भेरी करिडोरमा दर्जन पुल

जाजरकोट, १७ मंसिर ।

भेरी करिडोरमा मोटरेबल पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करिडोरको जाजरकोट खण्डमा एकैसाथ एक दर्जन पुल निर्माणको अन्तिम चरणमा पुगेका हुन् । सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले छिन्चु–जाजरकोटबाट डोल्पा जोडिने करिडोरमा एकैसाथ दर्जन पुल निर्माण कार्य सम्पन्न हुन लागेको बताए ।

भेरी करिडोरअन्तर्गत छेडा–खलंगा सडकको स्तरोन्नति गर्ने उद्देश्यले मोटरेबल पक्की पुलको निर्माण थालिएको थियो । विसं २०७४ मा सडकखण्डमा पुलको कामका लागि सम्झौता गरिएको थियो । रसुवा सूर्य कन्स्ट्रक्सन जेभिले ३६ किलोमिटर क्षेत्रभित्रपर्ने सोही सडकको छेडा–खलङ्गा सडकखण्डका ६ वटा पुल बनाउने गरी २२ करोडमा ठेक्का लिएको थियो । छेडाचौर–खलङ्गा खण्डमा निर्माणाधीन ६ वटा पुलको काम अन्तिम चरणमा पुर्याएको छ ।

पुलको डिजाइन स्टमेटमा केही समस्या आएपछि पुल निर्माणको निर्धारित समयभन्दा केही ढिलाइ हुन गएको रसुवा सूर्य कन्स्ट्रक्सन जेभिका सञ्चालक सूर्यबहादुर खड्काले बताए । अढाइ बर्षमा सक्नुपर्ने पुल निर्माणको काम शुरु भएको तीनन बर्ष वितिसकेको छ । सडक संचालनमा आएको लामो समयपछि भेरी करिडोर अन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माण कार्य अगाडि बढेको छ । यस सडक खण्डको पासागाडदेखि नलगाड नगरपालिकाको तल्लुसम्म सात वटा मोटरेबल पक्की पुलको लागि बोलपत्र आवह्वान भएर काम सुरु भएको डिभिजनका प्रमुख भट्टले बताए ।

उनका अनुसार पिप्लेखोला, छर्रेखोला, नलगाड नदी, झुर्मेखोला, मैदेखोला (खुमाउरी), त्राँत्रगाड खोला र ताँसुखोला (चौखा)मा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ । नलगाड नदी र झुर्मेखोलामा पुस मसान्तभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको छ । सात वटा पुल ३० महिनाभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्यका साथ काममा जुटिरहेको भट्टले बताए । त्यस्तै, डोल्पा सडकखण्डको रुपगाड, त्रिपुराकोट, खदाङ, लगगाड र करपगाडमा पनि मोटेरेवल पुल निर्माणका लागि बोलपत्र आवह्वान भएर पुल निर्माणको प्रक्रिया अगाडि बढाएको प्रमुख भट्टको भनाइ छ । एक वर्षभित्र निर्माण कार्य पूरा हुने उदेश्यका साथ ठेक्का खोलि कामको सुरुवात गरिएको प्रमुख भट्टले जानकारी दिए ।

सडक निर्माण कार्य सुरु गरेको झण्डै १४ वर्षपछि कच्ची सडकमा पुल निर्माणको प्रक्रिया सुरु भएको हो । जाजरकोटको पासागाडबाट रिम्ना सम्मका लागि सडक कालोपत्रेको काम सुरु गरिएको छ । यो सडक भारतको रुपैडिया र चीनको मरिम्ला धो जोड्ने मुख्य रणनीतिक सडक हो । पुल नहुँदा यातायात संचालनमा निकै कठिन भैरहेको छ । पुल बनेपछि बाह्रै महिना यातायात संचालनमा सहजता आउने स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया