परिवारले जुराएको जोडी

जीवनका हरेक मोडमा अनेक थरी साथीहरू भेटिन्छन् र छुटिन्छन् पनि । तर, अपवाद बाहेक जीवनसाथी जीवनको अन्तिम घडीसम्म पनि साथमा नै रहन्छन् । जीवनसाथी एउटा यस्तो साथी हो, जो हरेक दुःख र सुखमासँगै रहिरहने । जीवनको अन्तिम साससम्म पनि साथ दिनसक्ने । आफूले चोट सहेर पनि जीवन साथीलाई सुखी बनाउन सक्ने क्षमता जीवनसाथीमा हुन्छ । जीवनसाथीबारे यो बुझाइ हो, गेहेन्द्रप्रसाद दहाल र उनकी जीवनसंगीनी भुमिसरा दहालको । जसरी रथ चलाउन दुई प्रांगाको आवश्यकता पर्छ, त्यस्तै जीवन चलाउन पनि जीवनसाथी अपरिहार्य नै हुन्छ । जीवनको अन्तिम घडीसम्म साथ दिने भनेको मात्र जीवनसाथी हुन् ।

मागी विवाह

गेहेन्द्रप्रसाद दहाल वीरेन्द्रनगरमा बसेर पढ्दै थिए । उनी घरको जेठो छोरा थिए । घरको जेठो छोरा भएका कारण घर चलाउनका लागि उनलाई विहे गरिदिने कुरा आयो । उनका लागि उनका बाबाले घर बुझ्ने र चलाउने खालको केटी खोजी सकेका थिए । उनका लागि विहेको कुरा चलाएको केटी भुमिसरा थिइन् ।

भुमिसरा र दहालको पारिवारिक पृष्ठभुमी पनि मिलेको थियो । दहालका बुवा र भुमिसराका बुवा साथी र एउटै गाउँ भएकाले उनीहरुको विहे गरिदिने कुरा चलाएका थिए । त्यस समयमा बुवाआमाले भनेको कुरा काट्ने चलन थिएन । बुवाआमाको निर्णय नै छोराछोरीको निर्णय हुन्थ्यो ।
दहाल र भुमिसराले पनि त्यही गरे । जुन अरुले गर्दै आएका थिए । दुवैले परिवारको कुरा काट्न सकेनन् र विहेका लागि राजी भए । दहाल र भुमिसरा एक अर्कालाई राम्रोसँग चिन्थे । देखादेख पनि हुन्थ्यो, तर बोलचाल भने भएको थिएन । एउटै गाउँ भएकाले पनि भुमिसराले दहाल स्कुल जाने समयमा देख्ने गर्थिन् । दहालले पनि बाटोमा हिँड्दा देखेका थिए । दहाल र भुमिसराले हाम्रो विहे हुन्छ भनेर कल्पना पनि गरेका थिएनन् । उनीहरुको २०४३ सालमा मागी विवाह भयो ।

संघर्षमा श्रीमतीको साथ

विहेपछि भुमिसराले घर राम्रोसँग चलाउन सकिन् । श्रीमतीले राम्रेसँग घर चलाएपछि दहाललाई बाहिर पढ्न जान पनि सहज भयो । उनी भन्छन्, ‘श्रीमतीको कारण आज म यो स्थानमा छु, मेरो हरेक संघर्षमा श्रीमतीको साथ छ ।’

छोरी र बुहारी हुँदाको अनुभव

छोरी र बुहारी हुनुमा धेरै फरक हुन्छ । तर भुमिसरालाई भने छोरी हुँदा र बुहारी हुँदाको नौलो अनुभव त्यति भएन । घरपरिवारमा श्रीमान् टाढा हुँदा पनि उनले सबैको माया ममता धेरै पाइन् । त्यसैले पनि होला उनलाई घरमा घुलमिल हुनलाई धेरै समय लागेन । भुमिसराले विहेपछि घर र माइतीमा केही फरक पाइनन् । फरक यति थियो की विहान उठेर दैलो कुचो गर्नुपथ्यो । जुन काम माइतीमा हुँदा गर्नुपर्ने थिएन । माइतीमा पनि भुमिसराले सबै काम गर्नु पथ्र्यो । काम गर्नलाई उनलाई कुनै समस्या थिएन । घरमा पनि सबैको माया पाइन् । दहाल विहेपछि पढ्न वीरेन्द्रनगर आए । तर पनि भुसिसराले घर धानेर बसिन् । विहेपछि उनी सहजै घरको संस्कारमा घुलमिल हुन सफल भइन् ।

कस्तो थियो त बाल्यकाल ?

दहालको जन्म वि.सं २०२८ जेठ ३ गते तत्कालिन रतु गाविस–६ हालको वीरेन्द्रनगर–१५ मा भएको हो । उनको बाल्यकाल गाउँमै वित्यो । उनी घरको दुईभाई र तीन बहिनी मध्येका जेठा छोरा हुन् । उनले कक्षा १ देखि ३ सम्म गाउँकै रतु स्कुलमा पढे । उनका बाबा कृष्णप्रसाद दहाल सोही स्कुलको शिक्षक थिए । उनी बाबासँगै स्कुल जाने गर्थे ।

गाउँको स्कुल कक्षा ३ सम्म मात्रै भएकाले उनले कक्षा ४ देखि ६ सम्म मावि मेहेलीमा पढे । उनले कक्षा ७ देखि ९ सम्म अमरज्योति मावि नेवारे र कक्षा ९ र १० जन माविमा पढेका हुन् । उनले २०४४ सालमा एसएसली उतिर्ण गरे । पछि उच्च शिक्षाको क्रममा वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट वीए र कीर्तिपुरबाट एमए पास पनि गरे । वीएड र एमएड शिक्षा क्याम्पस सुर्खेतबाट गरेका हुन् ।

यस्तै भुमिसराको जन्म २०२७ साल मंसिरमा साविकको रतु हाल वीरेन्द्रनगर १५ मा भएको हो । उनको बाल्यकाल दुखसँग वित्यो । भुमिसराले स्कुल कहिल्यै देख्न पाइनन् । उनी ९ वर्षको हुँदा उनकी आमाको निधन भयो । त्यसपछिको घरधन्दाको जिम्मेवारी भुमिसरामा आइप¥यो । उनीभन्दा साना दुई भाईबहिनी थिए । उनीहरुको हेरचाह गर्ने र घरधन्दामै उनको बाल्यकाल वित्यो । १ कक्षा पनि पढ्न नपाएकी भुमिसराको १५ वर्षकै उमेरमा विवाह भयो । उनी बाल्यकालमा शान्त र धेरै नबोल्ने स्वभावकी थिइन् ।


शिक्षक हुँदै राजनीतिमा

दहालले १८ वर्षको उमेरमै स्थायी जागिर खाए । २०४६ मा प्रावि पारेगाउँ रतुबाट स्थायी शिक्षक सेवामा प्रवेश गरेका हुन् । उनको बुवाको पनि सोही स्कुलबाट जागिर सुरु भएको थियो । उनी स्थायी सेवामा प्रवेश गरेको २०४६ सालकै अन्तिममा जनसेवा प्रावि घुस्रामा सरुवा भएँ । उनी १९ वर्षसम्म अध्यापन पेशामा रहे । जनसेवामा नौ वर्ष शिक्षक सेवापछि साढे ९ वर्ष प्रधानाध्यापक बनेँ । पुनः साढे आठ वर्षसम्म श्रीकृष्ण संस्कृत मावि इत्राममा प्रधानाध्यापकको रुपमा काम गरे ।

उनले २०७३ मंसिर ९ गते ४५ वर्षको उमेरमा शिक्षक पेशाबाट राजीनामा दिए । जागिर खाने अवधि बाँकी नै थियो । तर खुला राजनीति गर्नका लागि उनले शिक्षकबाट राजीनामा दिए र राजनीतिमा होमिए । उनी शिक्षक संघ सुर्खेतको जिल्ला अध्यक्ष, संघकै तत्कालिन मध्यपश्चिम विकास क्षेत्रको सचिवमा चारवर्ष काम गरेको उनमा अनुभव छ । उनी सन् १९९८ मा वीरेन्द्रनगर जेसीज सुर्खेतको अध्यक्ष पनि भए । सन् २००५ मा नेपाल जेसीज राष्टिय अध्यक्षमा सर्वसम्मत र २००६ मा अन्तराष्टिय सदस्य र अष्टियाको भियानाबाट एसीया प्यासेफिकको कोडीनेटरको रुपमा पनि काम गर्ने अवसर उनलाई मिल्यो । त्यसैबाट उनको समाज सेवाप्रतिको थप भावना विकास हुदै गयो । आत्मविश्वास र नेतृत्व विकासको क्षमता पनि बढ्यो । उनी अहिले विवेकशिल साझा पार्टीका कर्णाली प्रदेश संयोजक एवंम केन्द्रिय सदस्य छन् ।

प्रेम नै बाँच्ने आधार

विवाह भनेको प्राकृतिक कुरा हो । सृष्टि बचाउने महत्वपूर्ण आधार हो । प्रेम भनेको जीवन हो । प्रेम सबैले सबैलाई गरिन्छ । यो जोडी भन्छन्, ‘प्रेमले मान्छेलाई एउटा बाँच्ने आधार दिन्छ ।’ प्रेम सबैमा हुन जरुरी छ । प्रेम मृत्यु पश्चात पनि सम्झन् लायकको प्रेम गर्नुपर्छ । यो जोडीको अनुसार दाम्पत्य सम्बन्ध दिगो र प्रगाढ बनाउन एकअर्कामा विश्वास हुन जरुरी छ । जबसम्म एकले अर्कालाई विश्वास गरिदैन, तबसम्म सम्बन्ध दिगो हुन सक्दैन ।

जन्मदिन

यो जोडीले जन्मदिन र विवाह उत्सव पनि मनाउने गर्छन् । उनीहरुले जन्मदिन आफै भने मनाउँदैनन् । यो जोडीका सन्तानले उनीहरुको जन्मदिन मनाइदिने गर्छन् । उनीहरु भन्छन्, ‘हामी आफै जन्मदिन मनाउँदैनौं, तर छोराहरुले मनाइ दिन्छन् । केक काटेर परिवारमा बसेर रमाइलो गर्दै मनाउँछौ, तर केकमा बालेको बत्ती भने फुक्दैनौ ।’

आपसमा प्रशंसा

दहालकी श्रीमती कहिल्यै स्कुल गइनन् । तर पनि उनले घरपरिवारलाई राम्रोसँग चलाइरहेकी छन् । यही कुराले दहालको मन छुन्छ । शान्त स्वभावकी र घरपरिवार सबैलाई मिलाउन जान्ने भुमिसराको खुबीलाई दहालले खुबै सम्मान् दिन्छन् । यस्तै भुमिसरालाई पनि दहालको बाहिर चोकचोकमा गएर चिया खान नजाने बानी मनपर्छ । मेहेनती, लगनशिल र कामबाहेक घर बाहिर नजाने दहालको बानी भुमिसरालाई मनपर्ने गर्छ ।

जहाँ झगडा, त्यहाँ माया

यो जोडीको कहिलेकाँही ठाकठुक पनि हुने गर्छ । उनीहरु भन्छन्, ‘सबै जोडीको सामान्य झगडा त हुन्छ नै, फेरी झगडा नहुने जोडीमा माया पनि हुँदैन ।’ आगो पनि नठोसी बल्दैन । सम्बन्धमा पनि कहिलेकाँही झगडा हुनैपर्छ । त्यसले माया झन् गाढा हुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार