सात वर्षसम्म आफ्नै दाजुबाट बलात्कृत भएको भन्दै एक युवतीद्वारा अदालतमा मुद्दा दायर

काठमाडौं, २५ मंसिर ।

लामो समयसम्म आफ्नै दाजुबाट बलात्कृत भएको भन्दै एक युवतीले अदालतमा मुद्दा दायर गरेकी छन्। पाल्पाको साविक दोमान गाविस ५ की ३२ वर्षीया युवतीले आफ्नै दाजुविरूद्ध अदालतमा मुद्दा दर्ता गराएकी हुन्। बलात्कार मुद्दा अनुसन्धानको हद म्याद नाघिसकेकाले ती युवतीले हाडनाता करणी शीर्षकमा अदालतमा मुद्दा दिएकी हुन्।

ती युवतीको हाल बुटवल नगरपालिका जैकुरी टोलमा बस्दै आएकी छन्। उनले पाल्पा जिल्ला अदालतमा बुधबार आफ्नै दाजुले बलात्कार गरेको भन्दै हाडनाता करणीउपर कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेको श्रेष्तेदार दुर्गाप्रसाद बस्यालले जानकारी दिए। बस्यालका अनुसार युवतीको मुद्दाउपर अदालती कारबाही सुरू भइसकेको छ।

बलात्कार मुद्दाको हदम्याद एक वर्षको हुन्छ। त्यसपछि आउने मुद्दाको अनुसन्धान जटिल हुने हुँदा पीडितले न्याय पाउने सम्भावना एकदमै कम हुने बस्यालले जानकारी दिए। तर, मुलुकी अपराध संहितामा हाडनाता करणीमा भने जहिले पनि पीडितले अदालतमा गएर मुद्दा दिन पाउँछन्। सो मुद्दाउपर अदालतले पीडकको घरमा म्याद तामेल गरी अदालतमा उपस्थित गराउन सक्छ।

‘यो प्रकरणमा पीडितले अदालतमा मुद्दा दर्ता गरिसक्नुभएको छ, अब अदालतले पीडकलाई उपस्थित गराएर अनुसन्धान थाल्छ,’ बस्यालले भने। पिडक उपस्थित नभए पक्राउ गरी अदालती कारबाही सुरू हुने वैतनिक वकिल शालिकराम घिमिरेले बताए। ‘पीडकलाई उपस्थित गराएपछि सिधै थुनछेक बहस हुन्छ,’ उनले भने, ‘लामो समयपछि आएको मुद्दा भएका कारण प्रमाणहरूले के भन्छन्, त्यो अदालतले अनुसन्धान गर्छ।’

मुद्दामा उनले पाल्पामा रहँदा आफू सातदेखि १४ वर्षसम्म दाजुबाट बलात्कारको सिकार भएको आरोप लगाएकी छिन्। केही समयअघि सेतोपाटीको सम्पर्कमा आएकी ती युवतीले आफूमाथि लामो समय अन्याय भएकाले न्याय खोजिरहेको बताएकी थिइन्। यसरी सात वर्षसम्म दाजुबाट बलात्कृत हुँदा आफू मानसिक रूपमै अस्वस्थ भएको उनले बताइन्। उनले आरोप लगाएका व्यक्ति पेशाले स्वास्थ्यकर्मी हुन्।

आफू मानसिक रुपमा विक्षिप्त भएपछि ‘बिहे गर्दा ठिक हुने’ भन्दै दाजुले जबरजस्ती बिहे पनि गराइदिएको उनले बताइन्। बिहे भएको एक महिनापछि ती युवती भागेर काठमाडौं आइन्।

‘काठमाडौं आएर कहिले म मन्दिरमा कहिले सडकमै बास बसेँ,’ उनले भनिन्, ‘यसरी समय बित्दै जाँदा नयाँ बानेश्वरको एउटा पसलमा काम पाएँ।’ त्यसपछि काठमाडौं मोडल अस्पतालमा उपचारपछि आफू सोह्रखुट्टेस्थित मनकामना ओपन स्कुलबाट एसएलसी गरेर प्लस टुसम्म पढेको उनले बताइन्।

त्यसपछि आफू वैदेशिक रोजगारीका लागि कुबेत गएको उनले बताइन्। ‘कुबेतमा तीन वर्ष र दुबईमा एक वर्ष बसेपछि म केही साताअघि मात्र नेपाल आएर न्यायको ढोका ढकढक्याउन थालेकी हुँ,’ उनले भनिन्। पछिल्लो दुई महिनाबीचमा उनका बुवा(आमा दुवैको मृत्यु भयो। पीडक दाजुसँगै बस्ने बुवा आमालाई दुस्ख हुन्छ भनेर आफू लामो समय कानुनी लडाइँका लागि मानसिक रुपमा तयार नभएको बताइन्।

‘बुवा आमालाई दुस्ख होला भनेर मैले घटना सार्वजनिक गर्न सकिनँ, जसका लागि भनेर मैले घटना लुकाएँ अब उहाँहरू नै नरहेपछि कानुनी रुपमा लड्ने निधो गरेर नेपाल फर्किएँ,’ उनले भनिन्।

नेपाल फर्किएपछि युवती महिला आयोगलगायतमा परामर्शका लागि गइन्। तर, मुद्दाको हदम्याद नाघेकाले उनलाई प्रहरीमा जाहेरी दिन समस्या भयो, त्यसैले उनी हाडनाता करणीमा न्याय माग्दै अदालत पुगिन्। घटना भएको लामो समय बितिसकेकाले प्रमाण लोप हुने हुँदा पीडित उनले न्याय पाउलिन् नपाउलिन् भन्ने जटिलता भने छ।

सेतोपाटीबाट साभार ।

तपाईको प्रतिक्रिया