ताजा खबर
  

अपाङ्गताहरुको तथांक संकलन गर्ने नगरपालिकाको प्रतिवद्धता

सुर्खेत, १८ मंसिर ।

वीरेन्द्रनगर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको तथांक संकलन गर्ने प्रतिवद्धता जनाएको छ । २९ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा विहीवार सुर्खेतको वीरेन्द्रनगरमा भएको विचार गोष्ठीमा नगरप्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगरमा रहेका अपाङ्गताहरुको तथांक संकलन गरी उनीहरुको अवस्था बारे बुझ्ने प्रतिवद्धता जनाएका हुन् । अपाङ्गता भएका व्यक्तिहरुको खोजी गरी आर्थिक अवस्था कमजोर भएका अपाङ्गताहरुलाई सहयोग गर्ने उनको भनाई छ । नगरपालिकासँग प्रर्याप्त बजेट नहुँदा सबै अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान गर्न नसकिएको उनको भनाई छ ।

यस्तै, उपप्रमुख मोहनमाया ढकालले अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि नगरपालिकाले नीतिगत ढंगले अघि बढेको बताइन् । सार्वजनिक भवन, स्वास्थ्यको भवन र विद्यालयको भवन बनाउँदा अपाङ्गमैत्री भवन भएमात्र नगरपालिकाले नक्शा पास गर्ने गरेको उनको भनाई छ । अपाङ्गमैत्री नगरपालिका बनाउनका लागि सबैको सहयोग र समन्वयको आवश्यक रहेको बताइन् ।


त्यस्तै, कार्यक्रममा सहभागिहरुले अपाङ्गता भएका व्यक्तिहरु स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेको बताएका छन् । त्यसमा पनि अपाङ्गता भएका महिलाहरु बढी रहेको उनीहरुले औल्याए । अपाङ्गता भएका गर्भवती र सुत्केरी महिलालाई झन् समस्या रहेको उनीहरुको भनाई छ । उनीहरुले अपाङ्गता भएका महिलाहरु बढी हिंसामा पर्ने गरेको बताए । राष्ट्रिय अपाङ्गता महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष सुरेश खड्काले अपाङ्गता भएका व्यक्तिहरुलाई घरबाटै विभेद हुने गरेको बताए । उनीहरुको स्वास्थ्य, शिक्षामा पहुँच नहुँदा समस्या हुने गरेको उनको भनाई छ । उनले वीरेन्द्रनगरमा अपाङ्गता भएका व्यक्तिहरुको सिघ्र पहिचान हुन नसकेको बताए ।

पहुँचयुक्त शौचालय हस्तान्तरण

 अपाङ्गता भएका व्यक्तिहरुका लागि कटुकुवा स्वास्थ्य चौकीमा पहुँचयुक्त शौचालय निमार्ण गरिएको छ । निमार्ण गरिएको शौचालयको चावी २९ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा विहीवार वीरेन्द्रनगर नगर पालिकालाई हस्तान्तरण गरिएको छ । उक्त शौचालय नगरपालिका र अपाङ्ग डेस्क सुर्खेतको अगुवाई तथा यूकेएट र एचआईको आर्थिक सहयोगमा निमार्ण गरिएको हो । तीन लाख ३४ हजार चार सय ८० रुपैयाँको लागतमा उक्त शौचालय निमार्ण गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार