वीरेन्द्रनगर र बराहतालमा १५ शैयाको अस्पताल उद्घाटन

सुर्खेत, १३ मंसिर ।
सुर्खेतका दुई वटा स्थानीय तहमा १५ शै्ययाका अस्पतालको उद्घाटन तथा भवनको शिलान्यास गरिएको छ । वीरेन्द्रनगर नगरपालिका ९ लाटीकोइलीमा वीरेन्द्रनगर अस्पताल भवनको शिलान्यास र बराहताल ५ बड्डीचौरमा बराहताल अस्पतालको सेवा सुरु गरिएको हो । शुक्रबार नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले अस्पताल सेवा उद्घाटन र भवनको शिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने वर्तमान सरकारको योजना रहेको बताए ।

‘सरकारले स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन ल्याउने योजनाका साथ अघि बढेको छ’ राज्यमन्त्री रावतले भने, ‘नागरिकलाई गाउँमै आधारभूत उपचार सेवा प्रयास गरिरहेको छ ।’ सुर्खेत लगायत सरकारले तीन सय ९६ स्थानीय तहमा पाँचदेखि १५ शैयाका अस्पताल बनाउने निर्णय गरेको छ । जसको कार्यान्वयनका ९७ अर्ब बजेटसमेत बिनियोजन गरिएको छ ।

जसअन्तर्गत चालु आर्थिक बर्षमा कर्णाली प्रदेशमा ३९ वटा स्थानीय तहमा पालिका स्तरीय अस्पताल सञ्चालन हुँदैछन् । यस्तै २५ शैयाका अस्पताललाई ५० शैयाका रुपमा विस्तार गरिने राज्यमन्त्री रावलले जानकारी दिए । त्यस्तै बराहताल अस्पतालको शिलान्यास कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य नन्दा चपाईले अस्पताल सञ्चालन भएपछि नागरिकको आधारभूत आवश्यकताका रुपमा रहेको स्वास्थ्य सेवामा टेवापुग्ने बताइन् । उनले महिलाहरु प्रसुती हुनेक्रममा ज्यान गुमाउनु पर्ने बाध्य रहेको भन्दै बर्थिङ सेन्टरहरु विस्तार र स्तरउन्नती गर्नुपर्ने उनले बताइन् ।

कर्णाली प्रदेशसभा सदस्य यज्ञबहादुर विसीले अबपश्चिम सुर्खेतको विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए । बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर वस्नेतले स्वास्थ्य सुविधा नागकिको पहिलो आवश्यकता भएकाले अस्पताल सञ्चालनले जनजिवनमा सुधार आउने बताए ।

त्यस्तै नगर अस्पताल वीरेन्द्रनगरको शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख देवकुमार सुवेदीले नागरिकको स्वास्थ्य सुविधाका लागि नगरअस्पतालले टेवापुग्ने बताए । अस्पतालको शिलान्याससंगै सेवासमेत सुरु गरिसकेको बताउँदै उपप्रमुख मोहनमाया ढकालले अस्पतालको सेवालाई चुस्तदुरुस्त बनाउने बताइन् ।

तपाईको प्रतिक्रिया