वर्षमा १५ सय नागरिकले फिर्ता पाउँछन् आँखाको ज्योति

सुर्खेत, २५ मंसिर ।

सुर्खेतको सिम्ता गाउँपालिका–३ नाफुकी मागी बुढालाई आँखाको ज्योति गुमेपछि निकै छटपटी भयो । दुबै आँखाको ज्योति गुमेपछि उनका लागि संसार नै अन्धकार बन्यो । के कस्तो छ ? आफ्ना पनि विरानो लाग्न थाले । आँखाको ज्योति गुम्दा उनका कयौँदिन कष्टपूर्ण बने । हिँडडुल गर्न आफन्तको सहारा चाहिन्थ्यो । तर गत वर्षको फागुन २० गते उनका लागि महत्वपूर्ण दिन बन्यो ।

सुर्खेत आँखा अस्पतालका चिकित्सकले उनको आँखाको अप्रेशन गरिदिए । त्यसपछि दुबै आँखामा ज्योति फिर्ता भयो । उनले पुनः उज्यालो संसार हेर्न पाइन् । सिम्ता गाउँपालिका ३ शाहगाउँकै डिल्ली खत्रीलाई पनि रात र दिन उस्तै लाग्थ्यो । अर्काको सहारा चाहिने उमेरमा आँखाले पनि साथ दिन छोड्यो । आँखाको ज्योति गुमेपछि अर्काको सहाराविना दुई पाइला हिँड्न सक्नथेनन् । आँखा नदेखेकै कारण उनका दिन कष्टकर बने । आँखाको ज्योति फेर्न पाइन्छ भन्ने राम्रैसँग थाहा थियो । तर समय जुरेको थिएन । सिम्ताबाट वीरेन्द्रनगर आउन खच लाग्थ्यो ।

उनले पनि गएको फागुनमै आँखाको ज्योति पाए । सुर्खेत आँखा अस्पतालका चिकित्सकले मोतियाविन्दुको अप्रेशन गरिदिए । पुनः आँखाको ज्योति फेरिएसँगै उनको दैनिकी बदलिएको छ । पहिले हिँडडुल गर्न अर्काको सहारा चाहिने उनी हिजोआज निर्धक्क गाउँसहर हिँडडुल गर्न सक्ने भएका छन् । आफन्त र साथीभाइलाई चिन्न सक्ने भएका छन् । आँखाको ज्योति फेरिएसँगै दुखको दिन हराएका छन् । यसरी अन्धकारबाट मुक्ति पाउने मागी र डिल्ली मात्रै होइनन्, गएको एक वर्षको अवधिमा कर्णालीका झण्डै १५ सय नागरिकले अन्धकारबाट मुक्ती पाएका छन् । नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाले संचालन गरेको आँखा अस्पतालले एक वर्षको अवधिमा एक हजार चारसय ९२ जनालाई उज्यालो संसार देखाएको हो ।

गाउँमा घुम्ती शिविर र अस्पतालबाट गरी एक हजार चारसय ९२ जनाको मोतिविन्दुको अप्रेशन गरिएको अस्पतालका व्यवस्थापक धनबहादुर थापाले जानकारी दिए । उनका अनुसार आँखा शिविरमा मात्रै दुईसय ४८ जनाको नयाँ ज्योति फर्काइएको छ । त्यस्तै अस्पतालमा एकहजार दुईसय ४४ जनाको मोतिविन्दुको अप्रेशन गरिएको छ । यसरी एक वर्षको अवधिमा सुर्खेत आँखा अस्पतालले कुल एकहजार चारसय ९२ जनालाई अन्धाकारबाट मुक्ती दिलाएको अस्पतालले जनाएको छ । सेवा लिनेहरुमा कर्णाली प्रदेशका विभिन्न जिल्लाका छन् । कर्णालीका अन्य जिल्लामा आँखा उपचार हुने अस्पताल छैन । सुर्खेत आँखा अस्पताल कर्णाली प्रदेशको एक मात्रै विशेषज्ञ सेवासहित अस्पताल हो । आँखा अस्पतालले ज्योति फर्काउन थालेपछि धेरैले संसार देख्न पाएका छन् ।

वार्षिक ५६ हजार नागरिकलाई सेवा

नेपाल रेडक्रस सोसाइटी सुर्खेतले संचालन गरिरहेको सुर्खेत आँखा अस्पतालले बार्षिक ५० हजारभन्दा बढी नागरिकलाई सेवा दिने गरेको छ । गत आर्थिक वर्षमा मात्रै अस्पतालले ५६ हजार आठसय ८६ जना नागरिकलाई सेवा दिएकोे छ । जसमध्ये सबैभन्दा बढी अर्थात ३१ हजार सातसय १४ जनाले वहिरंग सेवा लिएका छन् । तथ्याङ्क अनुसार दृष्टि दोष अर्थात पाँच हजार एकसय २४ जनाले चश्माको सेवा लिएका छन् ।
त्यस्तै अस्पतालबाट एक हजार दुईसय ४४ जनाको मोतिविन्दुको अप्रेशन, दुईसय आठ जनाको आँखा सम्बन्धी अन्य अप्रेशन र ८६ जनाको जलविन्दुका र डाईविटिजका विरामीहरुको उपचार गरिएको अस्पतालले जनाएको छ । त्यस्तै सामुदायिक आँखा तथा स्वास्थ्य कार्यक्रमतर्फ १६ हजार ६ सय ४३ जनाले घुम्ती शिविरमा आँखा जाँच गराएका छन् । शिविरमा एक हजार ६ सय १९ जनालाई चश्मा उपलब्ध गराउँदा दुईसय ४८ जनाको आँखाको अप्रेशन गरिएको छ । गतवर्ष कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र सिम्ता गाउंपालिकाको सहयोगमा आँखा शिविर सञ्चालन गरिएको थियो । अस्पतालको सहयोगमा सिम्ता गाउँपालिकाले तीन दिनसम्म निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । जसमा एकसय नौ जनाले नयाँ ज्योति पाएका थिए । शिविरमा पाँच सय ५० जनाले आँखा जाँच गराएका थिए । जसमध्ये एक ८७ जनालाई चश्मा उपलब्ध गराइएको थियो ।

कोरोनाले घुम्ती शिविर प्रभावित

अघिल्ला बर्षहरुमा ठाउँठाउँमा आँखा शिविरहरु हुन्थे । एउट शिविरमा कम्तीमा एकसयदेखि एकसय ५० जनाको आँखाको अप्रेशन अर्थात नयाँ ज्योति फेर्नुपथ्र्याे । कर्णालीको एकमात्रै सुर्खेत आँखा अस्पतालले गाउँगाउँमा सेवा पु¥याउँथ्यो । तर चालु आर्थिक वर्षमा भने कोरोना महामारीका कारण आँखा शिविर हुन सकेको छैन । गत फागुनदेखि आँखा शिविर सञ्चालन भएको छैन । आँखा शिविर सञ्चालन हुन नसक्दा झण्डै सात हजार नागरिक सेवाबाट बन्चित भएका छन् ।

समयमा उपचार नपाउँदा आँखाको ज्योति फेर्नुपर्ने विरामीको संख्या बढेको छ । जटिल प्रकृतिका विरामी पनि उपचारका लागि गाउँबाट आउन सकेका छैनन् । तत्कालन शिविर सञ्चालन गर्नुपर्ने आवश्यकता भए पनि कोरोनाका कारण कुनै निकायले शिविर सञ्चालन गर्न नसकेको अस्पतालले जनाएको छ । कोरोनाकै कारण अस्पतालमा सेवा लिन आउने विरामी पनि घटेका छन् । गत आर्थिक वर्षमा ३१ हजार सातसय १४ जनालाई वहिरंग सेवा दिएको अस्पतालले चालु आर्थिक वर्षमा झण्डै सात हजार बढी सेवाग्राही घटेको जनाएको छ ।

आर्थिक अभावले सुरु भएन विशिष्टकृत सेवा

कर्णालीमा आँखाको जलविन्दुका विरामी धेरै छन् । विशिष्टकृत सेवा नभएकै कारण गत वर्षमात्रै कर्णालीका ८६ जनाको जलविन्दु र डाईविटिजका विरामीहरु रिफर गर्नु परेको थियो । तर कर्णालीको एकमात्र भरोसाको केन्द्र सुर्खेत आँखा अस्पतालमा विशिष्टकृत सेवा सञ्चालनमा आउन सकेको छैन । विशिष्टकृत सेवा नहुँदा जलविन्दु, आँखाको पर्दा फेर्ने, नानीको समस्या लगायतका जटिल प्रकृतिका विरामी नेपालगञ्ज र काठमाडौँ रिफर गर्नुपर्ने अवस्था छ ।

आर्थिक अभावका कारण विशिष्टकृत सेवा सुरु गर्न नसकेको अस्पतालले जनाएको छ । ‘कर्णालीमा एउटा विशिष्टकृत सेवा दिने अस्पताल अपरिहार्य छ, तर आर्थिक अभावका कारण अस्पतालले विशिष्टकृत सेवा दिन सकेको छैन’ अस्पताल व्यवस्थापक धनबहादुर थापाले भने, ‘कोरोना कारण खर्च धान्न धौ–धौ छ, कर्मचारीलाई तलव खुवाउनै समस्या परको अवस्थामा अहिले नै विशिष्टकृत सेवा दिन सक्ने अवस्था छैन ।’

सुरुमा अस्पताललाई दातृ निकायले सहयोग गरे पनि हाल अस्पताल आफैले खर्च धान्नुपर्ने अवस्था छ । खर्च धान्न सक्ने अवस्थामा पुगेको भए पनि कोरोनाका कारण नराम्रोसँग प्रभावित भएको छ । दुईजना विशेषज्ञ चिकित्सकसहित कुल २८ जना कर्मचारीलाई तलव खुवाउन समेत समस्या परेको अस्पतालले जनाएको छ । चुनौतीकैबीच अस्पतालले थप सेवा विस्तारको पहल थालेको छ । चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले आँखाको जलविन्दुका विरामी पहिचान गर्ने मेसिन उपलब्ध गराएपछि जलविन्दुका विरामीको पहिचान गर्ने सेवा सुरु हुनेछ । सामाजिक विकास मन्त्रालयले मेसिन खरिदको प्रक्रिया अगाडि बढाइ सकेको छ । मन्त्रालये चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ आँखा शिविर सञ्चालनका लागि छुट्याएको छ ।

तपाईको प्रतिक्रिया