ताजा खबर
  

लैंङ्गिकहिंसा अन्त्य र हाम्रो भूमिका

कानुन निर्माण र सरकारी पहलले मात्र हिंसा अन्त्य हुँदैन । यसको लागी हिंसा अमानविय, असामाजिक, गैरकानुनी र मानव अधिकारविरुद्धको अपराध हो भन्ने चेतना हरेक व्यक्ति र घरभित्र पु¥याउनु पर्दछ । पीडितलाई न्याय र पीडकमाथिको कारवाही प्रकृया छिटो र प्रभावकारी हुनु पर्दछ ।

सविता राणा

Orange the World : Fund, Respond, Prevent Collect !  “लैंङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ विश्वभर लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइँदै छ । यस अभियानको पृष्ठभूमिलार्ई हेर्दा सन् १९६० मा डोमिनिकन गणतन्त्रका तत्कालिन त्रुजीलो तानाशाही सरकारले मिरावेल परिवारका प्याट्रिया, मिनर्भा र मारीया नामका तीन दिदीबहिनीको निर्मम हत्या गरेको संदर्भसित जोडिएको छ । तत्कालिन त्रुजीलो तानाशाहीको विरुद्धमा लागेका ती तीन दिदीबहिनीलाई त्यहाँका त्रुजीलो सरकारद्वारा राजद्रोहीको घोषणा गरी १९६० नोभेम्वर २५ का दिन निर्मम हत्या गरियो । उनीहरुको हत्यालाई महिलाविरुद्धको हिंसाको रुपमा लिएर उनीहरुको सम्मान र सम्झनामा नोभेम्बर २५ देखि स्मृती दिवस मनाउने परम्परा थालेपछि त्यसैको कदर गर्दै संयुक्तराष्ट्रसंघले यसलाई अन्राष्ट्रिय स्वरुप प्रदान गरी नोभेम्वर २५ लाई महिलाहिंसाविरुद्धको अन्तर्राट्रिय दिवस मनाउने निर्णय गरे पश्चात हरेक वर्ष नोभेम्वर २५ देखि १० डिसेम्वरसम्म महिला तथा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको रुपमा विश्वभर मनाउन थालियो ।

नेपालमा पनि सन् १९९७ देखि यो १६ दिने अभियान विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गरी मनाउँदै आएको छ । गत विगतका वर्षहरुमा झैं यसवर्ष पनि “लैंङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’’ भन्ने मूल नाराकासाथ कोरोनाको माहामारीको बाबजुद पनि विभिन्न सुरक्षाका उपायहरु अपनाएर देशका सबै ठाउँमा अन्तर्राट्रिय लैंङ्गिकहिंसा विरुद्धको १६ दिने अभियान २०७७ मनाइरहेका छन् । यस्ता अभियान तथा कार्यक्रमहरुको माध्यमबाट जनमानशमा हिंस विरुद्ध चेतना बढ्दो क्रममा नै छन् । तर पनि महिला र बालबालिकाविरुद्ध घरभित्र र घर बाहिर हुने हिंसाका डरलाग्दा स्वरुपहरु अधिकांश रुपमा यथावतै रहेको पाईन्छ । हरेक वर्ष विश्वका तीन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै हिंसा भोगेका हुन्छन् भने संसारभरीका ३५% महिला आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारिरीक तथा यौनजन्य हिंसाका शिकार भएका हुन्छन् भन्ने तथ्याङ्कले देखाएको छ ।

लकडाउनकै समयभित्र पनि महिला, बालबालिका माथि भएका विभिन्न हिंस्रक गतिविधि तथा क्वारेन्टाईनमै महिला, किशोरीहरु बलात्कृत भएका घटनाहरु समाचार पत्रको हेडलाइन बन्न पुगेको छ । कतिपय आत्महत्या गर्न बाध्य छन् । ती साना अवोध नानीहरुसमेत बलत्कारका शिकार बन्न पुगेका छन् । खैत न्याय ? यस्ता पासविक तथा अमानविय व्यवहार हेर्दा लाग्दैन कि हामी मानव विकासको २१ औं शताव्दीमा छौं । त्यसैले अन्यौल हुन्छु कहिलेकाहीं, महिलाहिंसा कताबाट र कुन शब्दले शुरु गरु ? सोचें ती घात, प्रतिघात, शोषण, अन्याय, अत्याचार, ती निर्दोश अवोधहरुको भयभित मुहार सबै सम्झे, अनुभूति गरे, खै के गर्न सके र ! लाग्यो भित्री आत्मादेखि । आत्मग्लानी हुँदै ती निरिह महिलाहरुको पीडा सम्झँे, भोको पेट अनि भित्रभित्रै गुिम्सएका बेदनाका ती लामा सुस्केराहरु सम्झँे, न्यायको पर्खाईमा झिनो आशा बोकेका थकित आँखाहरु, अनि आवाज विहिन कलेटी परेका ओंठका मलिन मुस्कानहरु सम्झँे । मन भक्कानियो, आँखा रसाए विचलित मनबाट पीडा छछल्कीयो ।


आधा आकाश पुरुष, आधा आकाश नारी अझै पनि किन नारी घाम झैं डाँडा पारी ? यी हामी सबै महिलाहरुका अवस्था र स्थिति हुन् । परापूर्वकालदेखि नै महिलाहरु हिंसाबाट पीडित छन् । कती हिंसाहरु सहन हुँदै गए । कतिले अन्याय सम्झे, कतिले स्वाभाविक प्रक्रिया सम्झे, घरभित्रै पिल्सिए, रोए, कराए, आत्महत्या गरे, मारिए, घरबाट निकालिए, जबरजस्ती गरिए । तर नगन्य महिला मात्र यसको प्रतिकारमा उत्रिए जसको फलस्वरुप आज हामी लैंङ्गिक हिंसा विरुद्धको यो दिवश मनाई रहेका छौं । महिला हिंसाविरुद्धको विश्व अभियान चलिरहेकै बेला यस सम्बन्धि केही प्रश्न संधैजसो हाम्रो सामु तेर्सिन पुगेका हुन्छन् । यति धेरै कार्यक्रम र अभियानहरु संचालन भईरहँदा पनि किन लैंङ्गिकहिंसा अन्त्य हुन सकेको छैन ? किन महिला हरुलाई बोक्सीको आरोप लगाउने र यातना दिने जस्ता कुकर्म थामिएका छैनन् ? किन हिंसाको रोकथाम हुन सकेको छैन ? किन विशेषगरी महिला, किशोरी अनि अवोध बालिकाहरुसमेत बलात्कार र अनेकौं यौनजन्य विकृतिको शिकार बनिरहनु परेको छ ? के महिला भएर जन्मनु दोष हो ? यी र यस्ता हजारौं सवाल छन् जुन एककाईसौं शताव्दीको सभ्य समाजमा पनि उदेकलाग्दो गरी बारम्बार उठाईरहनु परेको छ ।

उनीहरुलाई सामाजिक कुरितिले अझै पनि धेरै ठाउँमा सिमान्तकृत तुल्याईरहेको छ । समयले इतिहासको अंध्यारोमा पुरिसकेका कुसंस्कारहरु अझै उनीहरुको पनि जीवनमार्गमा अगाडी बढ्न तगारो बनेका छन् । आखिर कहिलेसम्म ? त्यसैले भन्न मन लाग्छ, हे नारी सीता बनेर सह्या,ै तिमीले अब दुर्गा बन्नु पर्छ । हैन भने यो समाजबाट अझै तल झर्छौ तिमी । आधा हिस्सा यो देशको ओझेलमा पर्छौ तिमी । महिला हिंसाका स्वरुपहरु परिवर्तन भए जस्तै नियन्त्रणका लागी विभिन्न सामाजिक तथा कानुनी प्रयासहरु पनि धेरै भएका छन् । विगतमा भन्दा वर्तमानमा कानुनी व्यवस्था, संस्थागत संरचना, व्यक्ति समाज र समुदायमा धेरै सुधारका प्रयासहरु भएका छन् । महिलाहरुले पनि हिंसाविरुद्ध आवाज उठाउन थालेका छन् । महिला र बालबालिकाको मुद्दा हेर्न महिला तथा बालबालिका सेवा केन्द्रको स्थापना गरिएको छ । हरेक पालिकाहरुमा न्यायिक समिति गठन भएको छ ।

पैतृक सम्पत्तिमा अधिकार, आमाको नामबाट नागरिकता बन्ने प्रावधान छ । प्रजनन् स्वास्थ्यलाई महिलाको मौलिक अधिकारको रुपमा राखिएको छ । घरेलुहिंसा कसुर सजाय ऐन २०६६ बनेको छ । “मुलुकी देवानी संहिता २०७४” निर्माण भई २०७५ भदौ १ गते देखि लागू भएको छ । तुलनात्मक रुपमा महिला तथा लैंङ्गिगहिंसा केही न्यूनिकरण भएको देखिएता पनि समाजमा अपेक्षाकृत परिवर्तन आउन भने सकेको छैन । यसर्थ कानुन निर्माण र सरकारी पहलले मात्र हिंसा अन्त्य गर्न सक्दैन । यसको लागी हिंसा अमानविय, असामाजिक, गैरकानूनी र मानव अधिकारविरुद्धको अपराध हो भन्ने चेतना घरघरमा पु¥याउनु पर्दछ । पीडितलाई न्याय र पीडक माथिको कारवाही प्रकृया छिटो र प्रभावकारी हुनु पर्दछ । हिंसामा पर्नेलाई आपूm हिंसामा परेको छु भन्ने र हिंसा गर्नेलाई आपूmले हिंसा गरेको हो र यो अपराध हो भन्ने बोध हुने अवस्था सृजना गर्नसक्नु पर्दछ ।

कानुनी उपचार लिन सक्ने सक्षम मानव शक्ति निर्माण गर्न जरुरी छ । त्यसैले “लैंङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’’ भन्ने नाराको मूलमर्मलाई आत्मसाथ गरी व्यक्ति, समाज र हामी सबैको ऐक्यवद्धता र प्रयासले घरदेखि हिंसालाई रोक्ने प्रयत्न गरौं । हिंसा सहने बानी छाड्यौं भने र हिंसाको प्रतिकार गर्न जुट्यौं भने हिंसा न्यूनिकरण हुँदै अन्त्य हुने कुरामा विश्वास लिन सकिन्छ । त्यसैले हिंसाविरुद्ध हामी सबै ऐक्यबद्ध भई हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको विरोध गर्नेछु भनि लैंङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता गरौं । म बाट शुरु गरौं । यस १६ दिने अभियानबाट हामी सबैमा सकारात्मक तथा रचनात्मक परिवर्ततन आओस, हिंसा रहित सभ्य घर, समाजको निर्माण गर्न सकौं । सबैलाई हार्दिक शुभकामना । धन्यवाद ।

(लेखक, सुर्खेतको भेरीगंगा नगरपालिकामा महिला तथा बालबालिका शाखामा कार्यरत छन् ।)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार