समाज सेवामा रमाउने रहर

मानिस जहिले पनि रहर अर्थात इच्छाहरुको भोगी हुन्छ । जीवनमा कति रहरहरु पुरा हुन्छन् त कति अधुरा । ति अधुरा रहरहरु नै व्यक्तिका लागि सबैभन्दा प्यारा हुन्छन् । त्यस्तै एउटा रहर छ चक्रप्रसाद ढुंगानालाई पनि । हाल सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र काठमाडौंमा (प्रशिक्षक) रुपमा कार्यरत उनी अवकाशपछि सामाजिक सेवामा रमाउन चाहान्छन् । सामाजिक सेवामा लागेर नागरिक सम्पन्न बनाउन हुन उद्यमीतर्फ प्रेरित गर्ने उनको सोच छ । आर्थिक रुपले सम्पन्न हुन व्यवसायिक अभ्यास अर्थात उद्यमी बन्नुपर्ने उनी तर्क छ । प्रस्तुत छ, उनै ढुंगाना को जागिरे अनुभव र जीवन भोगाईमा केन्द्रित रहेर गरिएको कुराकानीको सारांशः

घर नै विद्यालय, बुवा नै शिक्षक

चक्रप्रसाद ढुंगानाको जन्म २०४२ साल फागुन १३ गते भएको हो । उनी बुवा गंगाप्रसाद र रामशरा ढुंगानाका कान्छो छोरा हुन् । भैरवी गाउँपालिका ५ बाँहचौरमा जन्मिएका ढुंगाना वीरेन्द्रनगर–२ लगनशील टोलका स्थायी बासिन्दा हुन् । कृषक परिवारमा जन्मिएका उनको बाल्यकाल मेलापत गर्दै बित्यो । ‘किसानको छोरा भएका कारण सानैमा मेलापात गर्थे’ उनी भन्छन्, ‘घासदाउरा गर्दै हुर्किएको हुँ ।’ किसान भए पनि परिवारमा पढ्नुपर्छ भन्ने चेतना थियो । तर सानैमा स्कुल जानसक्ने अवस्था थिएन । घरमा विद्यालय जान तीन घण्टा हिँड्नुपथ्र्याे । जसका कारण घर नै उनको विद्यालय भयो । ‘बुवा, बाजेहरु पुरोहित हुनुहुन्थ्यो, औपचारिक शिक्षा त होइन, तर सामान्य लेखपढ गर्नुहुथ्यो’ उनी भन्छन्, ‘स्कुल जान सक्ने अवस्था थिएन, घरमै कखरा सिंके, बुवा नै शिक्षक बन्नुभयो ।’ वुवा तथा हजुरवुवाले पाठपुजा र धर्मकर्म गर्ने भएका कारण पनि परिवारमा पढ्नुपर्छ भन्ने वातावरण थियो । त्यही कारण उनले कक्षा १ र दुईमा पढ्नुपर्ने सबै कुरा घरमै सिके ।

सिधै कक्षा तीनमा भर्ना भए

ढुंगानाले आदर्श प्रस्ताव माध्यमिक विद्यालय घुम्नेखालीबाट औपचारिक अध्ययन सुरु गरे । तर उनले कक्षा १ र २ पढ्नु परेन । घरमै संस्कृति शिक्षा आर्जन गरेका कारण एकै पटक कक्षा ३ मा अध्ययन गर्न पाए । ‘सामान्य हिसाव किताव र कखरा घरमै सिकेको थिए’ उनी भन्छन्, ‘विद्यालयले टेष्ट लियो, सिधै कक्षा ३ मा पढ्न पाएँ ।’ विद्यालय टाढा भएका कारण उनी सानैमा पढ्न पाएनन् । तर विद्यालयमा पढ्नुपर्ने सबै कुरा घरमै आर्जन गरे । ‘विद्यालय जान घरबाट विहान सात बजे नै हिँड्नुपथ्र्याे’ उनी भन्छन्, ‘कहिले त घरमा खाना पनि मन लाग्थेन, त्यो दिन आधा बाटो पुगेपछि खाना खान्थ्यौँ ।’ घरमा खाना खान मन नलागेको दिन झोलामा रोटी र अचार (चटनी) बोकेर विद्यालय जान्थे । विद्यालय नजिकै पुगेपछि खाना खान्थे ।

प्रथम हुँदा लाज लाग्थ्यो

सिधै कक्षा ३ बाट अध्ययन सुरु गरेका ढुंगानाले सानैदेखि पढाइमा अब्बल थिए । कक्षा ३ देखि १० सम्म उनी सधै प्रथम हुन्थे । तर उनलाई प्रथम हुन नपरेको भए हुन्थ्यो भन्ने लाग्थ्यो । ‘प्रथम भएपछि सरबाट टीका लगाउनु पथ्र्याे, साथीहरुलाई चक्लेट बाढ्न लगाउनु हुन्थ्यो’ उनी भन्छन्, ‘तर मलाइ अबिर लगाउन र चक्लेट बाँढ् नुपर्दा लाज लाग्थ्यो, त्यही हुन परेको भए हुन्थ्यो भन्थे ।’ उनी प्रथम पुरस्कार थाप्न जाँदा र अबिर लगाएर घर फर्कदा आफूलाई अपमानित ठान्थे । उमेर सानो भएका कारण पनि सबैको अगाडि जान उनी लजाउँथे । आदर्शबाट ६ सम्मको पढाइ पुरा गरेर उनी सुर्खेत झरे । त्रिपुरेश्वर माध्यमिक विद्यालय ढोडेखालीमा कक्षा ७ देखि एसएलसीसम्म अध्ययन गरे । विद्यालयमा सधै प्रथम हुने उनी एसएलसीमा भने सहपार्टीसँग बराबरी भए । २०५७ सालमा एसएलसी उत्र्तिण गरेका ढुंगाना र अर्का एक जना साथीको बराबर अंक ल्याएका थिए ।

होम ट्यूसन पढाएर खर्च टार्थे

उच्च शिक्षा अध्ययन गर्न ढुङुगाना काठमाडौँ पुगे । चित्रचन्द्र कलेजबाट आइएसी अध्ययन पुरा गरे । किनकी ऊबेला पढाइमा अब्बल विद्यार्थीले साइन्स नै अध्ययन गर्नुपर्छ भन्ने मान्यता थियो । तर आएसी सकिएपछि उनले विज्ञान विषय अध्ययन गर्न पाएनन् । आइएसीपछि मेडिकल शिक्षा अध्ययनको तयारी गरे । तर न वीएसी पुरा गरे न त मेडिकल शिक्षा । आइएसी सकिएपछि घरमा आर्थिक मन्दी प¥यो । त्यसपछि उनले खर्च टार्न होम टिउसन पढाउन थाले । केही समय होम ट्यूसन पढाएरै खर्च टारे । त्यही बेला उनले जागिर खाने सोच बनाए । नेपालगञ्जमा जागिर भएपछि महेन्द्र बहुमुखी क्याम्पसबाट वीवीएस पुरा गरे । त्रिभूवन विश्वविद्यालयबाट अर्थशास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर पुरा गरे । २०७२ तिर चीनको बेइजिङ विश्वविद्यालयले विश्वभरका कर्मचारीलाई छात्रबृत्तिको प्रतिस्पार्धा गरायो । त्यो प्रतिस्पर्धामा उनी सफल भए । त्यसपछि बेजिङ विश्वविद्यालयमा अन्तर्राष्ट्रिय व्यापार प्रशासनमा समेत स्नातकोत्तर पुरा गर्ने मौका पाए । विदेशमा अध्ययन गर्न पाउँदा उनी जीवनमा सबैभन्दा खुशी भएका थिए ।

एकै पटक ६ पदमा लोकसेवा पास भए

ढुंगानाले निजामति सेवामा प्रवेश गर्नका लागि वीएसी र मेडिकल शिक्षा अध्ययन गर्ने सपना त्यागे । तर निजामतिको जागिर खान सहज थिएन । करिव एक वर्ष काठमाडौँमै होम ट्यूसन पढाएर लोकसेवा अध्ययन गरे । पढाइमा सानैदेखि अब्बल उनलाई लोकसेवा पास गर्न कठिन भएन । २०६१ सालमा खरिदार स्तरका ६ वटा पदमा लोकसेवा आयोगको परीक्षा दिए । संयोग भनौँ या अब्बलता उनी ६ वटै पदमा सफल भए । एकै सालमा न्याय, प्रशासन, लेखा, लेखापरीक्षण, संसद सेवा र राजश्वको लिखित परीक्षामा पास गरे । तर २०६१ सालदेखि चक्रप्रसाद ढुंगाना अधिकृत, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र, काठमाडौं जिल्ला अदालत काठमाडौँ निजामति सेवामा प्रवेश गरे । २०६२ सालमा सुब्बाको परीक्षामा उत्तिर्ण भएपछि आन्तरिक राजश्व कार्यालय नेपालञ्जमा सेवा गरे । २०६७ सालमा पुनः एकै पटक तीन वटा पद (राजश्व, लेखा र लेखापरीक्षण)मा अधिकृत पदको परीक्षाको सफल भए । त्यो बेला उनले राजश्व क्षेत्र रोजेर राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलमा सेवा गरे । त्यसपछि आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर र हाल सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र (प्रशिक्षक) रुपमा कार्यरत छन् ।

परिवार नै निजामतिमा

निजामति क्षेत्र पावर र पैसाभन्दा पनि क्षमता र योग्यताले जागिर खान सक्ने थलो हो । हालसम्म लोकसेवा आयोगले लिन परीक्षा निश्पक्ष र परदर्शीता हुन्छ भन्ने आम नागरिकको विश्वास छ । अर्कोतर्फ निजामति क्षेत्र ढुक्कको जागिर पनि हो । यही कारण अधिकांश व्यक्तिको रोजाइमा निजामतिको जागिर पर्छ । ‘निजामतिको जागिर खान पावर र पैसा चाहिदैन, क्षमता भए पुग्छ’ उनी भन्छन्, ‘भनसुन नलाग्ने भएकै कारण परिवारले नै निजामित क्षेत्र रोजेका छौँ । यही कारण उनका तीन दाजुभाई र एक बहिनी निजामति क्षेत्रमा छन् । अवकाशपछि सामाजिक सेवामा रमाउने ढुंगानाको चाहान छ ।

तपाईको प्रतिक्रिया