पूर्वाधारमा बामे सर्दै कर्णाली, साढे वीस करोडमा तयार हुँदैछ ७८० क्षमताको सभाहल

सुर्खेत, २७ कात्तिक ।

भौगोलिक धरातल र आर्थिक क्षेत्रमा मात्रै होइन । कर्णाली पूर्वाधारका हिसावले पनि निकै पछाडि छ । सडक सञ्जाल त टाढाको कुरा हो कर्णालीमा आवश्यक भौतिक संरचना पनि अभाव छ । गाउँमा सडक सडक पुगेका छैनन् भने शहरमा भौतिक संरचनाको अभाव छ । तर संघीयता कार्यान्वयनपछि भने कर्णाली प्रदेशले पूर्वाधारका क्षेत्रमा बामे सर्न थालेको छ । संघीयतापछि प्रदेशको राजधानीमा भौतिक पूर्वाधार निर्माणका कामले गतिलिन थालेका छन् । प्रदेश राजधानीको इज्जत जोगाउने गरी सडकदेखि सभाहलसम्मका संरचनाहरु निर्माण भइरहेका छन् ।

बर्षाैदेखि धुलाम्य वीरेन्द्रनगरका ३६ वटा सडकहरु एकै वर्षमा कालोपत्रेदेखि थालिएको छभने बहुप्रतिक्षित सभाहल निर्माणको अन्तिम चरणमा पुगेको छ । निर्माण थालिएको चार वर्षपछि वीरेन्द्रनगरमा साढे २० करोडको सभाहल निर्माण अन्तिम चरणमा पुगेको हो । सभाहलका लागि आवश्यक भवन निर्माण सकिएको छ । भवन निर्माण सकिएपनि साउन्ड सिस्ष्टम जडान, रंगरोगन, जमिन व्यवस्थापन (मार्मल विछ्याउने) र फिनिसिङ लगायतका कामहरु भने बाकी नै छन् । समग्रमा सभाहल निर्माणको ८० प्रतिशत काम सकिएको छ ।

भ्याटबाहेक २० करोड ५४ लाख ८६ हजार रुपैयाँको लागतमा सिटीहल निर्माण थालिएको हो । सभाहलमा सात ८० जना अटाउन सक्नेछन् । वीरेन्द्रनगर–६ आँखा अस्पताल पछाडिको साढे तीन बिघाह क्षेत्रफलमा सभाहल निर्माण भइरहेको छ । सभाहलमा दुई गेट रहने छन् । जसमध्य एउटा मुख्य र अर्को साइट गेट रहने छ । कर्णाली प्रदेशकै सबैभन्दा ठूला क्षमताको सभाहल आगामी बैशाखभित्र निर्माण सम्पन्न गर्ने तयारी भएको छ ।

सभाहल पूर्णरुपमा सम्पन्न भएपछि शहरी विकास तथा भवन निर्माण विभाग संघीय योजना कार्यान्वयन इकाइ कार्यालयलाई हस्तान्तरण गरिने छ । समानान्तर–चक्रेश्वरी–शिवशक्ति जेभीले सहभाल निर्माण गरिरहेको हो । आगामी बैशाखमा उद्घाटन गर्ने गरी सहभाहल शहरी विकास तथा भवन निर्माण विभाग संघीय योजना कार्यान्वयन इकाइ वीरेन्द्रनगर कार्यालयलाई हस्तान्तरण गर्ने निर्माण कम्पनीका प्रतिनिधि चन्द्रनारायण पण्डितले जानकारी दिए ।

निर्माण कम्पनीले भ्याटबाहेक २० करोड ५४ लाख ८६ हजार रुपैयाँमा सभाहल निर्माण गरिरहेको हो । जेभीएले २०७३ चैत २४ गते सभाहल निर्माणको ठेक्का लिएको थियो । सम्झौता अनुसार कम्पनीले २०७६ चैत २३ गतेभित्र सभाहल हस्तान्तरण गर्नुपर्ने थियो । तर कोरोना महामारीपछि भएको लकडाउनका कारण निर्माण कार्य एक वर्षपछि धकेलिएको छ । लकडाउनपछि कामदार र निर्माण सामग्रीको अभावका कारण तोकिएकै समयमा सभाहल निर्माण हुन नसकेको निर्माण कम्पनीले जनाएको छ । सभाहल निर्माण भएसँगै प्रदेश राजधानीमा ठूला कार्यक्रम आयोजना गर्नका सहज हुने छ । त्यस्तै आयोजकलाई होटलमा लाग्ने खर्चसमेत कटौती हुने अपेक्षा गरिएको छ । यसअघि सुर्खेतमा ठूला क्षमताका सभाहलहरु नहुँदा सभाहलमा गरिने र धेरै सहभागी हुने कार्यक्रमहरु नेपालगञ्ज र कोहलपुरमा गर्नुपर्ने बाध्यता थियो । हल बाहिर गर्न सकिने सभा, सम्मेलनहरु भने खुल्ला चौर तथा चौताराहरुमा गरिदै आएको छ ।


सभा हलको शोभा बढाउन चाइनाको मार्मल र भारतका मिस्तीको प्रयोग गरिदै

निर्माणधिन सभाहल कर्णाली प्रदेशको एक मात्र सुविधा सम्पन्न सभाहल हो । सभाहल सातसय ८० जना क्षमताको छ । सभाहलमा सात वटा बैठक कक्ष हुने छन् । एकसय पचास जनाभन्दाबढी क्षमताका थप दुईवटा मल्टिप्रपोज हल हुने छ ।

सभाहल परिसरमा चारसय मोटरसाइकल र दुई सयवटा गाडी पार्किङ गर्न सकिने छ । अत्याधुनिक साउण्ड सिस्ष्टम जडान गरिने छ । कर्णाली प्रदेशकै सबैभन्दा ठूलो र सुविधा सम्पन्न सभाहलको शोभा बढाउने चाइनिज मार्मल प्रयोग गरिने छ । अन्तिम फिनिसिङका तथा अन्य प्राविधिक कामको जिम्मा भारतीय मिस्त्रीहरुले गर्ने छन् । शहरी विकास तथा भवन निर्माण विभाग संघीय योजना कार्यान्वयन इकाइ कार्यालयका सूचना अधिकारी इञ्जिनीयर रामकृष्ण आचार्यले जानकारी दिए । निर्माण कम्पनीले चीनबाट मार्बल आयातको लागि अर्डर गरिसकेको छ । तर चीनबाट मार्वल लगायतका निर्माण सामाग्री आउन भने झण्डै तीन महिना लाग्ने छ । मार्वल आएपछि भारतीय मिस्त्री (जनशक्ति)ले फिनिसिङ गर्ने छन् । यसरी सभाहललाई अन्तिम रुप दिन अझै तीन महिना लाग्ने अनुमान गरिएको छ ।

सञ्चालनको जिम्मा वीरेन्द्रनगरलाई

सभाहल निर्माण भएपछि त्यसको सञ्चालन र रेखदेखको जिम्मेवारी वीरेन्द्रनगर नगरपालिकालाई दिने छ । निर्माण कम्पनीले शहरी विकास तथा भवन निर्माण विभाग संघीय योजना कार्यान्वयन इकाइ कार्यालयलाई हस्तान्तरण गरे लगत्तै सभाहल सञ्चालनको सम्पूर्ण जिम्मेवारी नगरपालिकालाई दिइने छ । सभाहलका रेखदेख तथा सञ्चालनका लागि जनशक्तिसमेत नगरपालिका आफैले खटाउनुपर्ने छ । सुरुवाति चरणमा भने सभाहल सञ्चालनमा खटिने जनशक्तिमा नगरपालिकालाई थप आर्थिकभार पर्ने छ । यद्यपी दीर्घकालीन रुपमा भने सभाहल सञ्चालनबाट नगरपालिकाले आर्थिक लाभ लिनसक्ने छ । नगरपालिकाले सभाहलबाट हुने आम्दानी सभाहल सञ्चालनमै खर्च गर्ने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार