जनकेन्द्रित विकास अवधारणा कार्यशाला सम्पन्न

जाजरकोट, २७ कात्तिक ।

जुनिचांदे गाउंपालिका जाजरकोटका निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरुका लागि आयोजित तीनदिने जनकेन्द्रित विकास अवधारणा कार्यशाला मंगलवार खलंगा जाजरकोटमा सम्पन्न भएको छ । सहकर्मी समाज, सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो ।

जुनिचांदे गाउंपालिकाका कार्यवाहक अध्यक्ष शिवा शाहीले कार्यशालाको समापन गर्दै जनकेन्द्रित विकास अवधारणा कार्यशालामा गरिएका छलफलका विषयवस्तु समय सान्दर्भिक रहेको बताए । जनप्रतिनिधिहरु र कर्मचारीहरु संगै राखेर गरिएको विकास बहसले यस गाउंपालिकाको विकास प्रकृयालाई जनकेन्द्रित बनाउन र आम नागरिकहरुलाई सहज सेवा प्रदान गर्नका लागि महत्वपूर्ण योगदान गर्ने उनको भनाई थियो ।

आगामी दिनहरुमा जुनिचांदे गाउंपालिका र सहकर्मी समाजका बीचमा समन्वय र सहकार्यका लागि आफू जहिले पनि तयार रहेको र निरन्तर सम्वाद र समन्वयका लागि सहकर्मी समाजको पनि भूमिका रहनुपर्ने कुरामा जोड दिए । समापनका अवसरमा जुनिचांदे गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीले जनप्रतिनिधिहरु र कर्मचारीहरुका बीचमा नियमित रुपमा बैठकहरुको आयोजना गरी एकअर्काले भोग्नु परेका समस्या तथा अप्ठेरोहरु र सिकाईहरु आदान प्रदान गरी विकास प्रकृयालाई योजनावद्ध र प्रणालीवद्ध बनाएर अघि जान यो कार्यशाला प्रभावकारी हुने विश्वास ब्यक्त गरे । कार्यशालामा जुनिचांदे गाउंपालिकाको सबै कार्यपालिकाका पदाधिकारी तथा सदस्यहरु, विषयगत शाखाका प्रमुखहरु र सञ्चारकर्मी गरी ५ जना महिला र २० जना पुरुष गरी २५ जनाको सहभागिता रहेको थियो ।

यस अघि छेडागाड नगरपालिका जाजरकोटमा जनकेन्द्रित विकास अवधारणा कार्यशाला सम्पन्न भएको छ । छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महताराले कार्यशालामा गरिएका छलफलले छृडागाड नगरपालिकाको विकास अभियानलाई महत्वपूर्ण योगदान गर्ने र सहकर्मी समाजले सञ्चालन गर्ने यस्ता कार्यशाला, छलफल र बहसलाई निरन्तरता दिन, आगामी दिनहरुमा सहकार्य र समन्वयका अघि बढनुपर्ने विचार ब्यक्त गरेका थिए । छेडागाड नगरपालिकाका उपप्रमुख सरिता वलीले कार्यशाला ज्यादै प्रभावकारी भएको र यसले आगामी दिनमा पालिकालाई योजनावद्ध विकास प्रकृयामा अघि बढाउन योगदान गर्ने विश्वास ब्यक्त गरे । छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंग बहादुर रोकायाले विकास प्रकृयाको समिक्षा गर्ने र आगामी दिनहरुमा योजनावद्ध विकास प्रकृयाको थालनी गर्न यो छलफल बहसले योगदान गर्ने विश्वास ब्यक्त गरेका छन् ।

कार्यशालामा ८ जना महिला र २५ जना पुरुष गरी ३३ जना जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यशालाको सहजीकरण सहकर्मी समाज नागरिक सहभागिता कार्यक्रमका संयोजक हरि उपाध्याय र चम्फासिंह भण्डारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया