आफ्नै सुरक्षा संगठन बनाउँदै मध्यपश्चिमाञ्चल विश्वविद्यालय

सुर्खेत, १९ मंसिर ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले आफ्नै सुरक्षा संगठन बनाउने तयारी गरेको छ । विश्वविद्यालयको रेखदेख तथा आन्तरिक सुरक्षा गर्ने उद्देश्यले सुरक्षा संगठन तयार गर्ने प्रक्रिया थालिएको हो । विश्वविद्यालयले गठन गर्ने सुरक्षा संगठन अन्य शैन्य दस्ता नभई विश्वविद्यालयको आन्तरिक सुरक्षामा मात्रै खटिने छ ।

सुरक्षा संगठनले विश्वविद्यालयको भौतिक सम्पत्तिको संरक्षण, क्याम्पस तथा प्रशासनिक निकायमा सुरक्षा प्रदान गर्नेछ । जसका लागि विश्वविद्यालयले सुरक्षा निकाय गठन गर्ने प्रस्ताव आगामी विश्वविद्यालयको सभा (सिनेट) मा लिने तयारी गरेको छ । विश्वविद्यालले यही मंसिरको अन्तिम सातामा आगामी सिनेट गर्ने तयारी थालेको छ । सिनेटमा सुरक्षा संगठन सम्बन्धी प्रस्ताव आगामी सिनेटमा लैजाने तयारी भएको विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले जानकारी दिए ।

‘विश्वविद्यालयको आन्तरिक सुरक्षा र भौतिक सम्पत्ति संरक्षणका लागि सुरक्षा संगठन आवश्यक छ’ उपकुलपति सिंहले भने, ‘आगामी सिनेटमा सुरक्षा निकाय गठनको प्रस्ताव पेश हुनेछ ।’ सिनेटले सुरक्षा संगठन तयार गर्ने प्रस्ताव पास गरेको खण्डमा विश्वविद्यालयको आन्तरिक सुरक्षा युवा र दक्ष जनशक्तिको हातमा पुग्नेछ । शैन्य तालिम प्राप्त र ५० वर्ष उमेर मुनीका जनशक्तिलाई मात्रै सुरक्षा संगठनमा प्रवेश गराइने छ । ‘सुरक्षा संगठनमा प्रवेश गर्ने व्यक्ति सुरक्षा संगठनबाट रिर्टायर व्यक्तिहरु हुन्छन्’ उनले भने, ‘५० वर्ष कटेका र तालिम नलिएका व्यक्तिलाई सुरक्षा संगठनमा प्रवेश पाउँदैनन् ।’

जसमा पूर्व नेपाल आर्मी, नेपाल प्रहरी, भारतीय सेना वा जुनसुकै देशमा मान्यताप्राप्त सुरक्षा संगठनमा काम गरेका र युवा जनशक्तिलाई सुरक्षा संगठनमा भर्ना गरिने छ । त्यस्तै १८ वर्षदेखि ५० वर्ष उमेर समूहका तर मान्यताप्राप्त संस्थाबाट सुरक्षा तालिम लिएका व्यक्तिले पनि सुरक्षा संगठनमा प्रवेश पाउने छन् । सुरक्षा संगठनमा प्रवेश पाउन अनिवार्य रुपमा साक्षर हुनुपर्ने छ । सुरक्षा संगठनको आफ्नै ट्रेसकोर्ट हुने छ । उसो त अहिले पनि विश्वविद्यालयमा पाले र कार्यालय सहयोगीका रुपमा काम गर्ने जनशक्तीहरु कार्यरत छन् । तर ति जनशक्ति विश्वविद्यालयले नियुक्त गरेका नभई क्याम्पस तथा दोस्रो निकायले करार सम्झौता गरेका हुन् ।

विश्वविद्यालयले सुरक्षा निकाय बनाएपछि हाल करार सम्झौतामा काम गर्र्दै आएका सहयोगीहरु स्वतः हट्ने छन् । विश्वविद्यालयले अहिले पनि आन्तरिक सुरक्षा तथा क्याम्पसको रेखदेखमा लाखौँ रकम खर्च हुँदै आएको छ । तर करार सम्झौतामा काम गरिरहेका पाले तथा कार्यालय सहयोगीले भने न्यूनतम पारिश्रमिक समेत पाउँदैनन् । सुरक्षार्थ खटिने व्यक्तिको रकम दोस्रो निकायले कमिसनका रुपमा खादै आएका छन् । विश्वविद्यालयले सुरक्षाको लागि छुट्याको सबै बजेट ति पाले तथा कार्यालय सहयोगीले पाउँदैनन् ।

सिनेट काठमाण्डौमा हुने

मध्यपश्चिम विश्वविद्यालयले यही मंसिर ३० गतेको वरिपरी काठमाण्डौमा नै सिनेट गर्ने तयारी गरेको छ । ‘सिनेटका लागि सबै तयारी सकिएको छ, मंसिर ३० गतेसम्म सिनेट बस्छ’ विश्वविद्यालयका उपकुलपति सिंहले भने, ‘कुलपति (प्रधानमन्त्री) को कार्य व्यस्तताका कारण आगामी सिनेट काठमाण्डौमै हुन्छ ।’ कोरोनाको विशेष परिस्थिति र उपकुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत आउन नसक्ने भएका कारण काठमाण्डौमै सिनेट गर्ने तयारी छ । ‘विश्वविद्यालय जहाँ छ, त्यही ठाउँमा सिनेट हुनुपर्छ । तर योवर्ष समय अनुकुल छैन’ उनले भने, ‘कुलपति र मेरो चाहना सुर्खेतमै सिनेट गर्नुपर्छ भन्ने थियो, तर कुलपतिका लागि समय अनुकुल नभएपछि यो सिनेट काठमाण्डौमै बस्छ ।’

सिनेटको तयारीका लागि हिजोआज उपकुलपति काठमाण्डौमै व्यस्त छन् । ‘सिनेटको लागि म काठमाण्डौमा आएको छु, विश्वविद्यालयको तर्फबाट सबै तयारी पुरा भएको छ’ उनले भने, ‘एक÷दुई दिनमै कुलपतिसँग समय फिक्स गरेर म सुर्खेत फर्कन्छु ।’ यो विश्वविद्यालय सुर्खेतमा रहे पनि सिनेट काठमाण्डौंमा हुने गरेको भन्दै यसअघि निकै आलोचना हुने गरेको थियो । बारम्बार आलोचना भए पनि यसपाली पनि सिनेट काठमाण्डौमै हुन लागेको हो ।

उपप्राध्यापकले पनि ५० बर्षसम्म सेवा प्रवेश पाउने

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा उप–प्राध्यापकले पनि ५० वर्षसम्म सेवा प्रवेश पाउने कानुनी बाटो खोलिने भएको छ । हाल विश्वविद्यालयमा सह–प्राध्यापक र प्राध्यापकले मात्रै ५० बर्षसम्म सेवा प्रवेश पाउने प्रावधान छ । तर उप–प्राध्यापक र अन्य कर्मचारीको हकमा भने ४५ वर्ष उमेर हदबन्दी तोकिएको छ । सेवा प्रवेशमा उप–प्राध्यापकलाई उमेर हद कम गरेर विभेद गरिएको भन्दै आगामी सिनेटमा उप–प्राध्यापकले पनि ५० वर्ष उमेरसम्म सेवा प्रवेश पाउने कानुनी बाटो खोलिने भएको हो ।

उप–प्राध्यापकले पनि ५० वर्ष उमेरसम्म सेवा प्रवेश पाउने प्रस्ताव सिनेटले पास गरेको खण्डमा उप–प्राध्यापक, सह–प्राध्यापक र प्राध्यापक सबैले समान अर्थात ५० वर्षको उमेरसम्म सेवा प्रवेश पाउने छन् । यसअघि कानुनमै सेवा प्रवेशमा उप–प्राध्यापकलाई विभेद गरिएको थियोे । सिनेटले सेवा प्रवेशको उमेर हद ४५ बाट बढाएर ५० पु¥याएको खण्डमा विविध कारणले अध्ययन÷अनुसन्धान गर्न नभ्याएका उप–प्राध्यापकलाई ठूलो राहत मिल्नेछ ।

बेथितीको खाडल पुर्ने तयारी

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विकृतिको ठूलो खाडल छ । अयोग्य कर्मचारीको नियुक्तीदेखि शैक्षिण गुणस्तर खस्कीएको लगायतका थुप्रै विकृतिले जरा नै गाडेका छन् । यतिसम्मकी वीइ अध्ययन गरेकै जनशक्तिले पनि वीईलाई नै पढाउँछन् । विकृतिको खाडल यतिमात्रै छैन । विश्वविद्यालयमा कुनै पनि संकायको डीन हुनको लागि १५ वर्ष सेवा अवधि पुरा गरेको प्राध्यापक वा सहप्राध्यापक हुनुपर्छ । तर विश्वविद्यालयले केही समयअघि भने इन्जिनियरिङ संकायको डीनको लागि भने आठ वर्ष सेवा अवधि पुरा गरेको व्यक्ति डीन हुन पाउने व्यवस्था ग¥यो । कानुनमै नभएको र गुणस्तर खस्काउने गरी आठ वर्ष सेवा गरेका व्यक्तिलाई डीन बनाइएपछि यो मुद्दा अख्तियारसम्म पुगको थियो । आगामी सिनेटमा भने १५ वर्ष सेवा अवधि पुरा भएपछि मात्रै डीन हुन पाउने प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।ं

तपाईको प्रतिक्रिया