‘खलंगा–बालुवासंग्रही’ सडकको कालोपत्रे हुँदै

राजनितीक ब्यवस्था परिवर्तन संगै विकासले तिव्रता पाएको छ : मन्त्री ज्वाला

दुर्गा विसी/सल्यान १४, मंसिर ।
सल्यानलाई प्रदेश राजधानी सुर्खेत जोड्ने खलंगा–कुपिण्डे ताल (बालुवासंग्रही सडकको स्तरोन्नति सहित कालोपत्रे गर्न शुरु भएको छ । सडकको ट्र्याक खोलेको झण्डै तिन दशक पछि सडकको चौडा, नाली सहित कालोपत्रे गर्न शुरु गरिएको हो । सोहि अन्तर्गत बालुवासंग्रही–कुपिण्डे ताल—यतपानी–खलंगा सडक कालोपत्रेको शनिबार शिलान्यास गरिएको छ ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सडकको शिलान्यास गर्नुभएको हो । अहिले ढोरपिपल देखि ज्यामिरे सम्मको झन्डै डेढ किमि सडकको नाली सहित ८ मिटर चौडा, साँढे ५ मिटर कालोपत्रे गर्न लागिएको हो । सडक निर्माणको गाल्वा धुलिखेल जेभिले रु. १८ करोड १८ लाख ३६ हजार ९ सय ९८ मा कामको जिम्मेवारी लिएको छ । आगामी २ बर्ष भित्रमा काम सम्पन्न गर्ने सम्झौता भएको छ ।

सडक कालोपत्रे कामको शिलान्यास गर्दै मन्त्री ज्वालाले देशमा राजनीतिक ब्यवस्था परिवर्तन संगै बिकास निर्माणका कामले तीव्रता पाएको बताउनु भएको छ । उहाँले अहिलेको बिकास गणतन्त्र, लोकतन्त्र, संघीयताको उपहार भएको बताउनुभएको हो । “पहिले देशमा विकासले तिब्रता पाउन सकेको थिएन, तर राजनीतिक ब्यवस्था परिबर्तन भएसंगै बिकासले तिब्रता पाउन थालेको छ, सोहि अनुसार सडकको ट्र्याक खोलेको लामो समय पछि स्तरोन्नति र कालोपत्रेको लागि कामको थालनी भएको छ’’ उहाँले भन्नुभयो ।

मन्त्री ज्वालाले सल्यानबाट कर्णाली प्रदेशको राजधानी जोड्ने लाइफ लाइनको रुपमा रहेकाले यस सडक प्रदेशको प्राथमिकतामा परेको बताउनुभयो । सोहि अनुसार प्रदेशले बर्षेनी सडकको स्तरोन्नतिको लागि काम गरिरहेको उहाँको भनाइ छ ।  “हामीले पटक पटक सडकको स्तरोन्नति र कालोपत्रेका लागि बजेट विनियोजन गर्दै आएका छौँ, अहिलेसम्म यस सडकमा झन्डै ४० करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको गरिसकेको छ“ उहाँले भन्नुभयो “अब विकास निर्माणका कामको जिम्मेवारी प्रदेश सरकारले लिन्छ ।’’

यस्तै बन्गाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोबिन्द कुमार पुनले बन्गाड हुँदै जाने यस सडक गौरवको योजना भएको बताउनुभएको छ । उहाँले यस सडकलाई कृषि र पर्यटन संग जोड्नुपर्ने बताउनुभएको हो । यसका लागि छिटो, छरितो र स्तरीय काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।

यस्तै मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्माले विगत लामो समय देखी सडकको स्तरोन्नतिको लागि पहल भैरहेको र अहिले आएर सार्थकता पाएको बताउनुभएको छ । प्रदेश सरकारले नै जिल्ला सदरमुकामलाई प्रदेश राजधानी सम्म जोड्ने लक्ष्य सहित सडक निर्माण गर्ने लक्ष्य सहित योजना अगाडि बढाएको र सोहि अनुसार सल्यान–सुर्खेत सडकको स्तरोन्नति र कालोपत्रे गर्न लागिएको भएको बताउनुभएको हो ।

यस्तै पुर्वाधार विकास कार्यालय सल्यानका प्रमुख बिनोद पुनले सबैको साथ र सहकार्यमा नै सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने बताउनुभएको छ । गाल्वा धुलिखेल जेभिका संचालक प्रमोद कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपाका जिल्ला कमिटी सचीव कर्ण बहादुर बुढाथोकीले तोकिएको समयमा नै स्तरीय काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभएको छ । बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष विर बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार दिपक शर्माले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया