वीरेन्द्रनगरमा निर्माण हुँदै ‘चौघान पार्क’

सुर्खेत, २५ कार्तिक ।

कुनै समय चौघान भन्नेवित्तिकै वीरेन्द्रनगर बजारलाई चिनिन्थ्यो । अर्थात् चौघान वीरेन्द्रनगर बजारको पुरानो नाम थियो । तर हिजोआज चौघानको अतिस्व मेटिसकेको छ । पछिल्लो पुस्ता त चौघानको नाम सुन्दा अलमलमै पर्छन् । अर्थात वीरेन्द्रनगरलाई बुझाउन अहिले वीरेन्द्रनगर नै भन्नुपर्छ ।

तर अब भने चौघानको नाम सुन्दा वीरेन्द्रनगरवासी अलमलमा पर्ने छैनन् । वीरेन्द्रनगरवासी मात्रै होइन, सिंगो कर्णाली नै चौघानबाट परिचित हुनेछ । कारण वीरेन्द्रनगरलाई नेपालभर परिचित गराउने उद्देश्यले चौघानको नामबाट एउटा ऐतिहासिक तथा पर्यटकीय गन्तव्यस्थल निर्माण थालिएको छ । वीरेन्द्रनगर नगरपालिका, प्रदेश सरकार र जिल्ला वन कार्यालयले चौघानबाट कर्णालीलाई नै चिनाउने चौघान पार्क निर्माण थालनी गरेका छन् ।

चौघानको नामबाट वीरेन्द्रनगरमा मनोरञ्जन पार्क निर्माण थालिएको छ । वीरेन्द्रनगर–७ मा सामाजिक विकास मन्त्रालयको पूर्व–दक्षिणमा रहेको खाली चौरमा चौघान पार्क निर्माणको काम थालिएको हो । सुर्खेतलाई नै नेपालभर चिनाउने संकल्पका साथ निर्माण थालिएको पार्कमा पञ्चेबाजाको तालमा चल्ने पानीका फोहोरादेखि शिवलिङ्गसमेत राखिने छ । कर्णालीको मौलिकता झल्कने गरी पार्कलाई भिन्नाभिन्नै सांगीतिक ध्वनीहरु राखिने छन् । पर्यटकलाई मनोरञ्जन प्रधान गर्ने उद्देश्य पञ्चेबाजा, नर्सिङ्गा, शिवलिङ्ग जस्ता कला र सम्पदाहरु पार्कमा राखिने छन् ।
सुर्खेतमा चौघान पार्क निर्माण गरे वीरेन्द्रनगरमा एकैपटक दुई वटा इतिहास रचिने छ । तोकिएकै समयमा चौघान पार्क निर्माण भएको खण्डमा नेपालमै पहिलो पटक सुर्खेतमा संगितसहितको मनोरञ्जन पार्क निर्माण गरेर नयाँ इतिहास रचिने छ भने अर्काेतर्फ वीरेन्द्रनगरको ऐतिहासिकतालाई चौघानले जिवित राख्नेछ । पार्क निर्माण भएपछि कुनैबेला वीरेन्द्रनगरवासीले मात्रै चिन्ने चौघानसँग नेपाल नै परिचित हुने अपेक्षा गरिएको छ ।

योवर्ष पर्खाल र गेटमात्रै बन्ने

नेपालमै नयाँ अभ्यासका साथ निर्माण सुरु गरिएको चौघान पार्कमा चालु आर्थिक वर्षमा पर्खाल र गेटमात्रै बन्ने भएको छ । पहिलो चरण अन्तरगत पार्कको पर्खाल र गेट निर्माण हुनेछ । मजदुर कन्ट्रक्सनले पर्खाल र गेट निर्माण सुरु गरेको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ ।

एक करोड ७१ लाख लागतमा पार्कको पर्खाल र गेट निर्माण थालिएको डिभिजन वन कार्यालय सुर्खेत सहायक डिभिजनल वन अधिकृत एवम् सूचना अधिकृत टेकबहादुर रावलले जानकारी दिए । यद्यपी वन कार्यालयलाई माग अनुसार बजेट प्राप्त भएको छैन । ‘गेट बनाउन मात्रै झण्डै दुई करोड रकम लाग्छ, तर योवर्ष २० लाख रुपैयाँ मात्रै विनियोजन भएको छ’ सूचना अधिकारी रावलले भने, ‘पार्कको स्टमेट अनुुसार प्रदेश सरकारसँग थप बजेट माग गरेका छौं, तर प्राप्त भएको छैन ।’

पार्क निर्माणका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दुई करोड २१ लाख बजेट उपलब्ध गराउने बताएपनि हालसम्म कार्यालयलाई रकम उपलब्ध गराएको छैन । डिजाइन स्टमेटअनुसार एकैपटक लगानी जुटाउन सम्भव नभएपछि पहिलो चरणमा पर्खाल र गेट निर्माण थालिएको हो । पार्क निर्माण सम्पन्न हुन झण्डै २१ करोड रकम लाग्ने अनुमान गरिएको छ । डिजाइनअनुसार एकवर्ष रकम अभाव हुने भएपछि बहुबर्षिय आयोजना अन्तरगत पहिलो वर्ष पर्खाल र गेटमात्रै निर्माण गरिने लागेको हो । हाल निर्माण कम्पनीले पर्खाल निर्माणको काम थालेको छ । वीरेन्द्रनगरलाई सुन्दर र रमणीय स्थानका रुपमा विकास गर्ने उद्देश्यले चौघान पार्क निर्माण गर्न लागिएको हो । झण्डै चार विगाह क्षेत्रफलमा बन्ने पार्क निर्माणको प्राविधिक जिम्मेवारी वीरेन्द्रनगर नगरपालिकाले हेर्नेछ ।

लगानी जुटाउन चुनौती

पार्क निर्माणका लागि गत आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले एक करोड रुपैयाँ दिएको थियो । बजेट अनुसार गत बर्ष नै पार्कको गेट र पर्खाल निर्माण भइसक्नुपर्ने हो । तर बजेट हुँदाहुँदै पनि कोरोना महामारी लगायतका कारणले गेट र पर्खाल निर्माण हुन सकेन । पार्कका लागि आएको बजेट ८० लाख बजेट फ्रिज भयो । योवर्ष भने समयमै पार्क निर्माणको काम सुरु भएको छ ।

तर आवश्यकता अनुसार बजेट छैन । ‘गतवर्ष एक करोड टेन्डर गरेका थियौं, तर २० लाख मात्रै खर्च भयो’ सूचना अधिकारी रावलले भने, ‘मन्त्रालयसँग अपुग बजेट माग गरेका छौँ, तर बजेट आउने टुङ्गो छैन ।’ यसरी कुनै वर्ष बजेट हुँदाहुँदै पनि कार्यान्वयन नहुनु र अर्काेतर्फ काम गर्ने समयमा बजेट नहुँदा तोकिएकै पार्क निर्माणमा ढिलाइ हुने देखिन्छ । उसो त बजेट २१ करोडको हाराहारीमा बजेट प्राप्त गर्नु आफैमा चुनौतीपूर्ण छ । गुरुयोजना अनुसार पार्क निर्माण सम्पन्न गर्न झण्डै २१ करोड अर्थात २० करोड ८० लाख रकम लागत लाग्ने अनुमान गरिएको छ ।

नेपालमै पहिलो पटक सांगीतिक मनोरञ्जनसहितको पार्क भएका कारण पार्क निर्माण गर्न २१ करोड बराबरको रकम लाग्ने आरकिटेक्ट पल्लवी सिंहले जानकारी दिइन् । वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजना अनुसार पार्क निर्माण हुन थालेपछि वीरेन्द्रनगरसँग पार्कका लागि छुट्टै बजेट छैन । रकम अभावकै कारण वीरेन्द्रनगरले पार्कको प्राविधिक कार्य मात्रै हेर्ने जिम्मा लिएको छ । स्थानीय सरकारसँग बजेट अभाव भएपछि पार्क निर्माण सम्पन्न गर्ने २१ करोड रुपैयाँ प्रदेश सरकारकै भरपर्नुपर्ने अवस्था देखिन्छ ।

आन्तरिक पर्यटक लोभिने आशा

कर्णाली प्रदेशमा धेरै पर्यटकीय गन्तव्यहरु छन् । तर भौगोलिक विकटता र प्रचार प्रचारको अभावमा कर्णालीमा पर्यटक नै आउँदैनन् । सिमित आन्तरिक तथा बाह्य पर्यटकहरु पनि डोल्पाको शे–फोक्सुण्डो, जुम्लाको सिंजा, मुगुको रारा, दैलेखको पञ्चकोशी, सल्यानको कुपिण्डेदह र सुर्खेतको बुलबुले तथा काँक्रेविहारमा मात्रै पुग्छन् । अन्य पर्यटकीय स्थललको तुलनामा सुर्खेतको बुलबुले, काँक्रेविहार र देउती बज्यैमा धेरै आन्तरिक पर्यटकहरु आउँछन् ।

अब वीरेन्द्रनगरमै चौघान पार्क बनेको खण्डमा त्यहाँ पनि आन्तरिक पर्यटकहरु लोभिने आश गरिएको छ । अन्य क्षेत्रभन्दा सुगम र छुट्टै विशेषता भएका कारण पर्यटकहरु चौघानमा आन्तरिक पर्यटकहरु लोभिने सूचना अधिकारी रावलको तर्क छ । ‘चौघान समग्र कर्णाली र नेपालकै छुट्टै विशेषता भएको पर्यटकीय क्षेत्र हो’ उनी भन्छन्, ‘पार्कमा बाह्य पर्यटकभन्दा पनि आन्तरिक पर्यटकहरु लोभिने छन् ।’ पार्क बनेपछि बुलबुले, काँक्रेविहार र देउती बज्य आउने पर्यटकहरु पनि चौघानमा आउने अपेक्षा गरिएको छ । कर्णालीका मौलिक कला, संस्कृति र महिला, बालबालिका तथा बृद्धरुका लागि छुट्टै स्थान भएका कारण पनि चौघान आन्तरिक पर्यकको गन्तव्य बन्नसक्ने छ । यसका साथै पार्क सरकारी कार्यालय र बजार नजिकै भएका कारण पनि चौघानमा विश्रामको उपयुक्त स्थान बन्नेछ ।

तपाईको प्रतिक्रिया