परिवारले नै विहेको टुंगो लगाइदिए

एउटा भनाइ छ । विहेका लागि जोडी भगवानले माथिबाटै बनाएर पठाएका हुन्छन् रे । नजिक होस् वा टाढा । आफ्नो होस् वा बिरानो । लेखिएको कुरा भएरै छोड्छ । भन्छन् नि, किस्मतमा लेखिएको कुरा मेटाउन पनि सकिदैन । यस्तै किस्मतमा लेखिएपछि विहे गरे हरेन्द्र केसी र कल्पना केसीले । कल्पनाको आनीबानी र पढाइले हरेन्द्रको मन जितिसकेको थियो । नचिन्दै मन जितेकी कल्पनालाई हरेन्द्रले जीवनसाथी बनाउने अठोट गरे र सफल पनि भए ।

परिवारको सहमतिमा विहे

हरेन्द्र स्नातकोत्तर तहको पढाइ सकेर काठमाडौंबाट घर आएका थिए । उनी घर आउना साथ घरमा उनको बिहेको कुरा चल्न थाल्यो । केसीलाई बिहे गर्ने मन थिएन । तर घरपरिवारको दबाबमा उनले विवाह नगरी नहुने परिस्थिति सिर्जना भएपछि उनले धेरै ठाउँमा केटी हेरे । तर, उनलाई कोही पनि मन परेनन् । हेरेका मध्ये कोही केटी मन नपरेपछि उनलाई उनको साथीले एकजना केटीलाई देखाए ।
त्यही केटीलाई केसीले हेरे पनि । हेर्दा सुन्दर लाग्यो । तर, आनीबानी कस्तो थियो ? केसीका लागि त्यो कुरा भने जान्नैपर्ने भयो । उनलाई साथीले देखाएको केटी अरु कोही नभएर कल्पना थिइन् । केसीले कल्पनालाई टाढैबाट राम्रोसँग चिने । केटीको आनीबानी र पढाइसमेत राम्रो भएकाले विवाहको लागि उनले घरपरिवारलाई कल्पनाको घरमा माग्न पठाए । कल्पनाको घरमा पनि केटा राम्रो भएकाले छोरी दिने निर्णय भयो । कल्पनालाई पनि बाबुआमाले रोजेको केटा नै आफ्नो जीवनसाथीको रूपमा स्वीकार गरिन् । दुवैको घरपरिवारको सहमतिमा उनीहरूको २०६९ सालमा मागी विवाह भयो ।

रमाइलो बाल्यकाल

पिता हरिबहादुर केसी र माता जमुनादेवी खत्रीको कोखबाट २०३९ सालमा सुर्खेतमा जन्मिएका हरेन्द्र केसीको बाल्यकाल रमाइलोसँग बित्यो । बाल्यकालमा साथीहरूसँग खेल्न जान पाए उनलाई केही चाहिँदैनथ्यो । घरको कान्छो छोरा भएकाले पनि सबैको माया ममतामा हुर्किएका केसी घरमा पालेको गाई चराउने निहुँमा खोलामा पौडी खेल्न जाने गर्थे । उनले भने, ‘घरबाट खेल्न जान दिनुहुन्थ्यो, गाई चराउने निहुँ पारेर इत्राम खोलामा पौडी खेल्न जाने गर्थें ।’ बाल्यकालमा डण्डीवियो, पिटी खेल खेल्न उनलाई औधी रुची थियो । घरबाट खेल्न जान नदिए पनि बाहना बनाइ–बनाइ खेल्न जाने गर्थे । उनी साथीहरूसँग खेल्न गएपछि साझ घरबाट लिन गए पछि मात्र फर्कन्थें ।

पढाइ

बाल्यकालमा हरेन्द्र अलि लजालु स्वभावका थिए । झट्ट अरुसँग बोल्ने स्वभाव उनको थिएन । तर, पढाइमा भने उनी अगाडि नै हुन्थे । शिक्षकहरूको नजरमा सधैं इमान्दार र राम्रो विद्यार्थीको रूपमा गनिन्थें । उनले विद्यालयमा पढ्दा इमान्दारिताको पुरस्कार पनि धेरै पाएका थिए । कक्षा १ देखि एसएलसीसम्म अमरज्योति माविमा पढेको केसीले कर्मस विषयमा ब्यार्चुलर पास बहुमुखी क्यापसबाट पास गरे । उनले डिग्री भने काठमाडौंबाट गरेको हुन् ।

बाल्यकालमा भविष्यमा शिक्षक बन्छु जस्तो लागेको थिएन उनलाई । आफ्नो लजालु स्वभावका कारण शिक्षक बनेर धेरै विद्यार्थीहरूको माझमा बोल्न सक्दिन होला जस्तो लाग्ने गथ्र्यो । तर, पछि समयसँगै समाजसेवामा लागे पछि उनी बाहिरी व्यक्तिहरूसँग पनि घुलमिल गर्न सहज भए पछि उनको लजालु स्वभाव हट्दै गयो । स्नातक पढ्दा उनले बोर्डिङ्ग स्कुलमा पढाउँदै पढ्दै गर्दा शिक्षक पेसाप्रति रुची बढ्दै गयो । शिक्षक भएर विद्यार्थीलाई पढाउँदाको आनन्द छुट्टै प्रकारको हुने उनको भनाइ छ । शिशु कक्षादेखि पढाउन सुरु गरेको केसीले उनी हाल मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा उपप्रध्यापक हुन् । सिद्धपाइला क्यापसको सञ्चालक समेत हुन् । यस्तै उनी २०१७ को वीरेन्द्रनगर जेसिजको अध्यक्ष पनि हुन् । साथै सामाजिक काममा पनि उनी अग्रस्थानमा नै छन् ।

यस्तै पिता दलबहादुर केसी र माता लक्ष्मी केसीको कोखबाट २०४३ सालमा सुर्खेतमा जन्मिएकी कल्पनाको बाल्यकाल रमाइलोसँग बित्यो । ६ भाइबहिनी मध्येकी जेठी छोरी थिइन् । बाल्यकालमा लजालु स्वभावकी कल्पना घरको काम र पढाइ बाहेकको काममा उनी लाग्दैन थिइन् । कसैले मन दुखाउने कुरा ग¥यो भने रोइहाल्ने स्वभावकी थिइन् । कक्षा एकदेखि पाँचसम्म बालमन्दिरमा पढेकी कल्पनाले कक्षा ६ देखि एसएलसी पास भने इत्राम स्कुलबाट गरिन् । त्यसपछि उनले शिक्षा क्यापसबाट नै डिग्री पास गरिन् । उनले अहिले सुर्खेत शिक्षा क्याम्पसमा अध्यापन गराउँछिन् । उनीहरुहरुले ज्योति विद्या सदन स्कुल पनि सञ्चालन गरिरहेका छन् ।

घरको काममा सहयोग

यो जोडी फुर्सद भएसम्म घुम्न पनि जाने गर्छन् । केसीले फुर्सदको समयमा कल्पनालाई घरको काममा सघाउने पनि गर्छन् । विवाहपछि यो जोडी एकआपसमा धेरै समय रिसाउने गरी कहिल्यै झगडा गरेनन् । उनीहरू भन्छन्, ‘श्रीमान् श्रीमतीको झगडा परालको आगो हो, एकै छिनमा निभी हाल्छ ।’ भन्छन्, नि आगो पनि नठोसेसम्म बल्दैन । श्रीमान् श्रीमतीको झगडा पनि त्यस्तै हो, सम्बन्धलाई दिगो बनाउन कहिले काहिँको झगडाले पनि सहयोग गर्छ । जहाँ झगडा हुन्छ त्यहाँ माया पनि गाढा हुन्छ ।

सम्बन्धमा विश्वास हुनुपर्छ

दाम्पत्य सम्बन्धलाई दिगो र सफल बनाउनको लागि श्रीमान् श्रीमती बीचमा विश्वासको डोरी बलियो हुनुपर्दछ । जबसम्म एकअर्काे बीचमा समझदारी र विश्वास हुँदैन तबसम्म सम्बन्ध दिगो पनि हुँदैन । त्यसैले एकअर्काेबीचमा विश्वासको डोरी बलियो बनाइ राख्नुपर्छ । सम्बन्धमा शंका र उपशंका उत्पन्न भयो भने पनि सम्बन्ध दिगो नहुने उनीहरूको भनाइ छ ।

खुलेरै एकअर्काको प्रशंसा

यो जोडी एकअर्काेको प्रशंसा पनि खुलेरै गर्छन् । केसीलाई कल्पनाको लामो समयसम्म नरिसाउने र आफूलाई विश्वास गर्ने बानी मनपर्छ । केसीलाई कहिलेकाँही कम बोल्ने र लजाउने स्वभाव हटाइदिए हुन्थ्यो जस्तो पनि लाग्ने गर्छ । त्यस्तै कल्पनालाई पनि केसीको सबै बानी मनपर्छ । कहिलेकाहीं कुरा नबुझेर बोल्ने बानीले अरुको मन दुख्नसक्छ भन्ने नसोचेरै बोल्ने बानी हटाइ दिए हुन्थ्यो जस्तो लाग्ने गर्छ । कल्पनाले भनिन्, ‘उहाँको मनमा पाप छैन, त्यसैले पहिला नै झट्ट बोलिहाल्नुहुन्छ । तर, कहिलेकाहीं त्यही बोलीले गर्दा अरुको मन दुख्न पनि सक्छ, त्यो नसोचेरै बोल्नु हुन्छ यो बानी चाहिँ हटाउनै पर्नेछ ।’

जीवन संघर्ष हो

उनीहरूको अनुसार जीवन भनेको संघर्ष हो । हरेक मान्छेको जीवनमा संघर्ष हुन्छ नै । तर, जीवनमा एक्लै गरेको संघर्षभन्दा जीवनसाथी मिलेर गरेको संघर्षले छिटो प्रतिफल पाइन्छ र सफल पनि भइन्छ । जीवनसाथी भनेको एकअर्काेको सास हो । उनीहरू भन्छन्, ‘जीवनसाथी भनेका एकअर्काेको श्वासप्रश्वास हुन्, जो एकअर्काे विना अधुरो अपुरो हुन्छन् ।’ जसरी श्वास विना प्राण रहँदैन, त्यस्तै जीवनलाई पूर्णता दिनको लागि जीवनसाथीको आवश्यकता पनि पर्दछ ।

तपाईको प्रतिक्रिया