हरेक नारी खाली हात खाली मुख हुन नपरोस्

गौरी घर्ती
भेरीगंगा न.पा.–७, सुर्खेत

सबैको जिन्दगी आफैमा अर्थपूर्ण हुने गर्दछ । जिन्दगीको हरेक घडी हरेकका लागि महत्वपूर्ण हुन्छ । त्यसै एउटा छोरीको तमाम जिन्दगीमा उसले दर्दनाक चुनौती झेल्नु परेको छ । एकातिर समाजमा छोरी कमजोर हुन्छन् भन्ने नकारात्मक भाव राखिएको हुन्छ । छोरीले केही गर्न सक्दैनन् र गरेपनि सुहाउँदो हुँदैन भन्ने चलन रहेको पनि देखिन्छ । छोरीले इज्जत राख्नु पर्छ, छोरीले ठूलो स्वरमा बोल्न हुँदैन, छोरीले इज्जत ढाक्ने चोली र धोती पहिरिनुपर्छ, छोरीले घमण्ड गर्नु हँुदैन, छोरीले सोचेर बोल्नु पर्छ, छोरीले घोकेर बोल्न पर्छ, छोरी घरभित्र सीमित हुनपर्छ, छोरी कुल्चिएर बस्नु पर्छ, छोरी पिल्सिएर बस्नु पर्ने हुन्छ जस्ता कुबिचारले पाश्चात्य जीवन शैलीमा नारीलाई धेरै असर परेको छ ।

पुरुषरुषवादी मानसिकता बोकेर बाँचिरहेका साथीहरु, केटा साथीहरु जो बुबा, दाई र लोग्नेहरूले नै एउटा छोरी, बहिनी र श्रीमतीलाई यस्तो बन्धनमा बाँधिदिएका हुन्छन् कि जसलाई पार गर्दै गर्दा सम्बन्धलाई बन्धक राख्नु पर्छ । या त आफ्नो शरीर, इच्छा र चाहनाहरुलाई बन्धक बनाएर अगाडी बढ्नुपर्ने हुन्छ । एउटा छोरीलाई उसको तमाम जिन्दगीमा चुनौतीपूर्ण कठिनाईहरू आइरहँदा उसलाई कठिनका साथ जिन्दगीलाई सामना गर्नु परेको हुन्छ । हाम्रो समाजमा छोरी जातलाई हेरिने नजर अझै पनि तल्लो स्तरको रहेको छ । समाजमा रहेर सामाजिक नियमलाई पालना गर्नुपर्ने हुन्छ भनिएको हँुदा त्यसै कारण पाश्चात्य जीवन शैलीमा नारीले धेरै ठाउँमा अन्याय र अत्याचारको सिकार बन्नु परेको हामीले सुनेका र देखेका छौं । कोही जातिय विभेद, कोही गरिबी र टुहुरो भएकै कारणले समाज र परिवारको सिकार बन्न पुग्छन् । नेपाली समाजको कुसंस्कार र कुदृष्टिले गर्दा एउटा नारीको तमाम जिन्दगीमा हिंसा, दमन, शोषण र अन्याय फस्टाउँदै गएको छ ।

समाजमा रहेर समाजमा रहेका अन्य प्रशंगहरु लिएर अर्की नारी हिंसाको सिकार बन्न पुग्छे । बिना कारण एउटी नारी समाजको नजरमा आशंकित र आरोपित हुन पुग्छे । यस्तै कैयौं निर्दोष महिलाले आरोपित भई असह्य हँुदा हत्या जस्ता डरलाग्दा बाटोहरू रोज्न पुगेका छन् । यस्ता घटनाहरू हामीले श्रव्य, दृश्य गर्न सक्छौ । नारी कमजोर हुँदैनन्, नारी पनि परिवार, समाज र राष्ट्रको लागि लड्न सक्छिन्, नारी पनि परिवारको एक पाटो हो, नारी पनि सिंगो देश चलाउन सक्छे, नारी पनि बन्दुक बोकेर हिड्न सक्छे, नारी पक्कै कमजोर हुँदैनन्, छोरीले पनि आम नेपाली जनताको सुरक्षा गर्न सक्छे भन्ने कुरा हामीले आफ्नै आँखाले प्रत्यक्ष रुपमा देख्न सक्छौं ।

वास्तविक जीवनको भावनामा डुबेर कैयौं छोरी घर विहिन भएका छन् भने कैयौं दिदी–बहिनीले देश छाडेर बिदेशीनु परेको छ, कैयौं छोरी बलात्कृत भएकी छिन् भने कैयौं छोरी प्राण त्याग गर्न बाध्य भएकी छिन् । हाम्रो समाजमा छोरी कमजोर हुन्छन् भन्ने नकारात्मक भाव किन राखिएको छ ? बृहत् खोजतर्फ लाग्ने हो भने शिक्षामा निखारता आएको छैन र भेटिँदैन पनि । एउटा नारीको कोखबाट जन्मिएका पुरुष नै पुरुष हुनुमा अहमता ठान्छ र अन्त्यमा ऊ अर्की नारीसँग ठोकिन्छ र त्यही नारीसँग जिन्दगी सँगै मर्ने सँगै बाँच्ने कसम खान पुग्छ । एउटा परिवारमा नारीले नै पुरुष बनाएको पुरुष फेरी पनि अर्की नारीसँग हिंसा गर्न पुग्छ ।


वास्तवमा भन्ने हो भने नारीको जिन्दगी काँडा बीच रहेको गुलाब हो । हरेक छोरीले कतै न कतैबाट आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ । अफिसमा जाँदा घरको पिर हुन्छ भने घरमा बस्दा अफिसको पिर खप्नुपर्ने हुन्छ । हाम्रो समाजमा म जस्ता थुप्रै छोरी छन् जसले आफनो जायजेथा बन्धकी राखेर हाँस्न परेको हुन्छ । पुरुषले घर र भान्साको काम गर्दा उसको खिल्ली उडाइएको हुन्छ त्यही समाजमा त्यो पुरुष लज्जित हुन पुग्छ र शिर झुकाउन पर्ने निहुमा त्यो पुरुषले नै नारीको जीवन शैलीमा धेरै नै असर पारेको हुन्छ । यसरी यस्तै कुराहरुलाई अर्कै पाटोबाट हेर्ने हो भनेदेखि नारी एउटा साधनसँग तुलना हुन्छे, नारी एउटा मेसिनसँगै तुलना हुन्छ । कठै बरा हाम्रो समाज कहिले झुल्किन्छ घैलोमा घाम ? कहिलेसम्म कुदृष्टि र कुबिचार बोकेर फोहोरी ठहरिन्छन् हामी ? कहिले हुन्छ मन उज्यालो ? कहिले हुन्छ प्रगति ?

एउटा समृद्ध र पूर्ण परिवार, समाज र राष्ट्रको लागि लड्ने नारी नै पुरुषको दमन र शोषणको सिकार कहिलेसम्म बन्नु पर्ने हो ? नारीले नै सृष्टि अडान गर्न मदत गरेको कुरा हामीले बिर्सन पुगेकै हौला त ! साथै एउटी नारी नै अर्को नारीको विरुद्ध लडिरहेका छन् र थिए पनि । एउटी आमाले आफ्नी छोरीको राम्रो भविष्य चाहन्छिन बुहारीको लागि कर्म गर्न हिच्किचाउने गर्छिन, सासुले सासुकै कर्तव्य ननिभाए तापनि मानवताको नाताले असल परिचय त दिन सक्छौ नि हामीले पनि । हरेक क्षेत्रबाट नारीले आफ्नो असल पहिचान दिनुपर्ने हुन्छ । हरेक परिवार र समाजको लागि सँधै लागिपर्नु पर्छ जसले गर्दा घर वा समाजमा असल छोरी र बुहारीको दर्जा पाउन सकुँ ।

त्यति गर्दा गर्दै पनि आम ब्यक्तिको नजरमा आशंकित र आरोपित हुन पर्छ र अपहेलना परेर अन्यायको चपेटोमा पर्नु पर्छ । नारीले नै नारीको असल कामको असल मुल्यांकन गर्ने हेक्का नराखे पुरुषवादी समाजमा हामी हिंसाको शिकार बन्न पुग्छौ । समाजमा रहेर छोरीले भोगाईमा आधारित भएर छोरीले भोगेको सामाजिक दूव्र्यवहारप्रति हामीले सच्चा नागरिकको हैसियतले औला उठाउन सक्छौँ । भनिन्छ नि जहाँ नारीलाई देवीको रुपमा पूजा आराधना गरिन्छ त्यो घरमा इश्वरको बास हुन्छ भनेर त्यसैले नारीलाई अपहेलना नगरौं । नारीले ममताका विभिन्न रुपबाट आफ्नो परिवारको सफलता संरचना गर्न सक्छे । आफू समर्पित भएर परिवारको हेरबिचार, माया, ममता, खुशी र चाहना परिपुर्तिमा आफूलाई पूर्ण रुपमा समर्पित गर्छे ।

यस्ता महान नारीको लागि दिनानुदिन नारी दिवस मनाऔं यसले हरेक परिवारमा नयाँ आयाम थप्दै जाओस् । अन्ततः नारी र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन, नारी र पुरुष एकै सिक्काका दुई पाटा हुन भने नारी र पुरुष बीचको समानता भनेको नारी पुरुष बीचमा अहमता, घमण्डको टक्राहट र लडाइँ नभई एक आपसमा समझदारी, आत्मियता, सहयोग र प्रेरणामा अघि बड्ने अघि बढ्ने शक्ति बहन गर्नुपर्छ । प्रकृतिका शुन्दर फूल नारीहरुमा अझैपनि फूल्ने, फक्रने र मगमगाउने शक्ति मिलिरहोस् र यसका लागि महिला मैत्री समाजको निर्माण हुन एकदमै जरुरी छ । हरेक नारी खाली हात खाली मुख हुन नपरोस् । नारी हिंसा, हत्या, शोषण, दमन, र अत्याचारको सिकारबाट बच्न आफू स्वयमले नै आवाज उठाउन जरुरी छ साथै ‘हिंसामा नारीको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ नारा सहित यस नारी हिंसाको अन्त्यसँगै यसै नाराले सार्थकता पाउनेछ । (लेखकका निजी बिचार हुन)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार