कालिकोट, ७ मंसिर ।
कालिकोट पचालझरना गाउँपालिकाका सबै सामुदायिक विद्यालय खुलेका छन् । नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालयहरू खुलेका हुन् ।
कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिक विद्यालयहरू सरकारले विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई जिम्मा दिएपछि पठनपाठनका लागि खुला गरिएका हुन् ।
अहिलेसम्म गाउँपालिकामा संक्रमितको संख्या शून्य हुँदा पचालझरना गाउँपालिकाले गाउँ कार्यपालिकाको निर्णयअनुसार पालिकाभित्र सञ्चालन सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय खुला गरिएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए ।
सरोकारवालासँग छलफल गरी विद्यालय खोल्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सेजुवालले बताए । ‘कोरोनाको त्रासले पढाइ लथालिङ भएको छ । त्यसैले विद्यालय खोल्ने निर्णय गरिएको हो,’ उनले भने, ‘अब कोरोनाका सुरक्षा विधि अपनाएर विद्यालय खोलिनेछ ।’ विद्यार्थीलाई स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पठनपाठन सुरु गरिएको ज्ञानोदय माविका प्राध्यापक ममराज सेजुवालले बताए ।
विद्यालयमा स्वास्थ्य सुरक्षा सावधानी अपनाएर स्यानिटाइजर, साबुन र मास्कको प्रयोग गर्नुका साथै आवश्यकताअनुसार विद्यार्थी र शिक्षकको पिसिआर परीक्षण गरी पठनपाठन सुरु गर्ने गाउँपालिका अध्यक्ष सेजुवालले बताए । कालिकोटमा नौवटा स्थानीय तहमध्ये अन्यमा स्थानीय तहले विद्यालय सञ्चालन गरेका छैनन् ।
युग संवाददाता । । ७ मंसिर २०७७, आईतवार १६:१२