श्रीमान् श्रीमती एक रथका दुई पाङ्ग्रा हुन्

जीवन पनि रथ जस्तै हो । रथ चल्न दुई पांग्रा चाहिन्छ । जीवन चलाउन पनि जीवनसाथीको आवश्यकता हुन्छ । दुई पांग्राले एकै साथ रथलाई गुडाए जस्तै यज्ञ गिरी र इन्द्रा गिरीको जीवन पनि सँगसँगै गुडिरहेको छ । जीवनसाथीको सहारा विना जीवन अधुरो हुन्छ । एक्लै बिताएको जीवन भन्दा जीवनसाथीसँग बिताएको जीवन कयौं गुणा फरक हुन्छ । श्रीमती भनेको भर हुन्, डर हुन्, सुख, दुःख बिसाउने चौतारी हुन् । श्रीमती विना जिन्दगीले पूर्णता पाउन सक्दैन । जीवन नै अधुरो अपुरो हुन्छ । आफ्नो मन बुझ्ने, मन मिल्ने श्रीमती र एउटा साथी भयो भने जिन्दगी साँच्चिकै सफल हुन्छ । कसैसँग भन्न नसकेको कुरा श्रीमतीसँग खुलेर भन्न सकिन्छ । श्रीमती भनेको दुःख, सुख बिसाउने चौतारी पनि हुन् ।

मागी विवाह

सङ्गीतकार यज्ञ गिरी बाल्यकालमा धेरै साथी नबनाउने, धेरै नबोल्ने र एकान्तमा बस्न रुचाउने स्वभावका थिए । उनी शान्त र धेरै नबोल्ने भए पनि गीत सङ्गीत भनेपछि हुरुकै हुन्थे । गिरीको बाल्यकालदेखिको रूची थियो कि भविष्यमा सङ्गीत क्षेत्रमा लाग्ने । जुन रुची उनले पुरा पनि गरे । सङ्गीत क्षेत्रमै रमाइरहेका गिरीको घरमा एक्कासी उनको विवाहको कुरा चल्न सुरु भयो । उनीसँग विवाहको कुरा चलेको केटी इन्द्रा थिइन् । उनीहरू दुवैमा चिनजान त थियो तर, बोलचाल भने भएको थिएन । घरबाट विवाहको कुरा चलेको हुँदा उनीहरू दुवैले एकआपसमा कुरा गर्ने मौका पनि पाएनन् । उनीहरू भन्छन्, ‘हाम्रो विवाहको कुरा घरबाट बुबाआमाले गर्नुभएको हो त्यसैले कुरा गर्ने मौका पनि पाएनौ ।’ पहिलेदेखि नै देखा देख त हुन्थ्यो तर, बोलचाल भने भएको थिएन । हुन त दुवैले एकआपसमा मन पनि पराउथे तर दुवैले भन्न सकेका थिएनन् । उनीहरूको मनको कुरा सायद घरपरिवारले सुनिदिए त्यसकारण पनि उनीहरूको घरपरिवारले नै विवाहको कुरा अगाडि बढाएका थिए ।
गिरी पनि इन्द्रालाई भित्रभित्र मन पराउँथे, घरबाट आफूले नै मन पराएको केटी माग्न जाने भनेर सुन्दा उनी भित्रभित्र सुखी भएका थिए । इन्द्रालाई पनि गिरी मन परेका थिए । मन पराए पनि दुवैको एकपटक बोलचाल समेत नभएरै वि.सं. २०४८ सालमा मागी विवाह भयो ।

छोरी र बुहारी हुँदाको अनुभव

विवाहपछिका दिनमा इन्द्रालाई घरमा सबैसँग रिज्न र भिज्न त्यति गाह्रो त भएन तर, छोरी भएर माइतीमा बाबुआमाको माया ममतामा हुर्किएको मान्छे एक्कासी विवाह घरमा सबै काम गर्नुपर्दा उनलाई सुरुमा गाह्रो भएको थियो । उनले भनिन्, ‘छोरी र बुहारी शब्द नै धेरै फरक छ, छोरी हुँदा जति ऐसोआराममा बस्न र खान पाइन्छ बुहारी हुँदा घरको सबै काम गर्नुपर्ने र सबैको मान सम्मान, बोल्दा विचार गरेर बोल्नुपर्ने, जान मन लागेको ठाउँमा जादा सोध्नुपर्ने जस्ता थुप्रै चुनौतीहरू हुन्छन् ।’ ती चुनौती उनले सहजै पार पनि गरिन् । घरपरिवारको मनमा बस्न पनि सफल भइन् ।

सङ्गीतमै भविष्य

यज्ञ गिरी गीत सङ्गीत भनेपछि बाल्यकालदेखि नै हुरुकै हुने गथ्र्यो । उनको परिवारमा नै साङ्गीतिक माहोल भएका कारण उनको ध्यान पनि बढी नै सङ्गीतमा नै गयो । उनको बुबा र दाईले घरमा तवला, मादल बजाउने गरेको देखेर उनको मन पनि सङ्गीतमा नै झुम्न थालिसकेको थियो । सङ्गीत क्षेत्रलाई निरन्तर अगाडि बढाउने उनको भविष्यको योजना पनि थियो जुन अहिले पनि उनी सङ्गीत क्षेत्रमा नै रमाइरहेका छन् । उनले सङ्गीतमा पनि सबै किसिमको बाजाहरू बजाउने गर्छन् । त्यसमा पनि उनको विशेष र उनलाई चिनाउने भनेको हार्माेनियम नै हो । उनले गीतमा सङ्गीत दिने भएकाले हार्मोनियम आफू मात्र होइन धेरैलाई सिकाइसकेका छन् । उनले भने, ‘म सबै किसिमको बाजाहरू बजाउने गर्छु तर, मलाई चिनाउने भनेको हामोनियम नै हो ।’ उनी बाल्यकालमा पनि कार्यक्रमहरूमा हार्मोनियम बजाउने गथ्र्यो । बाल्यकालदेखि नै सुरु भएको सङ्गीत क्षेत्रको यात्रा अहिलेसम्म निरन्तर रूपमा अगाडि बढाइरहेका छन् ।

राष्ट्रियस्तरको पुरस्कार

उनले हालसम्म राष्ट्रियस्तरसम्म पुगेर थुप्रै पुरस्कार जितिसकेका छन् । उनले सङ्गीत दिएको गीत ‘मिलनमा हुँदो रै’छ छुट्नै गाह्रो’ बोलको गीतले चार वटा अवार्ड समेत पाइसकेको छ । उनले हालसम्म ५० वटा आधुनिक र गजलहरूमा गीतहरूमा सङ्गीत दिइसकेका छन् । उनी विशेष गरी सङ्गीत क्षेत्रमा १४ वर्षको उमेरदेखि निरन्तरण रूपमा लागि रहेका छन् । उनी सङ्गीतसँगसँगै शिक्षा क्षेत्रमा पनि आवद्ध थिए । उनले बालमन्दिर प्रावि वीरेन्द्रनगनरमा केही वर्ष अध्यापन पनि गराए । अहिले भने उनी नव ज्योती केन्द्रमा काम गर्छन् ।

सामान्य झगडा

विवाहपछिका दिनमा यो जोडीको झगडा सामान्य रूपमा कहिले काहीं हुनेगर्छ । भनिन्छ, ‘जहाँ माया हुन्छ त्यहाँ झगडा हुनु स्वभाविकै पनि हो ।’ श्रीमान् श्रीमती भएपछि सामान्य झगडा त जसको पनि हुन्छ, उनीहरू भन्छन्, ‘आगो पनि नठोसेसम्म बल्दैन भन्छन्, श्रीमान् श्रीमतीको झगडा पनि त्यस्तै हो ।’ श्रीमान् श्रीमतीको झगडा एकै छिनको लागि हो यो झगडा लामो समयसम्म रहन सक्दैन ।

