सात वर्षदेखि चौरजहारी विमानस्थल बन्द

रुकुम पश्चिम, २४ मंसिर ।

छिमेकी जिल्ला जाजरकोट र सल्यानलाई समेत लक्षित गरी २०२८ सालमा चौरजहारीमा विमानस्थल बनाइयो । कच्ची धावनमार्गमा जहाज अवतरण गर्न समस्या भएपछि ४२ वर्षपछि २०७० सालमा कालोपत्रे गरियो । तर कालोपत्रे भएदेखि चौरजहारीमा जहाज अवतरण नै भएनन् ।

उडान हुन छाडेपछि धावन मार्ग वरिपरिको भाग झाडीमा परिवर्तन भएको छ भने टावर घरमा ताला लागेको छ । कालोपत्रे हुनुअघि विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले सातामा दुई दिन उडान गर्थ्यो । यात्रुलाई टिकट दिने, जहाज चढाउने र अरु व्यवस्थापनको काम गर्ने नेपाल वायु सेवा निगमले चौरजहारीबाट कार्यालय उठाएको छ ।

एक साताअघि नेपालगन्जबाट आएको निगमको टोलीले कार्यालय हटाएको छ । विमानस्थलमा रहेका सबै सामान नेपालगन्ज लगिएको छ । निगमका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठ आफैं कार्यालय हटाउन चौरजहारी आएका थिए ।

निगमको कार्यालयमा कार्यरत कर्मचारीको करार अवधि पनि थपिएको छैन । गत साउनदेखि नै कार्यालय कर्मचारीविहीन भएको हो । यसअघि जुनियर सहायक स्टेशन इन्चार्जको काम गरेका सुरेन्द्र नेपालीले आफूहरुको करार अवधि नथपिएको गुनासो गरे । उनका अनुसार कालोपत्रे गर्नुअघि काठमाडौं–चौरजहारी–नेपालगन्ज र नेपालगन्ज–चौरजहारी–काठमाडौं उडान हुन्थ्यो । ‘जहाज नियमित भए यात्रु सजिलै पाइन्छन्,’उनले भने, ‘तर नियमित नहुँदा नै समस्या भयो ।’

रुकुम पश्चिमका दुई विमानस्थल छन् । सदरमुकाम खलंगास्थित सल्लेमा विमानस्थल बन्नुअघि नै चौरजहारीमा नियमित उडान हुन्थ्यो । कार्यालय नै उठेपछि स्थानीयबासी थप निरास बनेका छन् । ‘कार्यालय हटाएर, सामग्री अन्यत्रै लिइएपछि अब यो एयरपोर्टमा जहाज आउँछ भनेर कसरी पत्याउने ?,’ चौरजहारी नगरपालिका–१ का शिव लामिछानेले भने, ‘नभएको ठाउँमा संरचना बनाएर जहाज ल्याउनुपर्नेमा भएको विमानस्थल बन्द पनि किन बन्द गरियो ?’ उनले उडान सञ्चालनमा ल्याउन सरकारसँग माग गरे ।

विमानस्थललाई थप व्यवस्थित बनाउनुको साटो बन्द गर्दा स्थानीयबासी सुविधाबाट वञ्चित भएको कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्माले बताए । ‘चौरजहारी अस्पतालबाट रिफर हुने बिरामी र अशक्त–अपांगका लागि जहाज सेवा सुचारु गर्नुको विकल्प छैन,’ उनले भने, ‘यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराइनेछ ।’

कान्तिपुर दैनिकबाट साभार ।

तपाईको प्रतिक्रिया