‘अपाङ्गता भएकाहरुमाथि अझै विभेद’

सुर्खेत, १७ मंसिर ।

अपाङ्गता भएका व्यक्तिहरुमाथि समाजमा अहिले पनि विभेद कायमै रहेको सरोकारवालाहरुले औल्याएका छन् । अपाङ्गता भएका व्यक्तिहरु पनि समाजका अन्य व्यक्ति सरह नै भएको भन्दै उनीहरुले सबैलाई समान अवसर हुनुपर्नेमा जोड दिएका हुन् ।

स्थानीय सरकार घरघरमा पुगे पनि अपाङ्गता भएका व्यक्तिले भने अधिकार नपाएको उनीहरुको गुनासो छ । राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशले २९ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बुधवार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

कर्णाली प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुको अवस्था कस्तो छ भन्ने कुराको कुनै तथांकसमेत नरहेको राष्ट्रिय अपाङ्ग महासंघ कर्णालीका अध्यक्ष विष्णु शर्माले बताए । अपाङ्गता भएका व्यक्तिले राज्यबाट पाउनुपर्ने सेवा सुविधासमेत नपाएको उनको भनाइ छ । उनले अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त विद्यालय र होष्टेलको अभाव, पहुँचयुक्त भौत्तिक संरचना र समुदाय तहमा पुर्नस्थापना सेवाको अभाव भएको बताए ।

नजानेरै परिवारभित्रै पनि अपाङ्गता भएका व्यक्तिहरुलाई विभेद भइरहेको उनको भनाइ छ । अपाङ्गता विज्ञ महेश्वर घिमिरेले राज्यको स्पष्ट नीति नबन्दा अपाङ्गता भएका व्यक्तिहरुले समस्या झेल्नु परेको बताए । स्थानीय सरकारले नै अपाङ्गताहरुको पहिचान गर्नुपर्ने उनको भनाइ छ । उनले पत्रकारहरुले पनि अपाङ्गता भएका व्यक्तिका विषयमा समाचार लेख्दा शब्द चयनमा ध्यान दिनु पर्ने बताए । यस्तै सामाजिक विकास मन्त्रालयका अधिकृत यशोदा शर्माले मन्त्रालयले अपाङ्गता भएका व्यक्तिहरुका लागि आर्यआर्जनमुलक कार्यक्रम ल्याएको बताइन् । उनीहरुको पुर्नस्थापनाका लागि पनि बजेट छुट्याएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया