सामाजिक प्रतिष्ठाका लागि निजामति रोजेँ

रुचि, आवश्यकता र सन्तुष्टि एक अर्कासँग अन्तर सम्बन्धित छन् । कहिलेकाँही आत्मसन्तुष्टिको अगाडि रुचि र आवश्यकता गौण हुन्छन् । तर जीवन जीउने कला जान्ने हो भने आवश्यकता, रुचि र आत्मसन्तुष्टि एउटै पेशामा प्राप्त गर्न सकिन्छ भन्ने एउटा उदाहरण हुन् मोहनबहादुर बुढाक्षेत्री । उनले जीवनको महत्वपूर्ण समय शिक्षण पेशामा विताए । शिक्षण पेशाले रुचि र आवश्यकता त पुरा ग¥यो । तर आत्मसन्तुष्टि दिलाउन सकेन । त्यसपछि उनी शिक्षण पेशा त्यागेर निजामति क्षेत्रमा होमिए । प्रस्तुत छ, हाल पञ्चपुरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत उनै मोहनसँग निजामति सेवा र जीवन भोगाईसँग सम्बन्धित रहेर गरिएको कुराकानीको सम्पादित अंश ः

रहरले मेलापात जान्थे

विस २०४३ साल फागुन १३ गते पञ्चपुरी नगरपालिका वडा नं. ३ चौरमा मोहनको जन्म भएको हो । बुवा मणिराम र आमा लक्ष्मी बुढाक्षेत्रीका उनी तेस्रो सन्तान हुन् । कृषक परिवारमा जन्मिए पनि संयोगबस मोहनले मेलापात गर्नु परेन । कहिलेकाँही भने रहरले मेलापात जान्थे । तर बाध्यता थिएन । ‘घरको सबै काम आमाबुवा र दाजुदिदीले गर्नुहुन्थ्यो’ उनी भन्छन्, ‘कृषक परिवारमा जन्मिए पनि मेलापात गर्नु परेन ।’ साथीभाइसँग रमाउने मन लागेको समय भने गोठालो जाने गर्थे ।

पेशा अनुसारको पढाइ

मोहन सानैदेखि पढाइमा अब्बल थिए । प्राथमिक तहमा कहिले प्रथम त कहिले दोस्रो हुन्थे । तर कक्षा ६ देखि आठसम्म भने पढाइ राम्रो भएन । कक्षा ९ र १० मा भने उनी प्रथम भए । नेपाल राष्ट्रिय प्राथमिक विद्यालय चौरबाट खकरा सुरु गरेका मोहन २०५८ सालमा सूर्यप्रकाश मावि पलैटेबाट एसएलसी पास गर्ने एक्ला विद्यार्थी बने । जन माध्यमिक विद्यालय वीरेन्द्रनगरबाट विज्ञान विषयमा आइएसी र तत्कालिन पब्लिक साइन्स क्याम्पसबाट साइन्स विषयमा ब्याचलर गरे । त्यसपछि उनी अध्यापन पेशामा सामेल भए । तर साइन्स पढेको विद्यार्थी शिक्षक हुन पाउने कानूनी प्रावधान थिएन । जसका लागि उनले शिक्षातर्फ गणित र विज्ञापन विषयमा समेत ब्याचलर गरे । गणित विषयमा पुनः वीए अध्ययन गरे । निजामति सेवामा प्रवेश गरेपछि पुनः कानून विषयमा ब्याचलर अध्ययन गरे । अध्ययनका हिसावले महेन्द्रबहुमुखि क्याम्पसबाट राजनीति शास्त्रमा स्नातकोत्तर तह पुरा गरेका छन् । उनले जुन–जुन क्षेत्र काम गरे, नीतिगत ज्ञानका लागि त्यही विषय अध्ययन गरेका छन् ।

अनि शिक्षण पेशा त्यागे…

करिव पाँचवर्ष मोहनले शिक्षण पेशा गरे । सिद्ध माध्यमिक विद्यालय गोठीकाँडा र त्रिपुरेश्वर मावि ढोडेखालीमा गणित र विज्ञान दुबै विषय पढाउँथे । शिक्षण पेशाबाट आम्दानी पनि राम्रै थियो । तलवको अतिरित्त ट्युसनबाट पनि राम्रो आम्दानी हुन्थ्यो । अन्य शिक्षकका तुलनामा गणित र विज्ञान विषय पढाउने शिक्षकले विद्यार्थीबाट राम्रै सम्मान गर्थे । शिक्षण पेशामै रमाउने उद्देश्यले वीएड अध्ययन गरे । शिक्षा संकाय अध्ययन नगरेका विद्यार्थीले शिक्षक बन्न लाइसेन्स पाउने व्यवस्था छैन । जसकाकारण उनले पनि शिक्षकको लाइसेन्स लिन वीएड अध्ययन गरे । यति हुँदाहुँदै पनि मोहनले शिक्षण पेशालाई जीउन जीउने माध्यम बनाउन सकेनन् । सामाजिक प्रतिष्ठा र आत्म सन्तुष्टिका लागि निजामति सेवामा लागे ।

‘शिक्षक सेवा आयोग लढ्नकै लागि मैले वीएड अध्ययन गरेको हुँ’ मोहन भन्छन्, ‘तर समाजले शिक्षकभन्दा निजामति कर्मचारीलाई धेरै सम्मान गथ्र्याे । म पनि सामाजिक प्रतिष्ठाकै लागि निजामतिमा लागेँ ।’ निजामति क्षेत्रमा आउने अर्काे कारण निस्पक्ष प्रतिस्पर्धा पनि हो । ‘निजामति क्षेत्र आफ्नो बल र बुद्धिले जागिर खाने क्षेत्र हो, अन्य क्षेत्रमा जस्तो लोकसेवामा कसैको भनसुन चल्दैन’ उनी भन्छन्, ‘निस्पक्ष परीक्षा हुने भएकै कारण लोकसेवा दिएँ, समयले साथ दियो र सफल भएँ ।’

निजामति क्षेत्रमा रहेर बढीभन्दा बढी नागरिकको सेवा गर्न पाउँदा थप सन्तुष्टि मिल्ने उनको भनाइ छ । समाजले व्यक्तिलाई सामाजिक प्रष्तिठा, जीवन निर्वाह, सार्वजनिक सेवा प्रवाह र स्थायित्वको दृष्टिकोणबाट उसको स्तर मापन गर्ने भएका कारण मोहनले निजामति क्षेत्र रोज्नु परेको तर्क गर्छन् । निजामति पेशाबाट सहज रुपले जीवन निर्वाह गर्न सकिने, नागरिकसँग प्रत्यक्ष सामेल भएर सेवा प्रवाह गर्न सकिने र समाजले पनि प्रतिष्ठित पेशा ठान्ने भएका कारण शिक्षण पेशा त्यागेर निजामति क्षेत्रमा आएकोे मोहनको तर्क छ । २०६७ सालमा खरिदार पदमा निजामति क्षेत्रमा प्रवेश उनले दैलेख अदालत दैलेखबाट सेवा आरम्भ गरेका हुन् । २०७४ मंसिरमा अधिकृत भएपछि उनी सुर्खेतकै बराहताल गाउँपालिकामा रहेर केही समय सेवा गरे । हालसम्म उनले दैलेख, कालिकोट र सुर्खेतलाई जिल्लामा रहेर सेवा गरिसकेका मोहन हाल पञ्चपुरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् ।

अवकाशपछि वकालत गर्ने रहर

न्याय क्षेत्रबाट निजामति क्षेत्रमा प्रवेश गरेका मोहन करिव पाँच वर्ष अदातलमा बसे । तर नीतिगत ज्ञानविना सहज रुपमा सेवा प्रवाह गर्न सकिदैन ठाने र कानून विषय अध्ययन गरे । अदालतमा रहँदा वकालत गर्ने व्यवहारिक र अध्ययनपछि नीतिगत ज्ञान हाँसिर गरे । व्यवहारिक र कानूनी ज्ञानपछि मोहनले अधिवत्ताको लाइसेन्स समेत लिए । यही कारण उनले अवकाशपछि वकालत गर्ने सोच बनाएका छन् । ‘मसँग कानूनको नीतिगत र व्यवहारिक ज्ञान छ, अधिवत्ताको लाइसेन्स पनि लिएको छु’ उनी भन्छन्, ‘सेवा अवधि सकिएपछि वकालत पेशामा लाग्ने रहर छ ।’

तपाईको प्रतिक्रिया