बुवाको प्रेरणाले नै व्यवसायमा रमाएँ

उकाली र ओरालीको संगम हो जिन्दगी । जिन्दगीमा उकालो चढ्न जति कठिन हुन्छ, गन्तव्यमा पुग्दा त्यही नै आन्ददायी हुन्छ । जति उकाली चढ्न गाह्रो छ, त्यस्तै छ जीन्दगीको यात्रा पनि । उकालीको बाटो हिँड्न जति संघर्ष गर्नुपर्छ, त्यति नै संर्घषपूर्ण छ जीन्दगी चलाउनु पनि । इच्छा शक्ति, मेहनत र संघर्ष गर्न सके जीन्दगी एउटा सुनौलो यात्रामा परिणत गर्न सकिन्छ । यस्तै भोगाइ छ, सुर्खेत उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुबहादुर शाहीको पनि । बाल्यकालदेखि बुवाको व्यवसायमा सहयोग गर्दै आएका शाहीले धेरै संघर्षकाबीच सफलता हात पारेका छन् । बुवाको व्यवसायलाई परिमार्जन गर्दै सुरु गरेको व्यवसाय आज करोडौंको भएको छ । आजको जम्काभेटमा उनै शाहीसँग हाम्रा सहकर्मी गीता थापाले कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

सामान्य बाल्यकाल

दैलेखको साविकको बाँसी गाविस हालको महावु गाउँपालिका वडा नम्बर ३ मा वि.सं.२०२६ साल जेठ २ गते जन्मिएका विष्णुबहादुर शाहीको बाल्यकाल सामान्य नै वित्यो । उनी पिता जग्गेबहादुर शाही र माता कर्णकला शाहीको कोखबाट जन्मिएका हुन् । उनको बाल्यकाल सामान्य नै वित्यो । उनी बाल्यकालमा अरुको अन्याय नसहने स्वभावका थिए । उनी अलि हकी स्वभावका पनि थिए । अरुको सल्लाह सुझाव पनि लिने तर निर्णय भने आफ्नै गर्ने स्वभावका थिए उनी ।

व्यापारमा सघाउँदै पढाइ

उनले महावु गाउँपालिकास्थित मालिका नेरा माविबाट अध्ययन सुरु गरेका हुन् । हिमालय मावि डाँडीमाडिबाट एसएलसी उर्तिण गरे । उनको बुवाले २००३ सालबाट कपडाको व्यापार सुरु गरेका थिए । उनी पनि बुवासँगै बुवाको व्यापारमा सघाउने गर्थे । उनले एसएलसी उर्तिण गरेपछि आफ्नो पढाइलाई पारिवारिक कारणले निरन्तरता दिन भने सकेनन् । उनको दाई नेपालगञ्जमा बसेर पढ्थे । घरको आर्थिक अवस्था सामान्य थियो । दुई भाईले नै पढ्न सम्भव थिएन । दाईले पढ्ने भएकाले शाहीले आफ्नो पढाइलाई विट मारेर व्यापारतिर नै होमिए ।

पचास हजारबाट व्यवसाय सुरु

शाहीले उनको बुवाले व्यापार गर्दा नै व्यापार कसरी गर्ने भन्ने सबै कुरा सिकेका थिए । उनको बुवाले दैलेखको डाँडीमाडीमा व्यापार गर्थे । २०४० सालमा उनको बुवाको निधन भएपछि बुवाको व्यापारलाई शाहीले नै सम्हाले । उनलाई राम्रोसँग थाहा थियो कुन, कस्तो सामानलाई कति फाइदामा बेच्ने भन्ने । त्यही कारण पनि उनले व्यापार नै सुरु गरे । शाहीले बुवाको व्यापारलाई त अंगाले । तर व्यवसाय भने फरक तरिकाले गरे । उनको बुवाले कपडाको पसल गरेका थिए भने उनले खाद्य तथा खुद्रा पसल सुरु गरे । उनले २०४२ सालदेखि सुर्खेतमा आफ्नो छुट्टै व्यवसाय सुरु गरे । घरपरिवारले त उनलाई कपडा पसल नै गर्ने सल्लाह दिएका थिए । तर उनी भने व्यवसायलाई परिवर्तन गरेर गर्ने योजना बनाइसकेका थिए । आफ्नो योजना अनुसार नै उनले ५० हजारको लगानीमा खाद्य तथा खुद्रा पसल सुरु गरे । उनी एक्लै थिए । पसलमा उनलाई सघाउने उनको आमा थिइन् । उनले विवाह गरेपछि उनलाई व्यापार गर्न झन् सहज भयो ।

उद्योग वाणिज्य संघमा नेतृत्व

सुर्खेतमा व्यापार सुरु गरेसकेपछि उनी सुर्खेत उद्योग वाणिज्य संघमा पनि आवद्ध भए । वाणिज्य संघको विकृति र विसंगतिलाई हटाउन र हुन नदिनका लागि उनी सुर्खेत उद्योग वाणिज्य संघमा आवद्ध भए । २०५५ सालदेखि उनी सुर्खेत उद्योग वाणिज्य संघमा आवद्ध भएका हुन् । उद्योग वाणिज्य संघमा उनी पहिला तृतीय उपाध्यक्षको रुपमा निर्वाचित भए । यपछि उनी वरिष्ठ उपाध्यक्ष भए । २०६५ सालमा उनी उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएर काम गरे । व्यवसाय क्षेत्रलाई समेटेर उनले सुर्खेत उद्योग वाणिज्य संघलाई एकिकृत गर्न सफल पनि भए । उनले किराना खाद्यबाट सुरु गरेको व्यवसाय अहिले होलसेल पसल (डिलर) को रुपमा परिनत गरेका छन् । सुरुमा ५० हजारबाट सुरु गरेको व्यापारबाट अहिले वार्षिक रुपमा ६० करोडसम्मको व्यापार हुने गर्छ ।

बाल्यकालको योजना सफल

शाहीको बाल्यकालदेखि नै पढाइलाई निरन्तरता दिएर जागिर खान्छु भन्ने योजना थिएन । पढाइ त गर्ने तर भविष्यमा बुवाकै व्यवसायलाई परिमार्जनसहित अगाडी बढाउने उनको बाल्यकालदेखि कै योजना थियो । बाल्यकालदेखि नै बनाएको योजनालाई पुरा गर्न उनले बुवाबाट व्यवसाय कसरी गर्ने भन्ने कुरा बाल्यकालदेखि नै सिके । सानै उमेरदेखि व्यवहारिक बनेका शाहीले बाल्यकालदेखि बनाएको योजनालाई सफल पनि बनाए । अहिले पनि उनी व्यवसायलाई उद्योगकै रुपमा विस्तार गर्ने योजनामा छन् । उनको व्यवसायमा लाग्ने पहिलो गुरु तथा प्ररेणाको स्रोत नै उनको बुवा हुन् ।

अबको योजना

शाहीको भावी योजना भनेको व्यवसायलाई उद्योगको रुपमा स्थापित गर्ने रहेको छ । उद्योग सञ्चालन गरेर बेरोजगार युवाहरुलाई रोजगारमुलक बनाउने उनको योजना छ । उनले अहिलेको व्यवसायलाई परिमार्जन गर्दै व्यवसायलाई उत्पादनतर्फ जोड्ने योजनामा छन् । उनको बाल्यकालदेखिको योजना पनि व्यवसायबाट उत्पादनमुलक क्षेत्रमा लाग्ने थियो । कर्णाली प्रदेशमा विकट छ र यो प्रदेशमा उद्योग कलकारखाना छैनन् । ठाउँ सानो भएकाले यहाँ उद्योग कलकारखाना सञ्चालनमा समस्या रहेको छ । उनले भेरी नजिकै क्रसर उद्योग पनि सुरु गरेका छन् । अहिले त्यसलाई प्रालिको रुपमा विस्तार गरेर ठुलो बनाउनका लागि जग्गा पनि खरिद गरेका छन् । सुर्खेतमा उद्योगको सम्भावना नदेखेपछि उनले नेपालगञ्जमा कुनै न कुनै उद्योग सञ्चालन गर्ने योजनाले चार विगाह जग्गा खरिद गरेका छन् । एकसय जनालाई रोजगारी दिने खालको उद्योग सञ्चालन गर्ने उनको योजना छ । व्यवसायलाई परिमार्जन गरेर उत्पादनमुलक व्यवसाय सुरु गर्ने र बेरोजगार युवालाई रोजगारीमा जोड्ने शाहीको भावी उद्देश्य रहेको छ ।

तपाईको प्रतिक्रिया