जीर्ण भवन र भाडाका घरबाट गुजरा चलाउँदै प्रहरी

सुर्खेत, १४ मंसिर ।

कर्णाली प्रदेशका एकसय २४ वटा प्रहरी युनिटका भौतिक संरचना जिर्ण छन् । नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्ने ति प्रहरी युनिटमा कार्यरत प्रहरीहरु सुरक्षित छैनन् । जीर्ण भौतिक संरचनाका कारण त्यहाँ कार्यरत प्रहरीहरुलाई बासकै चिन्ता गर्नुपर्ने बाध्यता छ ।

यस्तै जीर्ण मध्येको सुर्खेतमा रहेको बड्डीचौर प्रहरी चौकी पनि एक हो । दुई कोठे जस्तापाताले छाएको टहराले न घाम छेक्छ, न त पानी । यस्तो स्रोत साधनको अभावमा पनि प्रहरीले रातदिन सेवा दिइरहेको छ । ‘गर्मी महिनामा घामले बसि नसक्नु हुन्छ, बर्खामा पानी चुहिएर कोठाभित्रै खाल पर्छ,’ त्यहाँ कार्यरत एक प्रहरी जवान भन्छन्, ‘जाडो समयमा त थुरुथुरु काम्नुपर्छ ।’

चौकीको भवन जिर्ण र असुरक्षित भवनमा बसेर नागरिकको सेवा गर्नुपर्ने बाध्यता रहेको ति प्रहरी जवानले बताए । ‘गतिलो भवन नहुँदा सधै बासको चिन्ता हुन्छ’ ति प्ररहीले भने ‘चौकी नै जिर्ण छ, हामी जोखिम मोलेर बसेका छौँ ।’ कर्णाली राजमार्ग बनाउँदा निर्माण कम्पनीले सामग्री राख्न बनाएको अस्थायी टहरोमा प्रहरीचौकी छ । त्यही जीर्ण टहरोबाट लामो समयदेखि जिर्ण भवनबाट सेवा दिदैँ आएको छ । चौकीमा खानेपानी र शौचालयकोसमेत गतिलो व्यवस्था छैन । बराहतालको चेपाङदेखि दैलेखको गुराँस गाउँपालिकासँग जोडिएको सेतोभिरसम्म चौकीले सुरक्षा दिनुपर्छ ।

बड्डीचौरमा रहेको चौकीले बराहतालका पाँच वटा वडा हेर्दै आएको छ । बड्डीचौर लगायत सुर्खेतका १२ वटा प्रहरी चौकीको अवस्था उस्तै छ । कर्णाली प्रदेश प्रहरीको तथ्याङ्क अनुसार दैलेख, रुकुमपश्चिम, कालिकोट र मुगु १२÷१२ वटा, जाजरकोटमा १४, सल्यानमा आठ, जुम्लामा नौ, डोल्पामा १६ र हुम्लामा १४ वटा प्रहरी युनिटहरुका आफ्ना भवन छैनन् । भवन अभावका कारण कतिपय भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् । कतिपय भने विभिन्न संघसंस्थाले उपलब्ध गराएका जीर्ण भवनमा बस्न बाध्य भएका छन् । गतिलो भवन समेत नभएका प्रहरी चौकीहरुमा सवारी साधन र जनशक्ति अभावमा अभाव छ । भौतिक संरचना र आवश्यक स्रोत साधानको अभावमा प्रहरीलाई सेवा प्रवाह गर्न समस्या छ ।

प्रहरीका १६ वटा भवन बन्दै

कर्णालीका प्रहरीलाई सुरक्षित आवासका लागि प्रदेशका विभिन्न १६ स्थानमा भवन निर्माण थालिएको छ । बहुवर्षिय योजना अन्तरगत १६ स्थानमा भवन निर्माण थालिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । तथ्याङ्क अनुसार जिल्ला प्रहरी कार्यालय दैलेख अन्तरगतका विभिन्न कार्यालयका लागि तीन वटा, जाजरकोटमा चार वटा, सल्यानमा दुई वटा र कालिकोटमा दुई वटा प्रहरी युनिटका लागि भवन निर्माण भइरहेका छन् । त्यस्तै जुम्लामा एक वटा, मुगु, डोल्पा र हुम्ला पनि मा दुई÷दुई वटा प्रहरी युनिटका लागि भवन निर्माण भइरहेका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवत्ता एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिए । बहुबर्षिय आयोजना अन्तरगत निर्माण थालिएका कतिपय जिल्लामा भने निर्माण कम्पनीले भुत्तानी नपाएको भन्दै भवन अधुरै छोडेका छन् ।

६ वटा भवन निर्माण भए

बर्षाैदेखि जीर्ण भवनबाट सेवा दिँदै आएका कर्णाली प्रदेशका ६ वटा प्रहरी युनिटले नयाँ भवन पाएका छन् । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सुर्खेत, दैलेख र जाजरकोटका ६ वटा प्रहरी युनिटले सुरक्षित भवन पाएका हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार तीन वटै जिल्लामा दुई÷दुई वटा प्रहरी भवन निर्माण भएका हुन् । नयाँ भवन प्राप्त गरेका प्रहरी युनिटलाई सेवा प्रवाहमा सहज हुनेछ ।

कर्णाली प्रदेशका एकसय ८७ प्रहरी युनिटमध्ये ६३ वटा प्रहरी युनिटमा मात्रै आफ्नै भवन छन् । बाँकी एकसय २४ वटा प्रहरी युनिटहरु भने भाडा तथा संघसंस्थाको सहयोगले उपलब्ध गराएका भवनबाट सेवा दिँदै आएका छन् । प्रवत्ता श्रेष्ठका अनुसार ४० वटा प्रहरी युनिटहरुले सरकारी एवं संघ संस्थाले उपलब्ध गराएको भवनबाट सेवा दिँदै आएका छन् । जसमध्ये सुर्खेतमा मात्रै सात वटा प्रहरी युनिटहरु संघ संस्था र सरकारी निकायले उपलब्ध गराएका भनवबाट सेवा दिएका छन् । त्यस्तै सल्यानमा तीन वटा, जाजरकोटमा चार, सल्यान, कालिकोटमा दुई÷दुई वटा प्रहरी युनिटहरु सहयोगी दाताकै भवनबाट सेवा दिएका छन् । त्यस्तै जुम्लामा तीनवटा, मुगुमा चारवटा हुम्लामा पाचवटा र डोल्पाका नौ वटा प्रहरी युनिटलाई विभिन्न सरकारी तथा गैरसरकारी निकायले प्रयोजनका लागि भवन उपलब्ध गराएका छन् ।

६७ वटा प्रहरी युनिट भाडामा

प्रहरी युनिटका आफ्नै भवन नहुँदा कर्णालीका ६७ वटा प्रहरी युनिटहरुका भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् । जसमध्ये रुकुमपश्चिममा मात्रै ११ वटा प्रहरी युनिटहरु भाडाको घरमा बसेका छन् । तथ्याङ्क अनुसार सुर्खेतमा पाँच, दैलेखमा ६, जाजरकोटमा नौ र सल्यानमा चार वटा प्रहरी युनिटहरु भाडा भाडाको भवनबाट सेवा प्रवाह गर्दै आएका छन् । त्यस्तै कालिकोटमा सात, जुम्लामा पाँच, मुगुमा ६, डोल्पामा पाँच र हुम्लामा सातवटा प्रहरी युनिट भाडाका घरमा बस्दै आएका छन् । कर्णाली प्रदेश प्रहरी मातहत सुर्खेतमा रहेको नेपाल प्रहरी आवाशिय माध्यमिक विद्यालय पनि भाडाकै भवनमा सञ्चालित छ ।

तपाईको प्रतिक्रिया