जुम्लाको मालपोतः नाम अनलाइन, काम ढड्डाबाटै

जुम्ला, ९ मंसिर ।

जुम्लाको सिंजा गाउँपालिका– १ धाँपागाउँका मयाराम आचार्य जग्गा कारोबार गर्न ३ कात्तिकमा सदरमुकाम खलंगास्थित मालपोत कार्यालयमा आए । मालपोत कार्यालय आएको उनी एक साताभन्दा बढी भयो । काम भने अहिलेसम्म बनेको छैन । मालपोतले अनलाइन सेवा सुरु गरे पनि ढड्डा प्रणालीका कारण आचार्यको सदरमुकाम बसाइ लम्बिएको हो ।

उनले भने, ‘दैनिक कार्यालय धाउने काम मात्रै भएको छ । जे कामका लागि आएको हो, अझै पूरा भएन । कति दिन लाग्ने हो, केही थाहा छैन । टाढाबाट आउनुपर्दा खर्च धेरै लाग्छ । सदरमुकाममा होटलको बसाइ दैनिक एक हजार पाँच सय खर्च लाग्छ’, आचार्यले भने ।

पातारासी गाउँपालिका–३ छुमचौर गाउँकी याङजुङ तामाङले २६ कात्तिकमा मालपोत कार्यालयमा जग्गाको लालपुर्जा बनाउन फाइल दर्ता गरेकी छन् । जग्गाको लालपुर्जा बनाउन लामो समयदेखि कार्यालय धाउँदा पनि सेवा नपाएको उनको गुनासो छ ।

त्यस्तै, गुठीचौर गाउँपालिका–४ खल्लावाडाका धनकृष्ण कुमाई पनि १९ कात्तिकदेखि मालपोत कार्यालय धाउँदै छन् । दाजुभाइको जग्गा भागबन्डा गरी लालपुर्जा अर्थात् मोड कायम गर्न उनी मालपोत आएका हुन् ।

‘कार्यालय धाउन थालेको झन्डै महिना दिन पुग्यो । अहिलेसम्म काम भएन । काम भनेको तर दैनिक कार्यालय धाउने मात्रै भयो, सेवा पाइएन’, उनको गुनासो छ ।

मालपोत फाँटवालासँगको मिलोमतोमा चिनजान भएका मान्छेका काम छिट्टै हुने गरेको सेवाग्राही बताउँछन् । सीधासोझा लाइनमा बसेकोे बस्यै हुने तर बाठाटाठाले सहजै काम गर्ने गरेको उनीहरूको गुनासो छ ।

जुम्ला मालपोत कार्यालयमा दैनिक ५०र६० सेवाग्राहीको भीड लाग्ने गरे पनि दिनमा मुस्किलले १० जनाले मात्र सेवा पाउने गरेका छन् । सरकारले १७ कात्तिक २०७६ मा मालपोत कार्यालय जुम्लालाई अनलाइन सेवामा लगेपछि यस्तो समस्या झनै बढेको हो ।

जुम्ला मालपोतका निमित्त कार्यालय प्रमुख महेन्द्र आचार्यका अनुसार यसअघि मालपोतको काम सबै लिखित रुपमा ढड्डाबाटै हुने गरेको थियो । केन्द्रीय मालपोत विभागले अनलाइन प्रणालीमार्फत गत वर्षबाट काम गर्न थालेपछि सेवाग्राहीलाई झनै सास्ती भएको छ । उनले भने, ‘अहिले अनलाइन र ढड्डा दुवै तरिकाबाट काम गर्नुपर्छ । अनलाइनबाट छिटोछरितो गर्न पहिला सेवाग्राहीका कागजात सबै कम्प्युटर तथा सप्mटवेयरमा इन्ट्री गर्नुपर्ने र ढड्डामा पनि राख्नुपर्ने भएकाले यस्तो समस्या भएको हो,’ निमित्त प्रमुख आचार्यले भने ।

सप्mटवेयरमा इन्ट्री भएका सेवाग्राहीले भने छिट्टै सेवा पाउने उनको दाबी छ । जुम्लामा इन्टरनेट पनि चुस्त नभएकाले ढिलाइ हुने गरेको आचार्यले जानकारी दिए ।

‘विभागले मालपोतका सवै कामकाज अनलाइन प्रणालीबाट सुचारु गरे पनि दक्ष जनशक्ति अभाव भएकाले सेवा प्रवाहमा ढिलाइ भएको हो । कार्य सम्पादन गर्ने कम्प्युटर अपरेटर करारमा एक जना मात्रै छन् । दैनिक जग्गा कारोबार गर्नेको कार्यालयमा भीड पनि उस्तै लाग्छ,’ उनले भने । यस विषयमा सम्बन्धित विभागमा जानकारी गराइसकिएको आचार्यले दाबी गरे ।

 

पालिका खबरबाट साभार ।

तपाईको प्रतिक्रिया