प्रशंसा

यो जोडी एकअर्काेको प्रशंसा पनि निकै गर्ने गर्छन् । गिरीलाई इन्द्राको आफूले केही कुरा भनौंला भनेर सोच्दा–सोच्दै इन्द्राले पहिले नै त्यो काम गरिसकेकी हुन्छिन् जुन बानी मनपर्ने गर्छ । उनले भने, ‘म केही काम सिकाउनुभन्दा अगाडि नै काम गरेर सक्छिन् त्यो बानी नै मनपर्नेगर्छ ।’ इन्द्रालाई भने गिरीको प्रायः सबै बानी मनपर्ने गर्छ । उनले भनिन्, ‘मलाई त उहाँको सबै बानी मनपर्ने गर्छ ।’ गिरी कार्यक्रममा धेरै जसो बाहिर जाने भएकाले इन्द्रालाई कहिले काहीं बाहिर नगइदिएको भए हुन्थ्यो जस्तो लाग्ने गर्छ । गिरीले कार्यक्रमबाट पाएको सम्मानले इन्द्राको शंकालाई भुलाइदिने गर्छ । उनले भनिन्, ‘उहाँले जितेर सम्मान पाउँदा र पुरस्कार पाउँदा एकदमै सुखी लाग्ने गर्छ, फेरि सबै कुरा धन सम्पत्ति पनि होइन मेरो लागि उहाँ सबैको सामु चिनिन पाउँनु र मान सम्मान पाउनु नै मेरो लागि सबैभन्दा ठूलो धन सम्पत्ति हो ।’ इन्द्रा श्रीमान्लाई सङ्गीत क्षेत्रमा लाग्नको लागि पूर्ण रूपमा प्रेरणा दिने गर्छिन् । श्रीमान्को सफलतामा इन्द्राको खुशी छ । उनी श्रीमान्को सफलतामा आफूलाई निकै सुखी र भाग्यमानी ठान्ने गर्छिन् ।

छोरा पनि सङ्गीतमा

यो दाम्पत्य जोडीको साथमा दुई छोरा छन् । भनिन्छ नि, ‘गुरु भर विद्या सर’ गिरीको जेठो छोरा विवेक गिरी पनि सङ्गीत क्षेत्रमा नै लागेका छन् । गिरी हामोनियम बजाउने गर्छन् । छोरा भने गितार बजाउने गर्छन् । घरमा जस्तो वातावरण भयो सन्तानले पनि त्यस्तै पाठ सिक्छन् भन्ने उदाहरण गिरीका छोरा बनेका छन् ।

श्रीमान् श्रीमती एक रथका दुई पाङ्ग्रा हुन्

यो जोडीका अनुसार श्रीमान् श्रीमती भनेको एक रथका दुई पाङ्ग्रा हुन् । रथको एउटा मात्र पाङ्ग्राले काम गर्न छोड्यो भने अर्काे एउटा मात्र पाङ्ग्राले काम गर्न सक्दैन । मान्छेको जीवन पनि त्यस्तै हो । श्रीमान् श्रीमती एकअर्काेको दुःख बिसाउने चौतारी जस्तै हुन् । एकअर्काेको जीवन्तसम्मको साथी हुन् । उनीहरू भन्छन्, ‘श्रीमान् श्रीमती बीचको यो सम्बन्धलाई सधैं कायम राख्नको लागि सबैभन्दा पहिला त एकअर्काेमा विश्वास र समझदारी हुन आवश्यक छ ।’ दुवैको भावना एकअर्काेले बुझ्न जरुरी छ । जीवन साथी भनेको आफैमा पूर्ण शब्द छ जुन सम्बन्ध सबैभन्दा माथि हुन्छ । श्रीमान् श्रीमतीबीचमा झगडा, रिस, शंकाभन्दा पनि एकअर्काेमा सधंै माया भइरहनु पर्दछ ताकी दाम्पत्य जीवनलाई सहज रूपमा अगाडि बढाउन सकियोस् ।

तपाईको प्रतिक्रिया