दसैँतिहारमा रारा घुम्ने बढे

मुगु, २६ कात्तिक ।

कोरोनाका कारणले सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको संख्या बढेको छ । दसैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको संख्या बढेको हो ।

कोरोना कारणले सुनसान रहेको रारामा दसैँतिहारको बीचमा आन्तरिक पर्यटकको संख्या वृृद्धि भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । कोरोना महामारीले करिब सात महिना सुनसान रहेको रारामा अहिले दैनिक १ सय ५० जनासम्म आन्तरिक पर्यटक सडक र हवाईमार्गबाट आउने गरेका निकुञ्जका निमित्त संरक्षण अधिकृत पदम बुढाले जानकारी दिए । ‘विगतमा सुनसान रहेको रारामा अहिले घुम्न आउनेको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘अहिले राराका आसपासका होटेल र गाउँ भरिभराउन हुन थालेका छन् ।’

रारा राष्ट्रिय निकुञ्जका अनुसार यस वर्षको असोज र कात्तिकामा रारामा झन्डै तीन हजार आन्तरिक पर्यटक भित्रिए छन् । प्रायः आन्तरिक पर्यटक मोटरसाइकल, जीप र हवाईमार्गबाट रारा आउने गरेका निकुञ्जका निमित्त संरक्षण अधिकृत बुढाले जानकारी दिए ।

रारामा घुम्न आउने पर्यटक बढेका कारण रारा विमानस्थलमा तारा, सीता र गोमा एयरलाइन्सले दैनिक पाँचदेखि सात वटासम्म सुर्खेत र नेपालगञ्जबाट उडान भर्ने गरेका छन् ।

रारा घुम्नलाई चैत्र, वैशाख, जेठ, भदौै, असोज, कात्तिक महिना उपयुक्त भएका कारण आन्तरिक पर्यटकको संख्या बढेको मुगु फोतुका नरबहादुर रावतले बताए । ‘प्रायः पर्यटक हिउँद र वर्षा सकिएपछि रारा घुम्न आउने गरेका छन्,’ उनले भने, ‘त्योबाहेक अरू समयमा निकै कम मात्र पर्यटक आउने गरेका छन् ।’

बिदामा रारामा जानेको संख्या वृद्धि भएपछि कर्णाली राजमार्गमा रहेका होटेलमा पनि चहलपहल बढेको नाग्ममा व्यवसायी नरेन्द्र रोकायाले बताए । ‘रारा घुम्न आउने पर्यटकका कारण कर्णाली राजमार्गका होटेल तथा अन्य व्यवसायमा चहलपहलको बढेको छ,’ उनले भने, ‘विगर्तभन्दा यो वर्ष दसैँतिहार बिदामा रारा आउनेको संख्या वृद्धि हुने अनुमान गरिएको छ ।’

तपाईको प्रतिक्रिया