सुर्खेत, २३ असार ।
जाजरकोट दशेराकी एक युवती लामो समयदेखि कुष्ठरोगबाट ग्रसित थिइन् । तर उपचारका लागि अस्पताल जान उनी डराउँथिन् । उनलाई कुष्ठरोग लागेको अरुले थाहा पाएमा समाजबाट तिरस्कारमा परिने डर थियो । किनकी समाजमा अहिले पनि कुष्ठरोग भनेको पाप हो भन्ने भ्रम छ ।
बुढापाकाले पनि पूर्वजन्ममा पाप गरेको र देवताको श्रापका कारण कुष्ठरोग लाग्छ भन्ने सुनाएका थिए । यही भ्रमका कारण लामो समयदेखि ति युवती रोग पालेर बसिन् । घरपरिवारलाई समेत थाहा दिइनन् । केहीवर्ष पहिला नै उनमा स्वास्थ्यकर्मीले कुष्ठरोगको आंशका गरेका थिए । स्वास्थ्यकर्मीले राम्रो अस्पतालमा गएर रोग जाँच गराउनसमेत सल्लाह दिए । तर आफूलाई कतै कुष्ठरोग नै लागेको हो कि भन्ने आशंकाले युवती उपचार गर्न गइनन् ।
कुष्ठरोग लागेको थाहा पाए समाजले बहिस्कार गर्ला भन्ने उनमा ठूलो चिन्ता थियो । समाजबाट तिरस्कारमा पर्नुभन्दा उपचार नै नगराउने निधो गरिन् । र उपचार गर्नुको सट्टा रोग लुकाइन् । तर गत फागुनमा आईएनफद्वारा सञ्चालित साइनिङ अस्पताल सुर्खेतले दशेरामै कुष्ठरोग सम्बन्धी उपचार शिविर चलायो । कुष्ठरोगप्रतिको भ्रमका कारण कतिपय नागरिक खुल्दैनन् भन्ने बुझेको अस्पतालले तीन दिनसम्म घरदैलो अभियान चलायो । कुष्ठरोग उपचार गरेमा निको हुन्छ भनेर बुझायो । चौथो दिनमा स्वास्थ्य शिविर राख्यो । शिविरमा एकसय ९४ जनाले स्वास्थ्य परीक्षण गराए ।
गाउँमै संचालन भएको त्यही शिविरमा ति युवतीले पनि स्वास्थ्य परीक्षण गराउन राजी भइन् । तर अन्ततः दशेरा स्वास्थ्य चौकीका स्वास्थ्कर्मी र साइनिङ अस्पतालका स्वास्थ्यकर्मीले उनको गोपनीयता कायम गर्ने बाचा गरे । र ति युवतीले स्वास्थ्य परीक्षण गराईन् । नभन्दै उनलाई कुष्ठरोग लागेको पुष्टि भयो । कुष्ठरोग लागेको पुष्टि भएपछि नियमित औषधि सेवन गरिन् । हाल उनी पूर्णरुपले कुष्ठरोगमुक्त हुने क्रममा छन् । सम्वततः अबको केही महिनामै उनी कुष्ठरोगबाट मुक्त हुनेछिन् । कुष्ठरोगको चेकजाँच गराउन डराउने उनी एउटा उदाहरण मात्रै हुन् । कुष्ठरोग पाप गरेका कारण लाग्छ र यो रोग निको हुँदैन भन्ने भ्रमका कारण अहिले पनि समाजमा कुष्ठरोगलाई लुकाउने चलन छ ।
यही भ्रमका कारण अधिकांश नागरिक रोगको शंका लागे पनि उपचार गराउँदैनन् । समाजबाट तिरस्कार परिने डरले रोग लुकाएर बस्छन् । जनचेतनाको अभाव र धार्मिक कुसंस्कारयुक्त समुदायमा कहिले पनि कर्णालीमा कुष्ठरोगप्रतिको बुझाइ फेरिएको छैन । कुष्ठरोग कुनै धर्म वा पापका कारण लाग्ने होइन । उपचार गरेको खण्डमा ६ महिनादेखि एक वर्षभित्र कुष्ठरोग पूर्णरुपमा निको हुन्छ । कुष्ठरोग उन्मुलनका लागि लामो समयदेखि कार्यरत साइनिङ अस्पताल सुर्खेतका व्यवस्थापक मंगल थारुले भने,‘मानिसहरु विस्तारै खुल्न थालेका छन्, हामीकहाँ चेकजाँच गर्न आएकाहरुबाट मात्र हामीले बिरामी पत्ता लगाएका हौं । बाँकी बिरामी समाजमै लुकेका हुन सक्छन्, बिरामीहरु बाहिर नखुलेसम्म निमूल गर्न कठिन छ ।’
सात वर्षमा चारसय बिरामीको पहिचान
कर्णाली प्रदेशमा सात वर्षको अवधिमा करिव चारसय जना कुष्ठरोगका बिरामीको पहिचान भएको छ । साइनिङ अस्पताल सुर्खेतका अनुसार २०७० सालदेखि हालसम्म तीन सय ९७ जना कुष्ठरोगका बिरामी भेटिएका छन् । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१ मा ३६ जना कुष्ठरोगका बिरामी भेटिएका थिए । उनीहरु सबैको उपचार साइनिङ अस्पतालले गरेको थियो । २०७२ मा त्यो संख्या बढेर ५८ जना पुगेको थियो । अस्पतालले दिएको तथ्याङ्क अनुसार २०७३ सालमा ६४ जना, २०७४ सालमा ७७ जना, २०७५ सालमा ६० जना, २०७६ मा ४९ जना र चालु आर्थिक वर्षमा १४ जना नयाँ कुष्ठरोगका बिरामी पत्ता लागेका हुन् । बिरामी लुकेर नबसेको खण्डमा यसको पहिचान अरु बढ्ने र संख्या पनि थपिने अनुमान गरिएको छ ।
कर्णालीका चार जिल्ला जोखिममा
कर्णालीका चार जिल्लाहरु कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ । कर्णालीका अन्य जिल्लाको तुलनामा सुर्खेत, कालिकोट, दैलेख र जाजरकोट कुष्ठरोगको उच्च जोखिममा छन् । ति जिल्लामा हरेक वर्ष नयाँ विरामी भेटिदै आएका छन् । चालु आर्थिक वर्षमा पनि सुर्खेतमा १४ जना, जाजरकोटमा १३ जना, दैलेखमा नौ जना र कालिकोटमा ६ जना नयाँ बिरामी भेटिएका छन् । त्यस्तै सल्यानमा दुई, जुम्लामा एक र अन्य प्रदेशका चार जना गरी कुल ४९ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । अस्पताल व्यवस्थापक मंगल थारुका अनुसार नयाँ पत्ता लागेका कुष्ठरोगका विरामीमध्ये१५ देखि ५९ वर्ष उमेर समूहका ३९ जना, ६० वर्ष उमेर माथीका ६ र एकदेखि १४ वर्ष उमेर समूहका चार जना छन् । थारुले उत्पादनशील जनशक्ति नै कुष्ठरोगको मारमा परेको बताए ।
उपचार पूरा गरे नगद प्रोत्साहन
कुष्ठरोगको नियमित उपचार गराउने बिरामीलाई सरकारले प्रोत्साहन स्वरुपमा एकहजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । कुष्ठरोगको नियमित उपचार पूरा गरेपछि मात्रै सो रुपैयाँ उपलब्ध गराइन्छ । त्यस्तै रोगबाट हुने जटिलताको उपचार गर्न अस्पतालमा भर्ना हुने प्रभावितलाई यातायात खर्च थप एक हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । नेपालमा बार्षिक तीन हजार नयाँ कुष्ठरोगका बिरामी भेटिने गरेका छन् । जसमध्ये तराईका १६ वटा जिल्ला सबैभन्दा बढी प्रभावित छन् । हरेक १० लाख जनसंख्यामा एक जनामात्रै कुष्ठरोग हुने अवस्था आएको खण्डमा भने नेपाललाई कुष्ठरोगमुक्त गर्न मिल्ने प्रावधान छ । सोही उद्देश्यका पुरा गर्न नेपाल सरकारले कुष्ठरोगका बिरामीलाई उपचारमा प्रोत्साहन गर्न एक हजार रुपैयाँ उपलब्ध गराउने गर्दछ ।
वर्षमा दश हजारलाई सेवा
साइनिङ अस्पताल सुर्खेतले बार्षिक १० हजारभन्दा बढी नागरिकलाई सेवा दिने गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा अस्पतालले १० हजार तीनसय ९८ जनालाई सेवा दिएको जनाएको छ । आइतबार भएको कुष्ठरोग तथा अपाङ्ता सम्बन्धी अभिमुखिकणर कार्यक्रममा अस्पतालले यस्तो जानकारी दिएको हो । २५ बेडको साइनिङ अस्पालले कुष्ठरोग, फिष्टुला र अपाङ्गता भएका नागरिकलाई सेवा दिँदै आएको छ । त्यस्तै धामीझाँक्री तथा समुदायमा सचेतना र स्वास्थ्यकर्मीहरुलाई कुष्ठरोगका बारेमा अभिमूखिकरण गराउँदै आएको छ । तर चालु आर्थिक वर्षमा भने कोरोना महामारीका कारण सेवाग्राही घटेका छन् । अघिल्लो मंसिर महिनामा चार हजार नौसय ७९ जनाले सेवा लिएकोमा यो वर्ष घटेर एक हजार दुईसय २८ जनाले मात्रै सेवा लिएको अस्पतालले जनाएको छ ।
युग संवाददाता । । २३ मंसिर २०७७, मंगलवार १३:४६