सुर्खेत, १६ मंसिर ।
२०७२÷०७३ सालतिर वीरेन्द्रनगरमा विद्युतको खपत कम थियो । अहिलेको जस्तो धेरै ग्राहकहरु थिएनन् । तर पनि विद्युत लोडसेडिङ हुन्थ्यो । देशभर लोडसेडिङ हुने भएका कारण वीरेन्द्रनगरवासीले पनि लोडसेडिङलाई सामान्य रुपमा लिए । तर २०७३ सालको अन्त्यतिर देशभर आंशिक रुपमा विद्युत लोडसेडिङ हट्यो । २०७४ सालसम्म आइपुग्दा एकै पटक देशभर लोडसेडिङ अन्त्य नै भयो ।
तर देशभर लोडसेडिङ अन्त्य हुँदा पनि वीरेन्द्रनगरवासीले नियमित रुपमा विद्युत उपभोग गर्न पाएनन् । लो–भोल्टेज र ओभर भोल्टेजको मार खेपी रहे । ओभर लोडका कारण पटक–पटक बत्ति जाने समस्या हल भएन । त्यस्तै विद्युत हुँदा भए पनि लो भोल्टेज झनै समस्या थपियो । दैनिक ४०÷५० पटक वत्तिजाँदा सेवाग्राही सास्ती व्यहोर्न बाध्य भए । विद्युत आउने र जाने प्रक्रिया नियमित जस्तै बन्यो । विद्युत अनियमितताका कारण घरमा चिमहरु फ्यूज हुने, पंखाका क्वाइलहरु जाने, टेलिभिजनका स्क्रिनको डिस्प्ले जाने, आइसी उड्ने तथा मेसिनरी सामानहरुमा काम गर्न समस्या बेहोरे ।
यसरी वीरेन्द्रनगरमा पटक–पटक विद्युत जानु र विद्युत भए पनि लो–भोल्टेज र ओभर लोडका हुनुका पछाडि दुई कारण थिए । पहिलो कारण वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएपनि सेवाग्राही ह्वात्तै बढ्नु र दोस्रो कम क्षमताका ट्रान्सफर्मर । यही समस्यालाई हल गर्ने विद्युत प्राधिकरण सुर्खेतले नयाँ संरचना थप गर्ने मास्टरप्लान अर्थात गुरुयोजना बनाएको छ । लो भोल्टेज र ओभर लोडका कारण अनियमित विद्युत आपूर्ती अन्त्यका लागि मास्टरप्लान बनाएर अघि बढेको छ । मास्टरप्लान अनुसार लोड धेरै भएका ठाउँहरुमा ट्रान्सफर्मर राख्ने र कम क्षमता भएका ट्रान्सफर्मर हटाएर ठूलो क्षमताका ट्रान्सफर्मर थप गरिएको छ ।
धेरै ठाउँमा ट्रान्सफर्मर राख्दा ट्रान्सफर्मरका कारण हुने विद्युत अनियमित रोकिएको प्राधिकरणले जनाएको छ । ‘वीरेन्द्रनगर प्रदेशको राजधानी भएपछि उपभोक्ताहरु बढे, पुराना ट्रान्सफर्मरले लोड धान्न सकेन। यही कारण विद्युत अनियमित हुन्थ्यो’ नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरी भन्छन्, ‘नयाँ ठाउँमा ट्रान्सफर्मर जडान र क्षमता अभिबृद्धि गरेपछि विद्युत अनियमित हुने समस्या हल भएको छ ।’ मास्टरप्लान अनुसार प्राधिकरण वीरेन्द्रनगरका केही ठाउँमा ट्रान्सफर्मको क्षमता अपग्रेट गरिएको छ ।
यसअघि ट्रान्सफर्मर भएका तर धेरै ओभर लोडका कारण पटक–पटक फ्यूज लाने क्षेत्रमा ट्रान्सफर्मरको क्षमता बढाइएको हो । त्यस्तै धेरै उपभोक्ता भएका र ओभर लोड हुने क्षेत्रमा पनि थप ट्रान्सफर्मर राख्नका लागि आवश्यकता अनुसार हाइटेन्सन लाइन विस्तार गरिएको छ । नयाँ ट्रान्सफर्मर राख्नका लागि हाइटेन्सनलाई विस्तार गर्ने गरिन्छ । तर नयाँ क्षेत्रमा ट्रान्सफर्मर राख्दा भने प्राधिकरणले ठूलो झमेला खेप्नु परेको छ । उपभोक्ताले ट्रान्सफर्मर राख्नका लागि जग्गा उपलब्ध नगराउँदा पटक–पटक समस्या झेल्ने गरेको प्राधिकरणले जनाएको छ ।
वीरेन्द्रनगरमा जग्गाको मूल्य अत्याधिक महंगो भएका कारण उपभोक्ताले ट्रान्सफर्मर राख्ने जग्गा दिन आनाकानी गर्ने गरेका हुन् । जग्गा नपाउँदा नयाँ लाइन विस्तार र ट्रान्सफर्मर ठूलै संघर्ष गर्नुपर्ने अवस्था आएको प्राधिकरणका प्रमुख गिरीले बताए । ‘वीरेन्द्रनगर राजधानी भए पनि जग्गामा मूल्य छोइसक्नु छैन, जसलेगर्दा उपभोक्ताले एक इन्चि जग्गा दिन मान्दैनन्’ गिरी भन्छन्, ‘विद्युतका पोल र ट्रान्सफर्मर राख्ने जग्गा पाउनै मुस्किल छ ।’ उपभोक्ताले ट्रान्सफर्मर र पोल राख्ने उपलब्ध गराउन नसक्दा तोकिएकै समयमा काम सम्पन्न गर्न गाह्रो हुने गरेको गिरीको तर्क छ ।
कहाँ–कहाँ राखियो ट्रान्सफर्मर ?
लो–भोल्टेजका कारण विद्युत आपूर्ति अनियमित भएपछि वीरेन्द्रनगरका एक दर्जन क्षेत्रमा नयाँ ट्रान्सफर्मर राखिएको छ । विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार वीरेन्द्रनगरमा मात्रै नौ स्थानमा ट्रान्सफर्मर राखिएको छ वीरेन्द्रनगरभन्दा बाहिर नयाँ लाइन विस्तार भएका क्षेत्रमा पनि ट्रान्सफर्मर राखिएको छ । प्राधिकरणका अनुसार वीरेन्द्रनगरको वार्ड नम्बर २ को फलाँटे क्षेत्र, वडा नं. ३ को मसुरीखेत क्षेत्र, वडा नम्बर ४ को भैरवस्थान क्षेत्र, वडा नं. ८ का वडाकार्यालय क्षेत्रमा ट्रान्सफर्मर राखिएको छ ।
यस्तै वडा नं. ९ को पातलगंगा क्षेत्र, एयरपोर्टचौक र इत्राम स्कुल क्षेत्रमा पनि ट्रान्सफर्मर राखिएको छ । त्यस्तै पुरानो घरेलु अफिस भएको क्षेत्र, नेवारे क्षेत्र र जुम्ला रोड क्षेत्रमा पनि ट्रान्सफर्मरको क्षमता अपग्रेट गरिएको छ । एयरपोर्ट क्षेत्रमा यस अघि पनि दुईसय केभीएको ट्रान्सफर्मर छ । तर त्यही क्षेत्र नकिज पुनः दुईसय केभीएको ट्रान्सफर्मर राखिएको छ । एयरपोर्ट क्षेत्रमा धेरै मझौला उद्योगहरु भएका कारण अर्काे ठूलो क्षमताको ट्रान्सफर्मर राख्नु परेको कार्यालय प्रमुख गिरीले जानकारी दिए । दुईसय केभीए क्षमताको ट्रान्सफर्मर सबैभन्दा ठूलो क्षमताको ट्रान्सफर्मर हो । क्षमताका हिसावले २५ केभिए, ५० केभिए, एकसय केभिए र दुईसय केभिए क्षमताका ट्रान्सफर्मरहरु हुन्छन् । ठूला मेसिनहरु सञ्चालन हुने क्षेत्रमा थ्रिफेज लाइन र ठूला क्षमताका ट्रान्सफर्म राख्नु पर्दछ ।
तीन ठाउँमा नयाँ ट्रान्सफर्मर राखिदै
वीरन्द्रनगर क्षेत्रमा विद्युतको लो–भोल्टेज र ओभर लोडको समस्या समाधानका लागि अझै तीन स्थानमा नयाँ ट्रान्सफर्मर राखिने भएको छ । प्राधिकरणका इन्जिनियर विजेश रञ्जितले दिएको जानकारी अनुसार लालिगुराँस टोल क्षेत्र, गाग्रेताल क्षेत्र र गण्डकीलाइन क्षेत्रमा नयाँ ट्रान्सफर्मर राख्ने तयारी गरिएको हो । ति क्षेत्रमा ट्रान्सफर्मर राख्नको लागि हाइटेन्सन तान्ने काम र ट्रान्सफर्मर राख्ने क्षेत्र टुङ्गो लागि सकेको छ । गत आर्थिक बर्षमै ति ठाउँमा ट्रान्सफर्मर राखिसक्नुपर्ने थियो ।
तर कोरोना भाइरसका कारण भएको लकडाउनका कारण तोकिएकै समय ट्रान्सफर्मर राख्न सकिएको थिएन । अहिले ट्रान्सफर्मर राख्नका लागि समय उपयुक्त भए पनि सामग्री अभावका कारण टान्सफर्मर राख्न ढिलाइ भएको छ । सामानको आपूर्ति हुन वित्तिकै ति क्षेत्रमा ट्रान्सफर्मर जडान गरिने इन्जिनियर रञ्जीतले बताए । टान्सफर्मर राखिएपछि ट्रान्सफर्मरका कारण हुने सम्पूर्ण अवरोध अन्त्य हुने प्राधिकरणको अपेक्षा छ । त्यस्तै पर्यटकीय क्षेत्र काँक्रेविहारमा पनि विद्युत पु¥याइने भएको छ । चालु आर्थिक वर्षभित्रै काँक्रेविहार क्षेत्रमा विद्युत पुगिसक्ने प्राधिकरणले जनाएको छ ।
युग संवाददाता । । १६ मंसिर २०७७, मंगलवार १६:२७