सम्पादकीयः कुष्ठरोग पाप होइन

कुष्ठरोगलाई अहिले पनि हाम्रो समाजमा पूर्व जन्मको पाप हो भन्ने भ्रम छ । यही भ्रमका कारण अहिले पनि मानिसहरुले रोग लुकाउने गरेका छन् । रोग लुकाएकै कारण कर्णालीका जिल्लामा यो रोग निर्मूल गर्न कठिन भइरहेको छ । सरकारले यो रोग निर्मुल गर्नका लागि विभिन्न अभियान र योजनाहरु पनि बनाएको छ । तर सामाजिक चेतना र व्यवहारका कारण कुष्ठरोग निवारणमा चुनौती थपिएका छन् । आज देशका अन्य स्थानमा जस्तै कर्णालीका जिल्लाहरुमा पनि कुष्ठरोगको संक्रमण बढ्दो छ । अझ रोग लागेमा लुकाउने र अस्पतालमा चेकजाँच नै नगर्ने संस्कारका कारण रोग समाजभित्र थप बल्झिदै गइरहेको छ । त्यतिमात्र होइन, रोग लागेका व्यक्तिहरुलाई समाज र परिवारले पनि दुव्र्यवहार गर्दछन् । कुष्ठरोगको संक्रमण भएको खण्डमा समाजले गर्ने तिरस्कार र घरदेखि टाढा ओडारमा राख्ने कुसंस्कारका कारण पनि बिरामीहरुले रोग लुकाउन बाध्य छन् । यही व्यवहारका कारण आज कुष्ठरोग निवारणमा चालिएका कदमहरु प्रभावकारी बन्न सकेका छैनन् ।

कुष्ठरोग सरुवा रोग हो । यो सावधानी नअपनाए निरोगी व्यक्तिमा पनि सर्दछ । तर समयमै उपचार र नियमित औषधि सेवन गरेमा रोग निको पनि हुन्छ । निको हुने रोगलाई विभिन्न भ्रमहरु पैmलाउने काम गरिएको छ । अझ यो रोगलाई पूर्व जन्मको पाप हो भन्ने भ्रमले थप जटिलता पैदा गरेको छ । यही भ्रमका कारण आज दुर्गम स्थानमा कुष्ठरोगको संक्रमण भएका व्यक्तिहरु विभिन्न अपहेलना र तिरस्कार सहन बाध्य छन् । औषधि उपचार गरेर चाँडो निको गराउनेतर्फ भन्दा पनि समाज उनीहरुलाई थप निरुत्साहित गर्नेतर्फ अग्रसर छ । कुष्ठरोग निवारणका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरु पनि कार्यरत छन् । ति संस्थाका अनुसार रोग सामान्य हो । तर रोग लुकाउने र उपचारमा नआउने प्रचलनका कारण समस्या बढ्दो छ । अहिले पनि दुर्गममा रोग लागेमा उपचार गराउन मान्दैनन् । यसको पछाडि रोग लागेमा समाजले गर्न सक्ने सम्भावित दुव्र्यवहार तिरस्कारमा पर्ने डर नै हो ।

पछिल्लो एक वर्षको अवधिमा कर्णालीमा धेरै कुष्ठरोगका बिरामी भेटिएका छन् । ती आफै अस्पतालसम्म जाँच गर्न आएकाहरुबाट पत्ता लागेका हुन् । गाउँमा लुकेर बसेका र जाँच गराउन नआउनेहरुमा पनि यो रोग हुन सक्छ । यसकारण कुष्ठरोग समाजभित्र जटिल बनाइएको छ । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हो । तर हाम्रो अन्धविश्वास, चेतनाको कमी र सामाजिक व्यवहारले रोग घटाउने भन्दा पनि बढाउनेतर्फ बल गरेका छन् । यसकारण अन्य रोगजस्तै कुष्ठरोग पनि सामान्य नै हो । यसको उपचार गरेमा पुर्णरुपमा निको हुन्छ । यो कुनै पूर्वजन्मको पाप होइन । समाजमा रहेको यही गलत मान्यता चिर्न र नागरिकलाई सचेतना जगाउन सकेमा कुष्ठरोग निवारण सम्भव छ । यसका लागि सबैभन्दा पहिला समजमा रहेको अन्धविश्वासलाई चिर्नका लागि सरोकारवालाहरुले सचेतनामुलक कार्यक्रम र उपचारलाई सँगसँगै लजानु आवश्यक छ ।

तपाईको प्रतिक्रिया