अब जुम्ली भाषाको बेग्लै शब्दकोश

जुम्ला, २१ मंसिर ।

खस भाषामा आधारित खसिया आखार जुम्ली शब्दकोश प्रकाशन गरिने भएको छ । आर्थिक स्रोत जुटेपछि शब्दकोश प्रकाशन गरिन लागेको खसिया आखार शब्दकोशका सम्पादक रमानन्द आचार्यले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने आश्वासन दिएपछि शब्दकोश प्रकाशन गरिन लागेको हो ।

आचार्यले २०६४ देखि लेख्न सुरु गरेको शब्दकोश अहिले कम्प्युटर टाइपिङ भइरहेको छ । खस शब्दकोश लामो समयसम्म स्रोत नजुटेपछि प्रकाशनमा अन्योल भएको थियो । अहिले प्रदेशको सामाजिक विकास मन्त्रालयको बुँदा नम्बर १३० मा बजेट विनियोजन गरेको खबर पाएपछि खर्चको परियोजना प्रस्ताव पठाइएको समितिले जनाएको छ । खसिया आखार समितिका सदस्य प्रकाशचन्द्र खत्रीका अनुसार मन्त्रालयलाई ३२ लाख बढीको पुस्तक प्रकाशन गर्ने परियोजना प्रस्ताव पठाइएको छ । ‘तत्कालीन खस साम्राज्यको राजधानी सिञ्जा र यहाँबाट भाषाको उत्पत्ति भई अहिले राष्ट्रिय भाषाको रुपमा परिणत भएकाले खस शब्द जोगाइराख्न प्रकाशित गरिन लागेको पछिल्लो दस्तावेज महत्त्वपूर्ण हुनेछ’, खत्रीले भने ।

जिल्लामा खस शब्दकोश तयारीका लागि निर्माण गरिएको खसिया आखार समितिको बैठकले प्रदेश सामाजिक विकास मन्त्रालयलाई बजेट माग गर्न जिल्ला समन्वय समितिलाई सिफारिस गरिदिन आग्रह गरेको थियो । शब्दकोशको नाम खसिया आखार (माझाली) समेत राख्ने निर्णय गरेको छ । ‘२५ हजारभन्दा बढी खस शब्द समेटिएको यो शब्दकोश तयार भए जुम्लाको सिञ्जामै विमोचन गर्न यहाँका ३ स्थानीय सरकारसँग समन्वय गर्छौं’, आचार्यले भने । शब्दकोशको अहिले अदेखि नसम्म कम्प्युटर टाइपिङ भइसकेको आचार्यले बताए ।

तपाईको प्रतिक्रिया