अनि नियम कसले मान्ने ?

सुर्खेत, ११ मंसिर ।

नियम अनुसार ‘नो पार्किङ’ लेखिएको ठाउँमा सवारी साधन पार्किङ गर्न पाइदैन । तर सुर्खेतमा भने नियम कार्यान्वयन गर्ने ट्राफिक प्रहरीले नै नियमको धज्जी उडाउने गरेका छन् । त्यतिमात्र होइन, सर्वसाधारणलाई गल्ती देखाएर कारबाही गर्ने ट्राफिक प्रहरी आफैले नै नो पार्किङमै पार्किङ गर्ने गरेका हुन् ।

बुधबार वीरेन्द्रनगरको बुद्धपथमा केही मोटरसाइकल गलत स्थानमा पार्किङ गरिएको भन्दै ट्राफिक प्रहरीले हेलमेट नियन्त्रणमा लिए । तर त्यसक्रममा सुर्खेतका ट्राफिक प्रहरी प्रमुख उपेन्द्रप्रसाद आचार्य चढेको गाडी ‘नो पार्किङ’ लेखिएको ठाउँमै पार्किङ गरिएको थियो । अरुलाई नियम पालना गर्न भन्दै कारबाही गर्दै हिँडेको ट्राफिकको गाडी नै गलत स्थानमा रोकिएको फोटो खिच्दा ट्राफिक प्रहरी प्रमुख आचार्य निकै कड्कीए । उनले सम्झाउनुको साटो अपशब्द बोले ।

हालै मात्र सुर्खेत आएका उनले वीरेन्द्रगरको ट्राफिक व्यवस्थापन गर्ने नाममा सर्वसाधारणमाथि जबरजस्ती गर्ने, अपशब्द बोल्ने र दुव्र्यवहार गर्न थालेका छन् । नियम पालना गर्ने नाममा आफूले नियमको पालना नगर्ने तर अरुलाई थर्काउँदै हिँड्न थालेपछि आचार्यको आलोचना हुन थालेको छ । साथै सर्वसाधारणले बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्ने नाममा अपशब्द बोल्ने र दुख दिनुको साटो पहिला व्यवस्थित पार्किङको व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया