मध्यपहाडी लोकमार्गले खोल्यो विकासको ढोका, सडक छेउमा धमाधम विस्तार हुँदै नयाँ सहर

सुर्खेत, २१ मंसिर ।

प्रदेशका आधा नागरिक गरिब । रोजगारीका लागि भारत र तेस्रो मुलुक जानुपर्ने बाध्यता । विकास निर्माणको गति सुस्त । नागरिकमा पनि केवल निराशा मात्रै । यो केही समय अघिसम्म कर्णालीको दृष्य हो । तर सडक निर्माणसँगै कर्णालीमा विस्तारै विकासको ढोका खुल्न थालेको छ ।

सडकको पहुँच विस्तार भएसँगै प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा दर्जनौं नयाँ सहर विकास भएका छन् । मुख्यगरी पूर्वदेखि पश्चिमसम्म जोड्ने मध्यपहाडी लोकमार्ग खुलेपछि पहाडी जिल्लाका विभिन्न स्थानमा नयाँ सहरहरु चम्किन थालेका हुन् । यो लोकमार्गको छेउमा विस्तार भएका सहरका कारण स्थानीयमा विकासको आशा पलाएको छ भने उनीहरुको आर्थिक अवस्थामा पनि सुधार भइरहेको छ । भौतिक विकास र मानवीय सूचकमा हालसम्म पछाडि देखिएको कर्णालीमा सडक विस्तारसँगै आर्थिक विकासको ढोका पनि खुल्न थालेको हो । लोकमार्ग छेउमा नयाँ सहर विस्तार भएका छन् ।

कुनैबेला सुर्खेत र नेपालगंजबाट नुन बोकेर छाक टार्ने पहाडी जिल्लामा पनि हिजोआज बजार विस्तार भएका छन् । लोकमार्ग संचालनमा आउन थालेपछि दैलेखको राकममा नयाँ सहर विस्तार भएको छ । कर्णाली राजमार्ग र मध्यपहाडी लोकमार्ग दुबैले छुने भएपछि राकममा दैलेख, कालिकोट र अछामबाट मानिसहरु बस्ती आएका छन् । बजारमा पक्की घरहरु निर्माण भइरहेका छन् भने अन्य विकासका पूर्वाधार पनि निर्माण भइरहेका छन् । राकम यो प्रदेशकै नमूना सहरका रुपमा स्थापित हुने क्रममा छ । सहर स्थापना भएपछि सरकारी संयन्त्रहरु पनि पुगेका छन् ।

यसले स्थानीयलाई सरकारी सेवा लिन घण्टौसम्म हिँड्नुपर्ने बाध्यता टरेको छ । लोकमार्ग निर्माण भएपछि रुकुममा पनि नयाँ सहर जन्मिएको छ । जिल्लाको चौरजहारीमा सहर नै स्थापना भएको हो । मध्यपहाडी लोकमार्ग खुलेपछि चौरजहारीमा बजार फस्टाएको छ । यो सहरमा रुुकुम, जाजरकोट, रोल्पा र सल्यानबाटसमेत मानिसहरु व्यापारका लागि पुगेका छन् । लोकमार्गकै छेउमा दैलेखको वेस्तडामा पनि सहर स्थापना भएको छ । लोकमार्ग अन्तर्गत दिन प्रतिदिन सहर विस्तार हुन थालेपछि सेवा र सुविधा पाउने अपेक्षासहित मानिसहरु बस्ती सर्नेक्रम पनि बढेको हो ।

अर्कोतर्फ जग्गाको मूल्य पनि बढ्दै गएको छ । यस्तै अछाम र दैलेखको सिमानामा स्थापना भएको राकम बजारमा घडेरी किन्नेहरुको होडबाजी नै चलेको छ । दुई वटा मुख्य राजमार्गले छुने र सरकारले पनि नमूना सहर विकास गर्ने घोषणा गरेपछि राकममा बाहिरबाट भित्रिने मानिहरुको संख्या बढ्दै गएको छ । कुल १७ सय ७६ किलोमिटर लम्बाइ रहेको लोकमार्ग अन्तर्गत कर्णालीका रुकुमपश्चिम, जाजरकोट, दैलेख र सुदुरपश्चिम प्रदेशको अछामसम्म गरी चारसय ४० किलोमिटर पर्दछ । ‘लोकमार्ग खुलेपछि बेस्तडामा बजार नै चम्किएको छ, व्यापार व्यवसाय पनि फस्टाउँदो छ,’ दैलेखका कृष्ण अधिकारीले भने ‘अन्य स–साना बजारहरु विस्तार हुनेक्रम तीब्र छ, हामी गाउँका नागरिकहरुलाई बजारसम्म जोड्यो ।’ लोकमार्ग अन्तरगर्त जाजरकोट र दैलेखको सिमा क्षेत्र सुयडा, बेस्तडा, सान्ताडा, दैलेख सदरमुकाम, चगत्रा बगर, लैनचौर र जम्बुकाँधमा पनि बजार विस्तार भएका छन् ।

चामुण्डाविन्द्रासैनी नगरपालिकाका मदन विकले भने,‘चामुण्डाको लैनचौरको गाउँसमेत अहिले बजारमा परिणत भएको छ ।’ लोकमार्ग खुलेपछि बस्ती नै नभएको ठाउँमा पनि बजार विकास भईरहेको उनको भनाइ छ । लोकमार्गका कारण किसानले उत्पादन गरेको स्थानीय कृषिजन्य बस्तुहरुले बजार पाउन थालेका छन् भने दैनिक उपभोग्य बस्तुको आपुर्तीमा पनि सहजता भएको छ ।

स्तरोन्नतिको काम तीव

पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना कार्यालय दैलेख अन्तरगर्त पर्ने लुम्बिनी प्रदेशको रुकुम पूर्वदेखि सुदुरपश्चिमको अछामको राजमार्ग निर्माण हाल तीब्र गतिमा छ । यो खण्डको स्तरोन्नति गर्ने काम अन्तर्गत यतिबेला सडक ग्राभेल, कालोपत्रे, पुल निर्माण लगाएतका काम धमाधम भइरहेका छन् । कतै गाउँलेको विवाद । कतै मुआब्जाको विवाद । विभिन्न अवरोधका कारण लामो समय सुस्त बनेको यो खण्डमा हाल सडक स्तरोन्नतिको काम तीब्र पारिएको हो ।

रुकुमपूर्व र रुकुम पश्चिम अन्तरगर्त एकसय २५ किमी मध्ये ४६ किमी कालोपत्रे भई सकेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर मनिष सिंहले बताए । जाजरकोट खण्डमा पर्ने ८३ किमी भने कालोपत्रेको काम बाँकी छ । यस्तै दैलेख खण्डको एकसय २५ किमी मध्ये १९ किमी सडक कालोपत्रे भईसकेको इन्जिनियर सिंहले जानकारी दिए । चालु आर्थिक बर्षमा ३५ किमी कालोपत्रे सम्पन्न हुने उनले बताए । बाँकी सडक खण्डको स्तरोन्नतिको कामले गति लिएको छ । यस्तै अछाम खण्डको एकसय सात किमी मध्ये एकसय दुई किमी कालोपत्रे भई सडक सञ्चालनमा आईसकेको छ । बाँकी पाँच किमी फागुन मसान्तभित्रै कालोपत्रे भईसक्ने आयोजना कार्यालयको दाबी छ ।

यो खण्डमा हाल नौ वटा पुल निर्माणाधिन छन् । यो खण्डमा पुल निर्माण, ग्राभेल, सडक कालोपत्रे लगाएतको कार्यका लागि २९ वटा ठेक्का मार्फत काम भईरहेको छ । ती ठेक्का अन्तरगर्त ४१ प्रतिशत काम सम्पन्न भईसकेको इन्जिनियर सिंहले जानकारी दिए । आर्थिक बर्ष २०७९÷२०८० सम्म निर्माण सक्ने लक्ष लिएको यो आयोजनाले रुकुम पूर्व देखि अछामसम्मको खण्डमा हालसम्म चार अर्ब ४३ करोड खर्च भईसकेको छ । ‘सडक स्तरोन्नतिको कामलाई तीव्रता दिएका छांै’ उनले भने ‘राष्ट्रिय गौरवको आयोजना भएकाले चाँडो काम सम्पन्न गरी राज्यलाई जिम्मा दिन सक्रिय भएर लागिपरेका छांै ।’ हाल विभिन्न ठाउँमा ग्राभेल गर्ने, मेसिनरी वाल र ग्याबिन जाली भर्ने, सडक चौडा बनाउने, नाला निर्माण लगायत काम भइरहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया