सम्पादकीयः बेसहाराको नयाँ जीवन

कुनैबेला मानव जंगलमा थियो । ऊसको घर र भौतिक सम्पति पनि थिएन । समाज पनि थिएन । समूहमा फिरन्ते जीवन विताएर शिकार गरे पनि सामुहिकता थिएन । विस्तारै मानवले व्यक्तिगत सम्पति जम्मा गर्न थाल्यो । चेतनाको विकास र व्यक्तिगत लोभ पनि बढ्यो । अनि मानव घर बनाउन थाल्यो । आफ्नो परिवारको लागि मात्र कमाउन थाल्यो । शिक्षाको विकार र प्रविधिले मानिसलाई सामुहिकताको भावना विकास गरायो । भौतिक सुविधा भएको ठाउँमा समूह बनाएर बस्न थाले । यही कारणले समाज स्थापना पनि भयो । समाजमा बसेपछि समस्या पर्दा एकलो अर्कोलाई सहयोग गर्ने संस्कृति पनि स्थापित भयो । तर सहरीकरण र चेतनाको विकाससँगै मानवहरु स्वार्थी पनि बने । स्वार्थकै कारण पछिल्ला दिनमा आफ्नै परिवारका सदस्यलाई वेवास्ता गर्न थालिएको छ । अर्थात आर्थिक उपार्जन गर्न नसक्ने भएपछि बेवारिसे छाड्ने गरिएको छ । परिवारमा रहेका कमजोर, मानसिक समस्या भएका र बुढेशकाल लागेका सदस्यलाई बेवास्ता गर्ने र सडकमै ल्याएर छाड्ने कुसंस्कार हाम्रो समाजमा अहिले पनि छ । यसैको परिणाम आज अधिकांश व्यक्तिहरु बेसहारा बनेर सडक र गल्ललीमा भौतारिक बाध्य छन् ।

यही समस्याका कारण कुनैबेला कर्णालीका विभिन्न जिल्ला र मुख्यगरी प्रदेश राजधानी वीरेन्द्रनगरमा बेसहारा मानिसहरुको संख्या धेरै थियो । घर र परिवारबाटै तिरस्कृत बनेकाहरु सडकमै सुत्न बाध्य थिए । मागेर छाक टार्न बाध्य उनीहरुलाई समाजले नै दुव्र्यवहार गरेका धेरै घटना छन् । यस्तो अवस्थामा मानवको मानवतालाई नै गिज्याउने काम समाजमा अगुवा र सचेत भनिएका नागरिकबाटै भएको अवस्था थियो । तर पछिल्लो एक बर्षको तस्बिर हेर्दा कर्णालीमा केही वदलाव आएको छ । अर्थात सडकमा बेसहारा व्यक्तिहरु देखिन छाडेका छन् । वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रमले सडकमा रहेका बेसहारा व्यक्तिहरुलाई उद्धार गरेको छ । आश्रममा राखेर उनीहरुलाई घर र परिवारको न्यानोपन दिलाएको छ । प्रदेश सरकारको अगुवाइमा हाल कर्णालीलाई सडक मानवमुक्त घोषणा पनि गरिएको छ । अर्थात अब कर्णालीमा कोही पनि व्यक्त बेसहारा बनेर सडकमा देखिने छैनन् । यही अभियानलाई मानव सेवा आश्रमले नै सफल नेतृत्व गरिरहेको छ ।

एक बर्षको अवधिमा यो आश्रमले सयौंलाई सडकबाट उद्धार गरेको छ । धेरैलाई उनीहरुको घरमा पुनसर््थापना गराएको छ । परिवारसँग भेटाएर अधिकांशलाई नयाँ जीवन दिलाएको छ । अहिले पनि अधिकांश व्यक्तिहरु आश्रममा नयाँ जीवनको अनुभूति गरिरहेका छन् । यस्तो मानवीय कर्म गर्ने आश्रमका भने आफ्नै समस्या छन् । अर्थात आश्रमको आम्दानी भने छैन । उद्धार गरिएका व्यक्तिहरुको लालनपालन र रेखदेखमा आर्थिक अभाव झेल्दै आएको छ । यस्तो मानवीय कार्य गर्ने आश्रमलाई आर्थिक अभाव हुन नदिन सरकारले बजेट उपलब्ध गराउन आवश्यक छ । मानवीय कर्मभन्दा ठूलो विकास अरु केही हुन सक्दैन । यसकारण बेसहारालाई नयाँ जीवन दिने यो आश्रमलाई आवश्यक सहयोग उपलब्ध गराउनेतर्फ प्रदेश र स्थानीय सरकार गम्भिर बन्नै पर्दछ ।

तपाईको प्रतिक्रिया