नेपालमा भ्रष्टाचार बृद्धिको अवस्था खराब: सांसद र कर्मचारी बढी भ्रष्ट, प्रधानमन्त्रीको भूमिका निराशाजनक

काठमाडौं, ११ मंसिर ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको एक सर्वेक्षणमा एसियाका १७ देशमध्ये नेपालमा भ्रष्टाचार वृद्धिको अवस्था चिन्ताजनक देखिएको छ । नेपालका ८४ प्रतिशत जनताले भ्रष्टाचार देशको सबैभन्दा ठूलो समस्या हो भनेका छन् ।

जनमतका आधारमा तयार गरिएको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया, २०२०’ प्रतिवेदनमा एसियाका देशहरुमध्ये नेपालमा भ्रष्टाचार बृद्धिको अवस्था खराब देखिएको छ ।

सर्वेक्षण अनुसार नेपालका ८४ प्रतिशत जनताले भ्रष्टाचार देशको सबैभन्दा ठूलो समस्या हो भनेका छन् । सांसद र सरकारी कर्मचारीलाई सबैभन्दा बढी भ्रष्ट भनेका छन् ।

पछिल्लो एक बर्षमा सर्वेक्षणमा सहभागी ५८ प्रतिशतले भ्रष्टाचार बढेको बताएका छन् । प्रतिवेदनमा सांसद र कर्मचारीलाई भ्रष्टाचारी मान्ने उत्तरदाता समान ४३/४३ प्रतिशत छन् ।

४० प्रतिशतले स्थानीय सरकारका अधिकारी र २८ प्रतिशतले प्रहरीलाई भ्रष्ट मानेका छन् । न्यायाधीश र न्यायिक अधिकारीलाई २४ प्रतिशतले भ्रष्ट भनेका छन् ।

‘भ्रष्टाचारीको मुख पनि हेर्दिन’ भन्दै पटक पटक भ्रष्टाचार नियन्त्रण गर्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नै किटेर भ्रष्टाचार नियन्त्रणमा उनको भूमिका निराशाजनक भएको टिप्पणी गरिएको छ ।

विभिन्न क्षेत्रका एक हजार जनामा गरिएको सर्वेक्षण अनुसार १२ प्रतिशतले पछिल्लो एक वर्ष सरकारी निकायबाट काम गर्दा घुस खुवाउनु परेको बताएका छन् ।

नेपालमा राष्ट्रपति तथा प्रधानमन्त्रीकै संरक्षणमा भ्रष्टाचार बढेको विश्वास गर्ने जनताको संख्या ५० प्रतिशत रहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

स्थानीय तहका अधिकारी भ्रष्ट रहेको सोच्ने नेपालीको संख्या ४० प्रतिशत रहेको तथा २८ प्रतिशतले प्रहरी भ्रष्टाचारी हुने सोच्ने गरेको पनि अध्ययनले देखाएको छ ।

२९ प्रतिशत जनताले विगत एक वर्ष सार्वजनिक सेवा लिंदा भनसुन गर्नुपरेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । १३ प्रतिशत जनतालाई भोट दिनका लागि घुस खुवाइएको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

सात प्रतिशतले सार्वजनिक सेवा लिँदा यौन दुव्र्यवहार भएको वा त्यस्तै व्यवहार भएको व्यक्ति चिनेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । प्रतिवेदनमा भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउनु पर्ने र राजनीतिक नेतृत्वले भ्रष्टाचार गर्दिन भनेर प्रतिबद्धता जनाउनु पर्ने भनिएको छ ।६२ प्रतिशत उत्तरदातालाई सरकारले भ्रष्टाचार सम्बन्धी काममा ध्यान दिएको छ भनेका छ ।

अध्ययनका अनुसार ४६ प्रतिशत नेपालीलाई भ्रष्टाचार नियन्त्रण गर्ने आयोग (अख्तियार दुरुपयोग अनुसन्धान आयोग)बारे थाहा छैन, भए पनि त्यसले के काम गर्छ भन्ने जानकारी छैन । तीमध्ये १७ प्रतिशतले आफूले भ्रष्टाचार नियन्त्रण गर्ने आयोगबारे आजसम्म नसुनेको बताएका थिए ।

त्यस्तै, थप २९ प्रतिशतले यस्तो आयोगको कामबारे जानकारी नभएको बताएका थिए । ४६ प्रतिशत उत्तरदाताले भने यस्तो आयोगबारे सामान्य जानकारी भएको बताएका थिए । सर्वेक्षणमा सहभागीमध्ये ८४ प्रतिशतले भने आयोगले राम्रो काम गरिरहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया