नमूना विद्यालय संचालन गर्ने योजना

जीवन सुख र दुःखको संरचना हो । व्यक्ति अनुसार जीवन जीउने कला र स्वभावहरु पनि फरक फरक हुन्छन् । जो व्यक्ति जीवनमा कहिल्यै हार मान्दैन, त्यो व्यक्ति नै जीवनको लक्ष्यसम्म पुग्न सक्छ । बाल्यकालदेखि बनाएका योजनाहरु कतिपयको असफल पनि भएका हुन्छन् । तर एउटा योजना असफल भए पनि कयौं योजना बन्न सक्छन् जान्नेहरुका लागि । समय अनुसार हिँड्न जानेको व्यक्ति जीवनमा कहिल्यै असफल भने हुँदैनन् । यस्तै जीवनमा संघर्ष गर्दै सफल भएका व्यक्ति हुन् वेदप्रकाश ढकाल । उनको बाल्यकालको सपना थियो भविष्यमा ठुलै नेता बन्ने । तर उनी शिक्षा क्षेत्रमा लागे । प्रस्तुत छ, उनै ढकालको जीवन भोगाइ र शिक्षा क्षेत्रको अनुभवमा केन्द्रित रहेर सहकर्मी गीता थापाले गरेको कुराकानीको सम्पादित अंशः

रमाइलो बाल्यकाल

पिता देवबहादुर ढकाल र माता बालकुमारी ढकालको कोखबाट २०३४ सालमा साविकको गर्पन गाविस वडा नम्बर १ हालको वीरेन्द्रनगर १६ मेहेलीमा जन्मिएका बेदप्रकाश ढकालको बाल्यकाल रमाइलोसँग वित्यो । गाउँमा जन्मिएका सबैको बाल्यकाल घरायसी काम, साथीहरुसँगको रमाइलो र पढाइमा नै वित्ने गर्छ । ढकालको पनि घरको काम गर्दै र साथीहरुसँग खेल्दैमा बाल्यकाल वित्यो । उनी बाल्यकालदेखि पढाइमा राम्रै थिए । बाल्यकालदेखि नै उनी साथीहरुसँग अलि बढी घुलमिल हुने, चन्चले स्वभाव र साथीहरुबीचको नेतृव लिने गर्थे । साथीहरुको बीचमा सबैभन्दा जान्ने र साथीहरुको नेतृत्व ढकालले नै लिने गर्थे । उनलाई बाल्यकालदेखि नै नेतृत्व लिन खुब मन पथ्र्याे । गाउँघरमा पनि सबैसँग बोली हाल्ने र मान्छे सानो भए पनि सबैसँग नडराइ बोल्ने उनको स्वभाव थियो । उनी नाच्न गाउन र विद्यालयमा सबै कार्यक्रममा भाग लिने गर्थे । चाडपर्वको समयमा पनि गाउँमा उनी नभए रमाइलो नै हुन्थेन । साथीभाइहरुको माझमा उनै खोजी हुने गथ्यो । तिहारमा देउसी भैलो खेल्न पनि उनी नै अग्रसर हुन्थे । उनी बाल्यकालदेखि नै सबै कुरामा नेतृत्व गर्ने र चासो दिने गर्थे ।

पढाइ

उनले गाउँकै विद्यालयबाट पढाइ सुरु गरेका हुन् । उनले गाउँकै विद्यलायबाट एसएलसी पास गरे । उच्च शिक्षा पढ्न पछि उनी वीरेन्द्रनगर आए । उनले सुर्खेत शिक्षा क्यापसबाट कक्षा ११, १२ र स्नातक उर्तिण गरेका हुन् ।

जागिरको सुरुवात

उनकोे जागिरको शिलशिला २०५४ सालदेखि आर्दश मावि मेहेलीबाट सुरु भएको हो । उनले उक्त विद्यालयमा २०६० सालसम्म अध्यापन गराए । एकवर्ष उनले होराइजन एकेडेमीमा पनि पढाए । २०६२ सालदेखि २०६५ सम्म ह्युरेस्टिक स्कुल उनी आफैले स्थापना गरेर पढाउन सुरु गरे । पछि २०६६ सालदेखि उनले आफ्नै विद्यालय गोल्डेन बर्ड एकेडेमी सञ्चालन गरे । उनी उक्त विद्यालयको फाउण्डर हुन् । अहिले विहानमा उनले टेक्निकल विषयमा पढाउने गर्छन् । बाँकी समय उनले आफ्नै स्कुललाई दिने गरेका छन् । उनी भन्छन्, ‘नीजि विद्यालयमा आफ्नै लगानी गरेर सञ्चालन गरेको छु, खुसी लाग्छ विद्यार्थीहरुको सेवा गर्न पाउँदा ।’ समाजसेवा गर्ने उनको बाल्यकालदेखिको सपना थियो । अहिले शिक्षा क्षेत्रबाट उनले विद्यार्थीहरुको भविष्य उज्वल बनाउन संर्घष गरिरहेका छन् । आजका साना कोपिला भविष्यका कर्णधार हुन् । उनी तीनै साना कोपिलालाई भविष्यका कर्णधार बनाउने अभियानमा लागि परिरहेका छन् । उनी अहिले प्याब्सनको दोस्रो कार्यकालको जिल्ला अध्यक्ष पनि हुन् ।

नेता बन्ने रहर


बाल्यकालमा सबैको एउटा एउटा सपना वा योजना हुन्छ । यो अथवा त्यो बन्छु भन्ने । ढकालको भविष्यको योजना भने नेता बन्ने थियो । उनी बाल्यकालदेखि नै नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएकाले पनि उनलाई राजनीतिमा लाग्ने धेरै रुची थियो । बाल्यकालमा साथीहरुको नेतृत्व उनैले लिने गर्थे । विद्यालयमा केही कार्यक्रम भयो भने सबै कार्यक्रममा भाग लिने चासो दिने स्वभावका थिए । बाल्यकालदेखि नै राजनीतिको लहरले छोइसकेको थियो । बाल्यकालमा उनलाई भविष्यमा गाविसको अध्यक्ष बन्छु भन्ने लाग्थ्यो । ठुलै नेता बनेर समाजसेवा गर्छु भन्ने उनको बाल्यकालको सपना पुरा बाँकी नै छ । तर उनी शिक्षण पेशामा लागेर समाज सेवा गर्न पाउँदा खुसी छन् ।

पेशाप्रति सन्तुष्टी

बाल्यकालदेखिको नेता बन्ने ढकालको सपना पुरा नभए पनि समाजसेवा गर्ने सपना भने पुरा भएको छ । उनी भन्छन्, ‘मेरो बाल्यकालदेखि नेता बन्ने सपना थियो, तर शिक्षण पेशामा लागेर पनि सन्तुष्ट छु ।’ उनले आफ्नै जग्गा र लगानीमा गोल्डेन बर्ड एकेडेमी सञ्चालन गरेका छन् । आफ्नै विद्यालय खोलेर विद्यार्थीलाई शिक्षा दिन पाउँदा उनी आफ्नो पेशाप्रति सन्तुष्ट छन् । उनी भन्छन्, ‘राजनितीमा लागेको भए एक पक्षले मन नपराउने र हेर्ने दृष्टिकोण पनि फरक हुन्छ, तर शिक्षा पेशामा सबै साथीभाईहरु, सबै विद्यार्थी र अभिभावकहरुले सम्मानका साथ हेर्ने गर्नु हुन्छ त्यो नै मेरो लागि सन्तुष्टी हो ।’ अहिले राजनीति छोडेर शिक्षण पेशामा लागेर ठिकै गरे जस्तो उनलाई लाग्ने गर्छ ।

राजनीतिमा पनि आवद्ध

ढकाल राजनीतिमा पनि आवद्ध छन् । उनी ११ वर्षसम्म नेविसंघको जिल्ला सचिव, आठ वर्ष दुई कार्यकाल शिक्षण संघको जिल्ला कार्यसमिति सदस्य भइसकेका छन् । हाल उनी वडाको पार्टी सभापतिको नेतृत्व गरिरहेका छन् । समाजसेवाकै लागि उनी वडामा सक्रिय सहभागिता जनाइरहेका छन् । उनी भन्छन्, ‘राजनीतिमा पनि आवद्ध भएर समाजसेवा नै गरिरहेको छु ।’

अबको योजना

उनको अबको योजना शिक्षा क्षेत्रबाटै समाजसेवा गर्ने र शिक्षा क्षेत्रको स्तर उन्नती गर्ने रहेको छ । उनले आफ्नै लगानीमा स्कुल सञ्चालन गरिरहेका छन् । उक्त विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापित गराउने र सुर्खेतमा राम्रो र मोडल विद्यालयको रुपमा स्थापित गराउने योजना रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार