प्रहरीको गोली लागि बर्दिबासमा दुई जना गम्भीर घाइते, बालिका हत्याको विरोधमा प्रदर्शन

बर्दिवास, ९ मंसिर ।

महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर दुई जना गम्भीर घाइते भएका हुन् । घाइते हुनेमा बर्दिबास नगरपालिका–५ का श्याम कार्की र वडा नम्बर १४ का अफताब आलम छन् । घाइतेको उपचार भइरहेको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–१४ शुभम बस्तीबाट हराएकी ६ वर्षीय बालिका गुलाब साहको सोमबार मध्यरातमा बोरामा शव फेला परेपछि स्थानीय आक्रोशित भई प्रदर्शनमा उत्रिएका हुन् ।

स्थानीयले बलात्कारपछि हत्या भएको आशंका गरेका छन् । हत्या अभियोगमा पक्राउ परेका गौशाला नगरपालिका–५ का अरुणकुमार साहको बर्दिबासस्थित घरमा प्रदर्शनकारीले आगजनी गरिदिएका छन् ।

प्रदर्शनकारीले महेन्द्र राजमार्गमा शव राखेर प्रदर्शन गरेका थिए । प्रहरीले शव नियन्त्रणमा लिएको छ भने प्रदर्शनलाई तितरबितर पनि पारेको छ । परिस्थिति नियन्त्रणका लागि घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।

बालिकाको शव बोरामा राखेर फालेको अवस्थामा फेला परेपछि हत्याको आरोपमा साहलाई इलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ ।

बर्दिवास नगरपालिका–१४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुन आइतबार साँझदेखि बेपत्ता भएकामा सोमबार साँझ घर नजिकै उनको शव बोरामा पोको पारेको फालेको अवस्थामा फेला परेको थियो ।

बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फको खाली जग्गामा बालिकाको शव भेटिएको थियो । बर्दिवासमा किराना पसल चलाउने अरुण साहले बालिकाको हत्या आफूले गरेको प्रहरीले जनाएको छ । स्थानीयले भने बालिकाको बलात्कार गरेर हत्या गरेको हुन सक्ने आशंका गरेका छन् ।

तपाईको प्रतिक्रिया