सडक मानवमुक्त कर्णालीः एक वर्षमा ७७ जनाले पाए नयाँ जीवनसँगै आफन्त र परिवार

सुर्खेत, २० मंसिर ।

एकवर्ष अघिसम्म भेरी नगरपालिका जाजरकोटका बमबहादुर जोगीको जीवन मरेतुल्य थियो । मानव भएर पनि मानव थिएनन् । उनको जीवन पशु सरहको थियो । खाने र बस्नको कुनै ठेगान थिएन । रातदिन सडकमै भौतारिन्थे । भोक लाग्दा खाना र प्यास लाग्दा पानी पाउँथेनन् । पुस माघको जाडो होस् या चैत बैशाखको गर्मी । आकाशलाई शिरक र जमिनलाई विस्तरा बनाए निदाउनु पथ्र्याे उनले । कयौँ दिन त भोकमोकै बसे । मागेर सास बचाएका थिए । मानवदेखि उनी तिरस्कृत थिए । सबैले उनलाई छि– छि र दुरदुरको व्यवहार गर्थे । तर २०७६ कात्तिक २४ गतेदेखि भने उनले नयाँ जीवन पाए । सडकबाट उनी छानोमुनी पुगे ।

जीवनका सबै दुःखहरु एकाएक हराए । शरीरको दुर्गन्ध हट्यो । सफा र चिरिच्याट्ट बन्ने ठाउँ पाए । खान र बस्नको कुनै समस्या भएन । कात्तिक २४ गते उनलाइ मानव सेवाआश्रम सुर्खेतले पुनर्जन्म दियो । हाल उनी आश्रमकै संरक्षणमा दुःखपछिका सुनौला जीवन विताइ रहेका छन् । त्यस्तै नारायण नगरपालिका दैलेखका टिकाराम बुढामगरको अवस्था पनि बमबहादुरको जस्तै थियो । वर्षाैदेखि उनले सडकमै जीवन विताइ रहेका थिए । घरपरिवार र गाउँ समाज उनका लागि विरानो थियो । जीउँदो भएर पनि उनको जीवन मरेको सरह थियो । मानव समाजदेखि तिरस्कृत थिए । तर २०६६ भदौ ३ गते टिकारामले पनि नयाँ जीवन पाए । भोक लाग्दा खाने, प्यास लाग्दा पीउने र निद्रा लाग्दा सुत्ने ठाउँ पाए । मानव सेवाअश्रमले उनलाई पुनर्जन्म मात्रै दिएन, गाउँसमाज र आफन्ती पनि भेटाइदियो ।

केही महिनाको सेवापछि उनको आफ्नै घरपरिवारसँग पुनर्मिलन भयो । हाल उनी आफ्नै घरपरिवारमा परिवारसँग बस्दै आएका छन् । १० महिना अघिसम्म वीरेन्द्रनगर सुर्खेतका दिपक ढकालको अवस्था पनि बमबहादुर र टिकारामको जस्तै थियो । उनको दैनिकी पनि निकै कष्टकर थियो । शरिर छोप्ने गतिलो कपडा थिएनन् । सडककै गास र सडककै बास थियो । दिनहुँ शहरका गल्लीमा भौंतारिन्थे । आफन्त र साथीभाईबाट उनी टाढै थिए । तर २०७६ माघ ३ गते उनले नयाँ जीवन पाए । उनलाई पनि मानव सेवाअश्रमलाई नयाँ जीवन दियो । केही महिनाको हेरचाहपछि परिवारसँग पुनर्मिलन बनायो । हाल उनी पनि परिवारसँग आफ्नै घरमा छन् ।

यसरी पाउने बमबहादुर, टिकाराम र दीपक मात्रै होइनन् । वितेको एक वर्षको अवधिमा मानव सेवाआश्रम सुर्खेतले कर्णालीका ७७ जना नागरिकलाई नयाँ जीवन दिएको छ । पशुसरह सडकमा भौतारिएका, घरपरिवार र समाजबाट तिरस्कृत भएका ७७ जना नागरिकलाई सडकबाट घरमा पु¥याइएको हो । सम्भ नागरिक भएर बाँच्न सिकाएको छ । परिवार र आफन्तसँग पुनर्मिलन गराएको छ ।

आश्रममा चुनौतीका चाङ

सडक मानवको रेखदेख गर्नु सरकारको दायित्व हो । तर मानव सेवा आश्रममा राज्यको लगानी छैन । सडक मानवमुक्त प्रदेश घोषणा गर्नुअघि कर्णाली प्रदेश सरकारले आश्रमलाई २० लाख रुपैयाँ उपलब्ध गराएको थियो । त्यो बाहेके प्रदेश सरकारको लगानी छैन । त्यस्तै वीरेन्द्रनगर नगरपालिकाले आश्रमको भासिक भाडा तिर्दै आएको छ । आश्रमको मासिक भाडामात्रै ५० हजार छ । तर यसबाहेक आश्रममा आश्रितहरुको लागि खाना, लत्तकपडा, स्वास्थ्य उपचार र सरसफाइ लगायतका आधाभूत काममा लाखांै खर्च हुन्छ । आश्रममा हाल ४३ जना आश्रित छन् । उनीहरुको लागि एक लाखदेखि एकलाख ५० हजार रुपैयाँसम्म मासिक खर्च हुन्छ । नगरपालिकाले मानव सेवा आश्रमको भवनका लागि मासिक ५० हजार रुपैयाँ भाडा उपलब्ध गराउँदै आएको आश्रमकी संयोजक वलीले जानकारी दिइन् । बाँकी रकम दाताहरुले सहयोग उपलब्ध गराउँदै आएका छन् ।

आश्रममा जन्मदिन, विवाह, ब्रतबन्ध, चौरासी, वैवाहिक कार्यक्रम, वार्षिकी, पितृकार्य जस्ता कार्य गरेर एक छाक खुवाएर सहयोग गर्ने गरेका हुन् । आर्थिक वर्ष २०७६÷०७७ मा दाताबाट संकलन भएको ४५ लाख पाँच हजार ३५ रुपैयाँ आश्रितको सेवामा खर्च गरेको छ । आश्रमले एक वर्षको अवधिमा सडक मानवलाई उद्दार गर्नुको साथै विभिन्न उत्पेरणात्मक तालिम, स्थानीय तहसँग समन्वय तथा सहकार्य गर्दै आएको जनाएको छ । आश्रमलाई सरकारले सञ्चालन गरको भन्ने भ्रमका कारण सहयोगी दाताहरु घटेको, स्थानीय तहले सहयोग उपलब्ध गराउने बाचा गर्ने तर सहयोग उपलब्ध नगराउने, स्वास्थयकर्मीको अभावमा रोगी र बृद्ध अश्रितलाई दैनि स्वास्थ्य सेवा दिन नसकेको र कर्णाली प्रदेश सडक मानवमुक्त भएको एक र्ष पुग्दा पनि त्यसको समिक्षा नहुँदा आश्रम सञ्चालनमा चुनौतीहरु छन् ।

४४ जना घर फर्किए

सडकमा भौतरिनेहरुलाई सभ्य नागरिकको जीवन जीउन सिकाएको मानव सेवा आश्रमले एक वर्षको अवधिमा ४४ जनालाई परिवारसँग पुनर्मिलन गराएको छ । बर्षाैदेखि परिवारबाट छुटिएका उनीहरु पुनर्जन्म लिएर घर फर्किएका छन् । मानसिक तथा अन्य कारणले सडकमा भौतिरिक बाध्य भएकाहरु परिवारसँग पुनर्मिलन हुन पाउँदा आफूले पुनर्जन्म पाएको बताउँछन् । परिवारसँग पुनर्मिमन हुनेहरुमा मुगुका राजु मल्ल र विपना मल्ल, रुकुमपश्चिमका तलवीर रावल, राजेश खत्री, चिरन्जीवी चन्द, सुर्खेतका सत्या शाही, जैसवार सुनार, भोजप्रसाद भट्टराई, शुक्रराज लिम्बु, केशव केसी, विन्द्रा सिंह, सुरेन्द्र शाही, पुण्यप्रसाद न्यौपाने, सुनसरी खड्का, महिमती मगर, दिपक ढकाल, ध्वनीश्वरा सुनार र सेतु बुढामगर छन् ।

यस्तै मनिसा सुना, सन्तले दुमाई, रामबहादुर थारु, गंगा भट्टराई, सीता भट्टराई, प्रेम नेपाली, मधुकर सुनार,महेन्द्र नेपाली, सुक्मा नेपाली, सीताराम नेपाली, गगन विक, रविउन विसी, विष्णा थापा, शोभा नेपाली, विमा रसाइली, अमला नेपाली, छवबहादुर खत्री, सल्यानका बोक्चो सुनार, दैलेखका भद्रकला कामी, टिकाराम बुढामगर र अभिषेक मानव छन् । सडकबाट उद्दार गरेपछि लामो समयको औषधि उपचार तथा सामाजिक मनोपरामर्शबाट पहिलेकै अवस्थामा फर्काइएको हो । मानसिक तथा शारीरिक रुपमा स्वस्थ्य भएपछि हाल उनीहरु परिवारसँग बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया