ताजा खबर
  

वीरेन्द्रनगरको एकीकृत विकास गर्न पाँच वटा ‘ड्रिम प्रोजेक्ट’

सुर्खेत, १० मंसिर ।

कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरको स्वरुप बदल्ने संकल्प गरेको छ । केन्द्र, प्रदेश र स्थानीय सरकारको साझेदारीमा खानेपानीको समस्या समाधानदेखि विमास्थल विस्तारसम्मका ‘ड्रिम प्रोजेक्ट’ अर्थात ठूला पाँचवटा आयोजनाहरु लागु गरिएको हो । नगरपालिका स्थापना भएको झण्डै ४४ बर्षपछि पहिलो पटक सरकारले पूर्वाधारको क्षेत्रमा एक अर्बभन्दा बढीको लगानी भएको हो । कर्णाली प्रदेश सरकारको सक्रियतामा राजधानीको मुहार बदल्ने गरी पाँच वटा ड्रिम प्रोजेक्ट सुरु भएका हुन् ।

राजधानीको एकीकृत विकासका लागि कर्णाली प्रदेश सरकारले पहिलो पटक एक अर्ब एक करोड रुपैयाँ लगानी गरेको हो । चालू आर्थिक बर्षमा विभिन्न पाँच वटा प्रोजेक्टमा रहेर कुल एक अर्ब एक करोड लगानीमा गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले छनौट गरेका पाँच वटा ड्रिम प्रोजेक्ट अन्तरगत सडकदेखि विमानस्थल विस्तारसम्मका आयोजनाहरू रहेका छन् । जसमध्ये सुर्खेत विमानस्थल विस्तारका आयोजना सबैभन्दा ठूलो लगानीको आयोजना हो । विमानस्थल विस्तारकै लागि प्रदेश सरकारले चालू आर्थिक बर्षमा ५० करोड बजेट छुट्याइएको छ ।

विमानस्थल विस्तारका लागि प्रदेश सरकार र संघीय सरकारबीच समझदारी भइसकेको छ । समझदारी अनुसार संघीय सरकारले विमास्थल विस्तारका लागि ३० विगाह जग्गा अधिग्रहण गर्न अनुमति दिएको छ । हाल १२ सय ६० मिटर रहेको धावनमार्गलाई विस्तार गरेर १५ सय मिटर पु¥याइने छ । धावनमार्ग १५ सय मिटर पु¥याइएको खण्डमा ठूला जहाजहरु अवतरण गर्न सकिने अपेक्षा छ । त्यस्तै बाँकी राजधानीका सडकहरू विस्तार तथा स्तरोन्नति, खानेपानी समस्याको समाधान, पर्यटकीय क्षेत्रको विकास र चक्रपथ निर्माणका लागि कुल ५१ करोड लगानी गरेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

सडक विस्तार आयोजना अन्तरगत एकैपटक वीरेन्द्रनगरका मुख्य तथा सहायक सडकहरुको स्तरोन्नती तथा विस्तार कार्य भइरहेको छ । चक्रपथ निर्माणसँगै वीरेन्द्रनगरका मुख्य तथा सहायक सडकमा कालोत्रपत्रे, स्तरोन्नती तथा मर्मत सुधार र नाली निर्माणको काम भइरहेको छ ।सडक स्तरोन्नति अन्तरगत वीरेन्द्रनगरको मुख्य पर्यटकीय क्षेत्र काँक्रेविहार पुग्ने सडक (मंगलगढीदेखि लाटीकोइलीसम्म) कालोपत्रेका लागि १७ करोड बजेट छुट्याएको छ । यस्तै राजधानी शहर वीरेन्द्रनगरको खानेपानी समस्या समाधानको लागि कुल आठ करोड बजेट छुट्याइएको छ । उक्त बजेटबाट भेरी नदीको पानी लिफ्टिङ गरेर वीरेन्द्रनगरमा ल्याईने छ भने हालको पानी आपूर्तिलाई सहज बनाइने छ । खानेपानी आयोजनाको लागि ठेक्का प्रक्रिया तत्काल सुरु गर्न प्रदेश सरकारले संघीय खानेपानी तथा ढल व्यवस्थापना कार्यालयलाई आग्रह गरेको छ । संघीय कार्यालयले काम नगरे प्रदेश सरकार आफैले टेन्डर गरेर आयोजना अघि बढाउने प्रदेश सरकारले जनाएको छ ।

त्यस्तै वीरेन्द्रनगरका पर्यटकीय क्षेत्रहरू काँक्रेविहार, बुलबुले, देउती बज्यै मन्दिर र सहिद पार्कको पूर्वाधार निर्माणको काम भइरहेको छ । आयोजना अन्तरगत वीरेन्द्रनगर नगरपालिकाको सह–लगानीमा मुख्य बजार क्षेत्रमा सीसीक्यामेरा र सोलार जडान गरिने छ । वीरेन्द्रनगरको राजधानी सुहाउँदो शहर निर्माणका लागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला संयोजक रहेको ‘राजधानी वीरेन्द्रनगरको एकीकृत विकास समिति’ गठन गरेर कामको थालनी गरिएको हो । तोकिएकै समयमा पाँचवटै प्रोजेक्ट सम्पन्न भए राजधानीको स्वरुप फेरिने प्रदेश सरकारको अपेक्षा छ ।

वीरेन्द्रनगरको मुहार बदल्ने प्रतिबद्धता


आगामी एक बर्षभित्र वीरेन्द्रनगरको मुहार बदल्ने गरी विकासे आयोजनाहरु अघि बढाउन प्रदेश र स्थानीय सरकारले साझा प्रतिबद्धता जनाएका छन् । मंगलबार आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको वीरेन्द्रनगरको एकीकृत विकास सम्बन्धी भएका निर्णयहरु सार्वजनिक कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले विकास आयोजनालाई तोकिएकै समयमा सम्पन्न गराउने प्रतिबद्धता जनाएका हुन् ।

वीरेन्द्रनगरको विकासको लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक अर्ब एक करोड बजेट विनियोजन गरेको भन्दै मन्त्री ज्वालाले बजेट कार्यान्वयन गर्नेगरी सबै आयोजना सम्पन्न हुने बताए । संघ र प्रदेश सरकारको संयुक्त लगानीमा सुरु हुने आयोजनामा संघले चासो नदिएको खण्डमा प्रदेश सरकार एक्लैले आयोजनाको काम थाल्ने उनको भनाइ छ । त्यस्तै वीरेन्द्रनगरका नगर प्रमुख सुवेदीले वीरेन्द्रनगरमा हुने जुनसुकै आयोजनाहरु पनि तोकिएकै समयमा सम्पन्न गराउन सहकार्य गर्ने बताए । प्रदेश राजधानीको एकीकृत विकासका लागि वीरेन्द्रनगरले संघ र प्रदेश सरकारसँग हातेमालो गरेर अघि बढ्ने उनको प्रतिबद्धता छ ।

यी हुन् एक अर्बका आयोजना

वीरेन्द्रनगरको एकीकृत विकासका लागि प्रदेश सरकारले विभिन्न पाँच वटा प्रोजेक्ट बनाएको छ । जसमा दजनौँ आयोजनाहरु छन् । जसमध्ये सुर्खेत विमानस्थल सबैभन्दा ठूलो लगानीको आयोजना हो । विमानस्थल विस्तारका लागि मात्रै कर्णाली प्रदेश सरकारले ५० करोड बजेट विनियोजना गरेको छ । त्यस्तै राजधानीका सडहरु विस्तारको अर्काे महत्वपूर्ण प्रोजेक्ट हो । जसमा मंगलढीचौकदेखि गणेशचौक, मंगलढीचौकदेखि लाटीकोइलीसम्म, गणेशचौकदेखि काठको पुलसम्म र प्लानिङ एरियाका बाँकी सडकको कालोपत्रे गरिनेछ । सडकको कालोपत्रे तथा स्तरोन्नती एक महिनाभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।

त्यस्तै वीरेन्द्रनगरका मुख्य सडक अन्तरगत धुलियाबिटदेखि बाङ्गेसिमम्म, गणेशचौक मंगलगढी मुख्य सडकमा हरियाली र सुन्दर शहरका लागि फुटपात तथा विजुलीका तार, सीसी क्यामेरा र सोलार जडान गरिने छ । त्यस्तै वीरेन्द्रनगर नगरपालिकाको सह–लगानीमा थप तीन वटा प्रोजेक्ट अर्थात नेताचौकदेखि आँखा अस्पताल जोड्ने सडक, मंगलगढीचौकदेखि क्याम्पस रोडसम्मको सडक, र भ्याली भ्यू होलटदेखि पिपलचौतारीसम्मको सडकको नालासहित कालोपत्रे गरिनेछ ।

यरीचौक–पतेनी–जैपुर सडक, देउती बज्यै–चौकेढुङ्गा–काँक्रेविहार र लाटीकोइली शिव मन्दिरदेखि तल्लो पर्सेनी जोड्ने सडकको स्तरोन्नती एवम कालोपत्रे र चक्रपथ निर्माणको कामलाई अघि बढाइने छ । त्यस्तै खानेपानीको दीर्घकालिन समस्या समाधानको लागि झुप्रा दोभानबाट भेरी नदीको पानी लिफ्टिङ गर्ने र हालको वितरण प्रणालीलाई सहज रुपमा आपूर्ति गराइने छ । जसको काम संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले गर्नेछ । यदी सो कार्यालयले तत्काल काम अघि बढाउन चासो नदिएको खण्डमा प्रदेश सरकारले ठेक्का प्रक्रिया अघि बढाउने छ । प्रदेश सरकारबाट विनियोजित भएको आठ करोडको बजेटबाटै ठेक्का प्रक्रिया अघि बढाउने गरी पानी वितरणको दीर्घकालिन विकास गर्न भएको अध्ययन प्रतिवेदन प्रदेश सरकारले संघीय सरकारको अन्तरगतको खानेपानी तथा ढल निकास कार्यालयसँग प्रतिवेदन माग गरेको छ । खानेपानीको समस्या समाधानको लागि मंसिर १३ गते पुनः छलफल गरिनेछ ।

त्यस्तै पर्यटकीय क्षेत्र अन्तरगत काँक्रेविहार, बुलबुले, देउती बज्यै मन्दिर र सहिद पार्कको पूर्वाधार निर्माणलाई पूर्णता दिइने छ । राजधानीको एकीकृत विकासका लागि कर्णाली प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा वीरेन्द्रनगरको एकीकृत विकास समिति गठन गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार