‘स्थानीय तहले बजेट खर्च गर्न सकेनन्’

सुर्खेत, ७ मंसिर ।

कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारले विनियोजन गरेको बजेट स्थानीय तहले खर्च गर्न नसकेको बताएका छन् । सहकर्मी समाजको सहकार्यमा दलित महिला केन्द्र नेपालले शनिवार वीरेन्द्रनगरमा गरेको अन्तरक्रियामा मन्त्री ज्वालाले प्रदेशबाट गएको बजेट स्थानीय तहले नै खर्च गर्न नसकेको बताएका हुन् ।

उनले लक्षित वर्गका लागि पनि विभिन्न शिर्षकमा बजेट विनियोजन गरिएको बताए । लक्षित वर्गमा छोरी बुहारी शिक्षा, छोरी बचत खाता, कर्णालीमा छुवाछुतको अन्त्य लगायतका शिर्षकमा बजेट विनियोजन गरेको उनको भनाइ छ । यस्तै प्रतिनिधीसभाका सदस्य पार्वती विशुंखेले व्यवस्था नौलो भएको र जनताको अवस्था पुरानै भएकाले काम गर्नलाई समस्या भएको बताइन् । उनले स्थानीय सरकार प्रत्यक्ष जनतासँग जोडिएको हुँदा स्थानीय सरकारसँग प्रदेश सरकारले समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिइन् ।


तर स्थानीय तहका जनप्रतिनिधिले भने प्रदेश सरकारले बजेट तर्जुमा गर्दा स्थानीय सरकारसँग समन्वय नगरेको आरोप लगाएका छन् । त्रिवेणी गाउँपालिका सल्यानका अध्यक्ष मानबहादुर डांगीले बजेट निमार्ण गर्दा स्थानीय तहसँग सहकार्य र छलफल नभएको बताए । प्रदेशबाट स्थानीय तहमा बजेट ढिलो जाने भएकाले समयमा काम सम्पन्न गर्न नसिएको उनको भनाइ छ । यस्तै जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष शिवा आचार्यले स्थानीय तहमा बजेट कनिका छरेजस्तो भएको बताइन् ।

सो अवसरमा सहकर्मी समाजका अध्यक्ष रत्न गाहामगरले जाजरकोट, सल्यान र कालिकोटमा सुशासनको क्षेत्रमा नागरिक सहभागिता कार्यक्रम लागु गरिएको जानकारी दिए । कार्यक्रममा जाजरकोट, सल्यान र कालिकोटका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षहरुको सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार