परिवारले नै सेनामा भर्ती हुन दिएनन्

युवाहरु धन कमाउने सपना बुन्दै विदेश जानुपर्ने बाध्यता छ । आफ्नो देश र आफ्नै माटोमा परिश्रम गर्न लाज मान्ने युवाहरु नै विदेशमा जस्तोसुकै काम गर्न तयार हुन्छन् । त्यही विदेशमा गर्ने काम स्वदेशमा गर्न सके अर्काको मुलुकमा सायद कसैलाई पनि जान पर्दैनथ्यो होला । जीवनमा संघर्ष गर्न सक्ने व्यक्ति नै सफलताको शिखरमा पुग्छ । जीवनमा सफल हुन समयलाई पनि चिन्न सक्नुपर्छ । समयसँगै चल्न सके मात्र जीवनमा सफल पनि भइन्छ । यस्तै सफल युवा हुन् लक्ष्मीप्रसाद उपाध्याय । उनी अर्काको मुलुकमा गएर सीप सिकेर हाल आफ्नै गाउँमा डेरी उद्योग सञ्चालन गरिरहेका छन् । प्रस्तुत छ, हाम्रा सहकर्मी गीता थापाले उपाध्यायसँग गरेको कुराकानीको शारासं ः

यस्तो थियो बाल्यकाल

पिता धनिराम उपाध्याय र माता डिलकुमारी उपाध्यायको कोखबाट २०४३ सालमा वीरेन्द्रनगरको वडा नम्बर १३ जर्वुटामा जन्मिएका लक्ष्मीप्रसाद उपाध्यायको बाल्यकाल सामान्य नै वित्यो । बाल्यकालमा उनी सरल स्वभावका थिए । सबैसँग मिलनसार थिए । उनी घरका चारभाई बहिनी मध्येका जेठा छोरा हुन् । उनले कक्षा एकदेखि कक्षा दशसम्म करैखोलाको स्कुलमा पढेका हुन् । उनी पढ्दापढ्दै बीचमा नै पढाइ छोडेर भारत गए । भारतमा केहीवर्ष विताएका उनले घर फर्केपछि फेरी पढाइ सुरु गरे । उनले फेरी कक्षा ९ मा नाम लेखाएर पढाइ सुरु गरे र एसएलसी पास गरे ।

भागेर भारत गए

बाल्यकालदेखि नै सबैले भविष्यको एउटा योजना बनाएका हुन्छन् । भविष्यमा केही बन्छु भन्ने । सबैको सपना पुरा नहोला । तर कसैको भने पुरा हुन्छ । बाल्यकालको सपना पुरा नहुने सबैको केही न केही कारण हुन्छ । लक्ष्मीको बाल्यकालदेखिको सपना थियो, नेपाली सेनामा जागिर खाने र देशको सेवा गर्ने । तर उनको त्यो बाल्यकालदेखिको सपना भने पुरा हुन सकेन । त्यो समयमा संकटकालको समय थियो । नेपाल आर्मीमा भर्ति भए तत्कालिन माओवादीले चन्दा माग्ने र घरपरिवारलाई दुख दिने गथ्र्यो । त्यही डरले लक्ष्मीका बुवाआमाले उनलाई नेपाल आर्मीमा भर्ना हुन दिएनन् । लक्ष्मीका बुवाआमाले छोरो आर्मी बन्न गइहाल्छ की भनेर उनको नागरिकतासमेत बनाउन दिएनन् । परिवारका कारण लक्ष्मीको नेपाल आर्मी बन्ने सपना पूरा भएन । त्यही रिसमा उनी सार्थीहरुसँग भागेर भारत गए । भारतमा उनले धेरै ठाउँमा काम गरे । यता पढाइ छोडेर बुवा आमाको रिसले भारत गएका लक्ष्मीले भारतमा धेरै दुख गरे । उनी घरपरिवारबाट चार वर्षसम्म सम्पर्कविहिन भएर बसे । कामको शिलशिलामा धेरै ठाउँमा गएपछि उनी पछि भने आफ्नै ठुलोबुवा र दिदीहरुसँग बसेर काम गरे । त्यतिबेला उनको ठुलोबुवाको पञ्जावमा डेरी उद्योग थियो । उनले त्यही डेरी उद्योगमा काम गरे । उनलाई आफ्नै घरमा बसे जस्तै अनुभव भयो । उनी भन्छन्, ‘कामको शिलशिलामा धेरै ठाउँमा गएँ, पछि ठुलोबुवा, दिदीसँग बसेर डेरी उद्योगमा काम गरे ।’ उनी चार वर्षपछि घर फर्किए ।

पुनः पढाइलाई निरिन्तरता


उनी घर फर्केपछि घरबाट विवाह गर्न दवाव आयो । उनले दैलेखबाट विवाह गरे । विवाह गरेपछि पढ्न पनि दवाव आयो । उनी घर फर्किदा घरका भाईबहिनी पनि कक्षा ९ मा पढ्थे । भाइबहिनी र श्रीमती सबैजना कक्षा ९ मा नै नाम लेखाएर फेरी पढाइ सुरु गरे र एसएलसी पनि पास गरे । पछि विभिन्न कारण ले उच्च शिक्षा पढ्न भने पाएनन् ।

जागिर र व्यापार

एसएलसी पास गरेपछि लक्ष्मीले करैखोला बहुउद्देश्यीय कृषि संस्थामा जागिर गरे । त्यहाँ उनले दुईवर्ष काम गरे । काममा धेरै समय खटिनुपर्ने तर, तलव भने कम हुने भएपछि उनले काम गर्न छोडे । उनले काम छोडेर आफ्नै व्यापार सुरु गर्ने निर्णय गरे । अरुको काम गर्नुभन्दा आफ्नै काम गर्न सके फाइदा हुने भन्दै उनले डेरी उद्योग सञ्चालन गरे । उनले भारतमा हुँदा पनि डेरी उद्योगमा काम गरेकाले डेरी उद्योगको व्यापार नै रोजे । सुरुमा लगानी गर्ने बजेट नभएपछि तीन जनाको पार्टनरसिपमा डेरी उद्योग सुरु गरे । २०६७ सालदेखि डेरी उद्योग सञ्चालनमा ल्याए । मामा, दाई र लक्ष्मी मिलेर डेरी उद्योग सञ्चालन गरेका थिए । पछि फाइदामा गएपछि मामाका लागि इत्राममा हाम्रो डेरी उद्योग किनेर र दाईका लागि नेवारेमा पसल किनेर सञ्चालन गरे । लक्ष्मीले अहिले शुभलक्ष्मी डेरी उद्योग नाममा डेरी सञ्चालन गरेका छन् । उनको डेरी उद्योग अहिले शनिहल लाइनमा छ ।

डेरीको आम्दानीबाटै गाडी

उनले सुरुमा डेरी उद्योग सञ्चालन गर्दा साइकलमा दुध बोक्ने गर्थे । डेरी उद्योगबाट नै अहिले उनले दुई वटा मोटरसाइकल र गाडी खरिद गरेका छन् । डेरीमा उनलाई घरपरिवार सबैको सहयोग पनि छ । घरपरिवार सबै मिलेर नेवारेमा जग्गा किनेर घर पनि बनाएका छन् । अहिले सफल भएपछि उनलाई नेपाल आर्मी बन्न नपाएकोमा भने पछुतो छैन । आफ्नै कामप्रति उनी सन्तुष्ट छन् । उनी भन्छन्, ‘गर्न सके आफ्नै ठाउँमा धेरै काम छन्, विदेश नै जानु पर्दैन ।’ उनी काम छैन भन्दै विदेश जाने युवाहरुका लागि सानो लगानीमा पनि धेरै प्रगति गर्न सकिन्छ भन्ने उदाहरणको पात्र बनेका छन् । उनले सुरुवाती दिनमा धेरै संघर्ष गरे । नेपाल बन्द हुँदा उनी वीरेन्द्रनगरबाट साइकल चलाएर छिन्चु पुगेर दुध ल्याएर विक्रि गर्थे । सुरुवाती दिनमा ४० लिटर दुध विक्रि गर्ने लक्ष्मीले अहिले ६ सय लिटर दुध विक्रि गर्ने गर्छन् । मेहेनत गरे जस्तो सुकै काम पनि गर्न सकिने उनको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार