबाट डिपोसम्म खच्चडमार्फत चामल ढुवानी गरिरहेका छौं,’ उनले भने, ‘आफ्नै जिल्ला भएर स्थलमार्ग हुँदै पहिलोपल्ट चामल ढुवानी भइरहेको हो ।’ यसअघि चीन हुँदै माथिल्लो डोल्पामा चामल ढुवानी हुन्थ्यो ।

सडक सञ्जाल नपुगेको भन्दै यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयले नै डोल्पामा चामल ढुवानी गर्थ्यो । यस वर्ष भने कोरोनाका कारण चीनले नाका बन्द गरेपछि सुर्खेतबाट चामल ढुवानी भएको हो । दिनेश निर्माण सामग्री सप्लायर्स बाँकेले चामल ढुवानीको जिम्मा लिएको छ । सप्लायर्सले सुर्खेतदेखि डोल्पोबुद्धको धो, छार्काताङसोङको ढारगाउँ र शेफोक्सुण्डोको साल्दाङसम्म चामल ढुवानी गर्नेछ । धोसम्म ८ हजार ४ सय ८०, ढारगाउँसम्म ९ हजार ४ सय ९० र साल्दाङसम्म १० हजार ९ सय ९५ रुपैयाँ प्रतिक्विन्टल चामल ढुवानी भइरहेको हो ।

माथिल्लो डोल्पाका स्थानीयले अनुदानको मोटो चामल ४ हजार ९ र जिरा मसिनो चामल ६ हजार ६ सय रुपैयाँमा किन्न पाउने कम्पनीले जनाएको छ । यसअघि स्थानीयबासी बजारबाट महँगो मूल्यमा चामल खरिद गरी उपभोग गर्न बाध्य थिए । डोल्पाका ग्रामीण बजारमा प्रतिक्विन्टल १२ देखि २० हजार रुपैयाँमा चामल बिक्री भइरहेको छ ।

जिल्ला खाद्य व्यवस्था समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले पटक पटकको ताकेतापछि उपल्लो डोल्पामा चामल पुग्न थालेको बताए । ‘ढुवानी अनुदानको चामल नपुग्दा स्थानीयबासी महँगो मूल्यमा बजारको चामल खरिद गर्न बाध्य थिए,’ उनले भने, ‘यसपालि तीनवटै गाउँपालिकामा पर्याप्त हुने गरी चामल ढुवानीको व्यवस्था मिलाइएको छ ।’

कान्तिपुरबाट साभार ।

तपाईको प्रतिक्रिया