कर्णाली–सुदूरपश्चिम जोड्ने पुल निर्माणमा तिव्रता

सुर्खेत, २९ कार्तिक ।
पश्चिम सुर्खेत र कैलालीबीच छिट्टै सीधा यातायात सञ्जाल विकास हुने भएको छ । सुर्खेतको कुइनेस्थित कर्णाली नदीमा पुल निर्माणपछि कर्णाली प्रदेश सुदूरपश्चिमसँग छोटो दूरीको सडकले जोडिने भएको हो । साविक सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दाले पैदल यात्रा गर्दै आएको सुर्खेतको कुइने–चिसापानी बाटोमा कर्णालीवारि र पारि सडक बनिसकेको छ ।

कर्णालीमा पुल नभएकाले दुई प्रदेशको यातायात सम्बन्ध हुन नसकेकोमा अब भने यो अवस्था अन्त्य हुँदै छ । सुर्खेत र कैलालीको कुइनेमा कर्णाली नदीको पुल निर्माणपछि उक्त बाटो पूर्व–पश्चिम राजमार्गको चिसापानीसम्म जोडिनेछ । पुल निर्माणले सुर्खेतको बड्डीचौर हुँदै कोहलपुर–चिसापानीसम्मको करीब २०० किलोमिटर सडक ५२ किलोमिटरमा छोटिनेछ । छोटो दूरीको यातायातबाट साविक सुदूर र मध्यपश्चिमका सुर्खेत, कालिकोट, दैलेख, जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा, अछामलगायत जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

कुइनेस्थित कर्णाली नदीमा अनत÷लुम्बिनी जेभीले पुल निर्माण गरिरहेको छ । पुल निर्माणका लागि २०७२ सालमा ठेक्का सम्झौता भएको थियो । सडक विभागले २ वर्षसम्म डिजाइन स्वीकृत नगरेकाले निर्माण ढिलो शुरू भएको निर्माण कम्पनीले बताएको छ । कम्पनीका साइट इन्चार्ज दिनेशकुमार श्रेष्ठले २०७४ फागुनमा डिजाइन स्वीकृत भएपछि पुल निर्माण थालिएको जानकारी दिए ।

‘नदीले वर्षेनि धार परिवर्तन गरेकाले डिजाइन स्वीकृत गर्न ढिला भएको हुन सक्छ,’ श्रेष्ठले भने, ‘भौगोलिक अवस्थितिका कारण पनि केही ढिला भएको हो ।’ यसै वर्ष पुल सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र पारिएको कम्पनीले बताएको छ । चौकुने गाउँपालिका–७ का समाजसेवी काशीराम देवकोटाले ढिलै भए पनि पुल निर्माणले कर्णाली प्रदेशलाई छिमेकी मुलुक भारतसँगको छोटो दूरीमा पर्ने नाकासम्म जोड्ने बताए ।

कैलालीको मोहन्याल गाउँपालिकामा पर्ने कुइनेका कलौरा माझीले पुल निर्माणसँगै सडक स्तरोन्नति हुने आशा व्यक्त गरे । चिसापानीदेखि कुइनेसम्मको ११ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । यस्तै सुर्खेततर्फ कुइनेदेखि बड्डीचौरसम्म १९ किलोमिटर सडकमा साना सवारीसाधन सञ्चालन भइरहेका छन् । सुर्खेतमा पर्ने भेरी नदीमा पक्की पुल निर्माण भएपछि अटोरिक्सालगायत साना सवारीसाधन बड्डीचौर हुँदै कुइनेसम्म पुग्न थालेका हुन् ।

भेरी नदीमा निर्माण भएको पुल २ वर्ष पहिलेदेखि नै सञ्चालनमा आएको छ । कुइनेमा पुल निर्माणले सुर्खेतको पश्चिमी क्षेत्रका बासिन्दालाई कैलालीसम्म पुग्न निकै सहजे हुनेछ । साविक सुदूर र मध्यपश्चिमका सुर्खेत, कालिकोट, दैलेख, जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा, अछामलगायत जिल्लाका बासिन्दा हाल तराई झर्दा सुर्खेत– कोहलपुर–चिसापानी वा डोटी– डँडेलधुरा–अत्तरियाको घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन् ।

चिसापानी–कुइने हुँदै बड्डीचौरसम्मको सडक र कुइनेस्थित कर्णाली नदीमा पुल निर्माणका लागि सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य एवं स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले समेत सक्रियता देखाउँदै आएका छन् । राज्यमन्त्री रावतले उक्त सडक र पुल साविक सुदूर तथा मध्यपश्चिमका बासिन्दाको भविष्यसँग जोडिएको बताए ।

पहिलेका जनप्रतिनिधिले उपेक्षा गरेकाले छोटो दूरीको बाटो निर्माण हुन वर्षौं लागेको उनको भनाइ छ । ‘घुमाउरो बाटो कालोपत्र भएका छन् तर यो छोटो बाटोबारे कसैले ध्यान दिन सकेन,’ उनले भने, ‘यो बाटो सुदूरपश्चिम र कर्णाली प्रदेशका बासिन्दाको समृद्धिसँग जोडिएको छ ।’ यता, कुइने पुलले कर्णाली प्रदेशलाई भारतसँग छोटो दूरीमा पर्ने नाकासम्म जोड्ने चौकुने गाउँपालिकाका निश्चल बयकले बताए । ‘पुल बनेपछि सत्ती भन्सार कार्यालय भौगोलिक रूपमा निकै नजिक हुनेछ,’ उनले भने । साविक सुदूर तथा मध्यपश्चिमका अधिकांश बासिन्दा रोजगारीका लागि भारत जाने गर्छन् ।

उनीहरू भारतका विभिन्न शहर जान बाँके, कैलाली र कञ्चनपुर जिल्लाका सीमा नाका प्रयोग गर्छन्, जुन सीमा नाकासम्म पुग्न उनीहरूले धेरै समय र पैसा खर्चिनुपर्छ । अहिले बाँकेको कोहलपुर र कैलालीको अत्तरियाबाट पहाडी जिल्लातर्फ सामग्री ढुवानी भइरहेको छ । पुल निर्माणपछि यो सडकबाट पहाडी जिल्लामा सामग्री ढुवानी थप सहज बन्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया