दैलेखमा निःशुल्क कोरोना परीक्षण हुँदै

दैलेख, २७ मंसिर ।

दैलेखका संघीय सांसद रवीन्द्रराज शर्माले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत १५ लाख रुपैयाँ प्रदान गरेपछि दैलेखमा कोरोना परीक्षण निःशुल्क हुने भएको छ ।

कुनै बेला कोरोना रेडजोन मानिएको दैलेखमा आफ्नै खर्चमा कोरोना परीक्षण भइरहेकामा सांसद शर्माले पिसीआर ल्याबको सुविधा उपलब्ध गराएसँगै निः शुल्क परीक्षण सुरु भएको हो ।

यसअघि कर्मचारी व्यवस्थापन, किट खरिदलगायत समस्या भएको भन्दै स्वास्थ्य सेवा कार्यालय दैलेखले २ हजार रुपैयाँ तोकेको थियो । रकम लिएर पिसीआर जाँच सुरु भएपछि कोरोना परीक्षण गराउनेहरूको संख्या शून्यमा झरेको थियो ।

कर्णाली प्रदेशको पहिलो कोरोना संक्रमित दैलेखमा भेटिएपछि सुर्खेत लैजाँदा उपचार नगरेर यतै फर्काइदिएको अवस्थाबाट पार पाउन आफूसहितका अन्य जनप्रतिनिधिको संलग्नतामा गत १० असारमा १ करोड ६ लाखमा पिसीआर मेसिन खरिद गरिएको शर्माले स्मरण गरे ।

‘सबै नागरिकको स्वास्थ्य सेवाका लागि सरकारको मात्र भर पर्नुहुन्न । राज्यका सबै अंगको सहयोग भए मात्र सबैले स्वास्थ्य सेवा पाउन सक्छन् । सोहीअनुरूप दैलेखबासीका लागि १५ लाख रुपैयाँ सहयोग गरेर निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाएको हुँ’, सांसद शर्माले भने ।

चिसो बढेसँगै कोरोना संक्रमणको जोखिम झनै उच्च हुने हुँदा नागरिकले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालन गर्नुपर्ने उनको भनाइ छ । न्यून आय भएका नागरिकले २ हजार रुपैयाँ तिरेर पिसीआर परीक्षण गर्न नसकेको अवस्थामा सबैलाई निःशुल्क भएपछि दैलेखबासी खुसी छन् ।

तपाईको प्रतिक्रिया