मानवअधिकार रक्षकको संरक्षणका लागि समिति बन्ने

सुर्खेत, २२ मंसिर ।

कर्णालीका सभामुख राजबहादुर शाहीले मानवअधिकार रक्षकहरुको संरक्षणका लागि प्रदेश सभामा विशेष समिति बनाउने प्रतिबद्धता जनाएका छन । इन्सेकले सोमबार वीरेन्दनगरमा आयोजना गरेको कार्यक्रममा सभामुख शाहीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सभामुख शाहीले आम नागरिकले सुरक्षा अनुभुति हुनेगरी कानुन निमार्ण गर्न प्रदेश सभा लागि परेको उल्लेख गरे । मानव अधिकारको संरक्षणका लागि यस खालको कार्यक्रम प्रभावकारी रहेकोले विशेष समिति बनाउने आफुलाई अनुभुति भइरहेको सभामुख शाहीको भनाइ छ । यस्तै प्रदेश सभाका सदस्य राजु नेपालीले अर्काको अधिकारको बारेमा बोल्ने मानवअधिकार रक्षकहरुको संरक्षण नभएसम्म मानव अधिकारको संरक्षण हुन नसक्ने बताइन् ।मुख्य न्यायाधिवक्ता विद्याभुषण मानन्धरले मानवअधिकार रक्षकहरुको संरक्षण सम्बद्र्धन गर्ने प्रमुख दायित्व राज्यको भएकाले मानवअधिकारमैत्री कानुन निमार्ण गर्नेतर्फ कर्णाली प्रदेश सभा प्रतिबद्ध भई लाग्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले संघिय सरकारको आँखा नपुगेको र स्थानीय तहको पहुँचमा नरहेको कानुन निमार्ण गर्ने दायित्व प्रदेश सरकारको रहेको बताए । कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी संकायका सहायक डिन कमलेश डिसी, मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष पीताम्बर ढकाल, उच्च बार एसोसियसनका अध्यक्ष उत्तम आचार्य, मप विश्वविद्यालयका उपप्रध्यापक ललितजङ्ग शाही, दलित गैर सरकारी संस्था महासंघका उप महासचिव सञ्जुसिं बिक, सचिव नारायण बिक, महिला अधिकारकर्मी मधुरानी ढकाल, सितलासिं राठौर र समिना बानु लगायतले धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया