सहयोग गरिदिन क्यान्सर पीडितको अपिल

सुर्खेत, १२ मंसिर ।

आर्थिक अभावका कारण दैलेख दुल्लु नगरपालिका वडा नम्बर २ का गोपी खड्कालाई उपचारमा समस्या भएको छ । उनको बायाँ आँखामा क्यान्सर भएको छ । २०७० सालमा बारीमा काम गर्ने क्रममा उनको आँखामा चोट लागेको थियो । केही दिन दुखेको आँखा आफै ठिक भएपछि उनले वास्ता गरेनन् । २०७२ सालमा पुन उनको आँखा दुख्न थालेपछि उनी आँखाको उपचारको खोजीमा हिडे ।

दैलेखमै शिविर लागेको समयमा चेक गराएका खड्काको आँखा ठिक हुनुको साट्टो झन दुख्न थाल्यो । सुरुमा उनको आँखा पोल्ने, पानी आउने हुन्थ्यो पछि एक्कासी आँखामा मासु पलाएर बाहिर नै निक्कियो । उनले डाक्टरहरुको सल्लाहमा काठमाडौंको तिलगंगा अस्पतालमा आँखाको अप्रेशन गराए । अप्रेशन गरेर पनि उनको आँखा ठिक भएन । झन दुख्न थाल्यो । पछि उनी भक्तपुरको क्यान्सर अस्पतालमा गएपछि थाहा पाए आँखाको क्यान्सर भएको रहेछ ।

उनले उक्त अस्पतालमा ३५ दिन आँखाको उपचार गरे । उपचार गर्ने पैसा नभएपछि उनी घर फर्किएका छन् । खड्काले आँखाको उपचारमा आठ लाख खर्च गरी सकेको बताए । उनले आफन्त र समुहबाट ऋण लिएर उपचार गरिरहेको बताए । हाल उनी वीरेन्द्रनगरमा छोरीको घरमा बस्दै आएका छन् । डाक्टरले उनको आँखाको उपचारका लागि अझै आठ लाख रुपैयाँ लाग्ने बताएका छन् ।

उपचारमा समस्या भएपछि खड्काले आफ्नो उपचारका लागि सबैलाई सहयोग गरिदिन आग्रह गरेका छन् । उनलाई सहयोग गर्नका लागि खड्काकी सम्धिनी प्रेमी घर्ती मगरको मोबाइल नम्बर ९८४८१३८५९८ मा सम्पर्क गर्न सकिनेछ । यस्तै प्रेमी घर्ती मगरकै वाणिज्य बैंक सुर्खेत शाखामा रहेको बैंक खाता नम्बर ४०८००३८५४४१० मा रकम जम्मा गरी सहयोग गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया